ब्लगशनिबार, बैशाख २५, २०७३
आफ्नै स्तुति
अहिले सरकार हाँकिरहेको नेकपा (एमाले) ले आफ्नो पूर्वरुप नेकपा (माले) का संस्थापक केन्द्रीय नेता रत्नकुमार बान्तवाको सम्झ्ानामा वर्षेनि २७ चैतमा स्मृतिसभा गर्दै आएको छ। गत २७ वर्षमा गरिएका स्मृतिसभाहरूको आकार ठूलो/सानो भए होलान्, तर नेकपा (एमाले) ले बान्तवालाई आफ्ना श्रद्धेय नेता तथा शहीद मानेकोले यसमा क्रमभंग भएको छैन।
‘को–अर्डिनेशन केन्द्र’ इलामको नेतृत्वमा झलनाथ खनालको उत्तराधिकारी बनेका बान्तवा २०३५ मा गठित नेकपा (माले) को संस्थापक केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका थिए। उनलाई व्यक्तिगत रुपमा सम्झने र लेख्ने नेताहरूको कुनै कमी छैन, एमालेमा। महासचिव ईश्वर पोखरेलको पूर्वको रातो तारा त्यही श्रृंखलाको एक कृति हो।
पुस्तकमा २०२९ सालमा उच्च शिक्षाका लागि इलामबाट काठमाडौं आएका बान्तवामा भएको कम्युनिष्ट चेतनाको विकास र भूमिगत राजनीतिदेखि ‘को–अर्डिनेशन केन्द्र’ मा आबद्धता, २७ चैत २०३५ मा पंचायती सत्ताले गरेको उनको हत्या र त्यसपछिको अवस्था समेटिएको छ।
९ खण्डको पुस्तकमा बान्तवाको राजनीतिक जीवन बाहेक चरम गुटबन्दीबाट धरासायी बन्दै गएको कम्युनिष्ट आन्दोलन एकीकरणतिर मोडिएको प्रसंगहरू पनि अटेका छन्। कम्युनिष्ट पार्टीको ‘झापा विद्रोहको धार’ का नेताहरू धमाधम पक्राउ परिरहेका वेला बान्तवाले देखाएको साहसलाई प्रशंसा गर्न लेखकले विभिन्न घटनाको सम्झना गरेका छन्।
पुस्तकमा समेटिएका धेरैजसो सामग्री बान्तवासँग असम्बन्धित छन्। र पनि, उनको हत्यापछि पार्टीले गरेको निर्णय, दुर्लभ तस्वीर लगायतका सामग्रीले पुस्तकलाई महत्वपूर्ण बनाएको छ।