समाचारशुक्रबार, बैशाख २४, २०७३
अपहरणको १ घण्टामै रकम असुलियो, १४ घण्टाभित्रै अपहरणकारी नियन्त्रणमा
वीरगन्जका एक उद्योगपतिलाई अपहरण गरी फिरौती रकम असुलेको आरोपमा पर्सा प्रहरीले चार जना युवकलाई हतियारसहित नियन्त्रणमा लिएको छ ।
अपहरणको १ घण्टामै एक लाख फिरौती लिएर छोडेको सूचना पाएलगत्तै प्रहरी टोली परिचालित भएको थियो । उक्त प्रहरी टोलीले १४ घण्टाभित्रै फिरौती लिएर फरार चारै जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।
बाराको कलैया–३, का १९ बर्षीय इमरान मन्सुर, कलैया–४, का २२ बर्षीय रोशन पौडेल, कलैया–६, का २० बर्षीय दिनानाथ पटेल र वीरगन्ज–२७, रामगढवाका १९ बर्षीय जयप्रकाश पटेललाई हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान, त्यसको चार राउण्ड गोली, मोबाइला सेट तीन थान, फिरौती असुलीमा प्रयोग दुई थान सीमकार्ड र रु.एक लाख बरामद गरिएको प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए ।
उद्योगपतिलाई २३ वैशाख दिउँसो वीरगन्जको प्रतिमा चोकमा बोलाएर एक घण्टा नियन्त्रणमा लिई फिरौती लिएर फरार उक्त समूहलाई प्रहरीले लक्षमणवा गाउँको गण्डक नहरबाट नियन्त्रणमा लिएको थियो ।
-अली असगर, बीरगन्ज