ब्लगशुक्रबार, बैशाख २४, २०७३

अशुभ सन्नाटा

मनिष झा

विभेद, अपजस र अन्तर्घातले थिलथिलो बनाएको तराई–मधेशमा गहिरिएको अन्योल तथा मौनताले शुभसंकेत गरिरहेको छैन।

birgunjहिजोआज म वीरगंज जाँदा हरेक पटक त्यो वीरगंज खोज्ने असफल प्रयास गरिरहेको हुन्छु, जुन गिरीश गिरीको डकुमेन्ट्री ‘टीम नेपाल’ मा देखिन्छ। मैले २०४५ सालपछिको १५ वर्ष बिताएको जनकपुरसँग पनि मिल्छ, ‘टीम नेपाल’ का दृश्यहरू। तर, अहिले जनकपुर थकित र निराश छ। वीरगंज पनि अन्योलग्रस्त र मौन।

यी ठाउँमा पहिला मैथली वा भोजपुरी बोलिरहेका हँसिला पहाडेहरू यत्रतत्र भेटिन्थे। उनीहरूले बोल्ने मैथली वा भोजपुरी र भोजपुरिया वा मैथिलहरूले बोल्ने नेपाली उस्तै हुन्थे– रमाइलो। ती शुद्ध हुन्नथे, तर हुन्थे बडो सफा। ती रमाइला लवजहरूले संकोच, मौनता र अन्योल उडाइरहेका हुन्थे अनि पहाड–मधेश दूरी तोडिरहन्थे।

पछि कसको, कुन कित्ताको भन्ने चर्चा शुरू हुन थालेपछि भने संवाद–सहकार्यमाथि अन्योल र मौनताको राज चलेको छ। भनिन्छ– जब संवादभन्दा मौनता प्यारो लाग्न थाल्छ तब सम्बन्धमा दरार बढ्न थाल्छ, जुन अहिले मधेशमा भएको छ।

थाती रहेको फूटबल
२०६६ सालमा वीरगंज जाँदा राजनीतिमा लागेका युवकहरूको विकास अवधारणा–चाहना सुन्ने मौका मिलेको थियो। स्थानीय युवा र सुरक्षा निकायबीच सुरक्षाको क्षेत्रमा कसरी समन्वय गर्न सकिन्छ भनेर छलफल गर्न जिल्ला प्रहरी प्रमुखलाई पनि निम्त्याइएको रहेछ। त्यसक्रममा स्थानीय युवाहरूको राष्ट्रियताप्रतिको धारणा र त्यसमा स्थानीय प्रशासनको भूमिकाबारे पनि रोचक छलफल हुन पुग्यो।

छलफलमा सहभागी हुने क्रममा मैले राष्ट्रियतालाई एक संस्कृतिको रूपमा अर्थ्याउँदै एउटा योजना प्रस्ताव गरें– ‘काठमाडौंबाट कुनै एउटा बलियो फूटबल क्लबलाई बोलाउँ र बिहारको कुनै टीमलाई निम्तो दिउँ। रंगशालामा राष्ट्रिय झण्डा टाँग्ने काम स्थानीय युवालाई छाडौं।

अनि हेरौं– वीरगंजको रंगशालामा कुन देश घन्किन्छ। र, काठमाडौंको क्लबले जितेको भोलिपल्ट यहाँका घर–घरमा भित्रेको खुशी हेरौं। साइकल चढेर रक्सौलतिर लागेको मधेशीको चालढालमा आएको परिवर्तन पनि नियालौं।’

प्रहरी प्रमुखले मेरो प्रस्ताव खूब मन पराए अनि यसमा सक्दो सहयोग गर्ने वाचा गरे। त्यसको केही महीनामा उनको सरुवा भयो अनि वीरगंज रंगशालामा नेपाल जगाउने योजना पनि विस्मृतिमा गयो। बरु त्यसको करीब ६ वर्षपछि वीरगंजमा १७५ दिन मधेश आन्दोलन भयो, कैयौंले ज्यान गुमाए।

त्यो लडाईं पनि त्यही चन्द्र र सूर्यमा आफ्नो अनुहार खोज्नको लागि थियो, तर त्यो आकांक्षालाई पनि अन्ततः अपजसको शिकार बनाइयो। अहिले काठमाडौंबाट कुनै फूटबल टीम वीरगंज झर्‍यो भने शहर गुन्जायमान होला त? यसै भन्न सकिन्न।

गएको चैत पहिलो साता स्थानीय युवाले आयोजना गरेको ‘वीरगंज युथ फेस्टिभल’ मा पनि सहभागी हुने मौका पाएँ। आयोजकहरू आन्दोलनपछि शहरमा व्याप्त अन्योल हटाउन चाहन्थे, जुन निकै सराहनीय कुरा थियो। तर, उनीहरू आफैं अन्योलग्रस्त थिए।

ती पढा–लेखा युवक विरोधको कुरा नगर्ने प्रयासमा सक्दो मौन थिए। आफ्नो राजनीतिक मुद्दा स्थापित गर्न युवालाई प्रयोग गरेको राजनीतिक दलको सहयोग थिएन।

सहजीकरणको आह्वान
जनकपुरमा यसपालिको होलीमा उत्साह नहुनु अपेक्षित नै थियो। सांस्कृतिक शहर जनकपुरमा पनि आन्दोलनपछि अन्योल र मौनताको राज छ। मन्दिर र पोखरीहरूले शोभायमान यो शहरमा सामाजिक गतिविधि त निमिट्यान्नै भएको भान हुन्छ।

आर्थिक गतिविधिमा भने रेमिट्यान्सको सुईले धुकधुकी कायमै राखेको देखियो। अन्योल र मौनता तोड्न नै होला, जनकपुरका युवा राजनीतिबाट मोडिएर सरसफाइ अभियानमा लागेका देखिए।

समग्रमा, तराई–मधेशको पूरै आवादी मौन छ। यो मौनताको जबर्जस्ती निकास भने सबैका लागि घातक हुनसक्छ, राष्ट्रियताप्रतिको आत्मीय विषयलाई अन्योलग्रस्त बनाइएको छ।

मधेशीहरूले संविधान नपढिकनै आन्दोलन गरे भन्ने अभियोग लगाएको काठमाडौंले मधेशमा साक्षरताको लागि इमानदार प्रयास गरेको भए शायदै आज यो अन्योल हुनेथियो। १६ बुँदे, नेपालको संविधान २०७२ र १७५ दिन लामो आन्दोलनपछिको मधेशको मौन अनुहारमा अब के हुन्छ भन्ने अन्योल छ।

भन्न सकिने एउटै कुरा छ– मधेशमा जमेको यो अन्योल हटाउन सहजीकरण अत्यावश्यक भएको छ। यस्तो अन्योल र मौनताभित्रबाट राम्रो नतीजा आउने आशा गरेर बस्न मिल्दैन। सहजीकरणको आह्वान/उपक्रम हुनैपर्छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...