थप समाचारमंगलबार, बैशाख २८, २०७३

बुधले लगाएको सूर्यग्रहण

हिमालखबर

prajwolडा. प्रज्वल काफ्ले
आफ्नो कक्षमा घुम्दै गरेको बुध (मर्करी) ग्रह हिजो २७ वैशाखमा सूर्य र पृथ्वीको बीचमा पुग्दा सूर्यको तेज कम देखियो– अलिकति फरक रंङको, कालो सानो दाग सहितको ।

नेपालबाट हेरिरहँदा यो कालो दाग मेटिन नपाउँदै सूर्यास्त भयो । अफ्रिका र अमेरिकाबासीले भने यसको अन्त्य पनि देख्न पाए ।

सूर्यबाट सबैभन्दा नजिकको बुध ग्रह पृथ्वी र सूर्यको बीचमा आइपुगेकाले ग्रहण देखिएको हो । तर २७ चैत २०७२ मा देखिएको यो ग्रहण पृथ्वी र सूर्यको बीचमा चन्द्रमा पुग्दा लाग्ने सामान्य ग्रहणभन्दा फरक थियो ।

चन्द्रमाको सट्टा बुधले सूर्यलाई छेकेकाले त्यसो भएको हो ।

बुध ग्रह पृथ्वीबाट चन्द्रमा भन्दा धेरै टाढा भएकोले सामान्य सूर्यग्रहण जस्तो यसले सूर्य छेक्दा पृथ्वीमा अन्धकार हुँदैन र दूरबिनको सहयाताबिना स्पष्ट देखिंदैन । जस्तो– आँखा नजिकै राखियोे भने एउटा मोहरले पनि सूर्य छेक्न सकिन्छ, तर अलि पर राख्दा हत्केलाले पनि सूर्यलाई छेक्न सकिंदैन ।

सूर्यको अघिल्तिर बुध ग्रह (बायाँतर्फ सानो कालो दाग) । तस्वीर: नासा

सूर्यको अघिल्तिर बुध ग्रह (बायाँतर्फ सानो कालो दाग) । तस्वीर: नासा

बुधको यस्तो ट्रान्जिट (पृथ्वी र सूर्यको बीच भएर हुने यात्रा) एकसय वर्षमा १३/१४ पटक हुन्छ । अझ शुक्र (मर्करी) ग्रहको ट्रान्जिट त दुर्लभ नै हुन्छ । सत्रौं शताब्दीमा दूरबिनको आविष्कारपश्चात् शुक्र ग्रहको यस्तो ट्रान्जिट जम्मा ८ पटक मात्र भएको छ ।

२३ जेठ २०६९ मा देखिएको जस्तो शुक्रको अर्काे ट्रान्जिट हेर्न अब हामी पृथ्वीका जीवले एक शताब्दी कुर्नु पर्नेछ । तर २७ वैशाखमा नेपालबाट समेत आंशिक देखिएको बुधको यस्तो अर्को ट्रान्जिट (पारगमन) भने कात्तिक २०७६ मै देख्न सकिन्छ ।

ग्रहहरुको स्थिति र समयको यति सटिक प्रक्षेपण १६ औं शताब्दीका जोहानेस केप्लर र २० औं शताब्दीका अल्बर्ट आइन्स्टाईन जस्ता महान वैज्ञानिकले दिएका सूत्रहरुबाट मात्र सम्भव भएका हुन् ।

सूर्यका अघिल्तिरबाट हुने ग्रहका यस्ता ट्रान्जिट नाङ्गो आँखाले हेर्नु हुँदैन । उसो त सूर्यबाट निस्कने विकिरणका कारण उसलाई नाङ्गो आँखाले कहिल्यै हेर्न हुँदैन ।

सूर्यको छाया पानीमा वा पराबैजनी (अल्ट्राभायलेट) किरण छान्ने विशेष चश्माबाट यस्ता घटना नियाल्न सकिन्छ ।

परागमनको महत्व
बुध साथै शुक्र वा चन्द्रमाले गर्दा हुने सूर्य ग्रहणको बैज्ञानिक महत्व व्यापक छ ।

यस्ता ग्रहणहरुको अध्यनले ग्रहको उत्पत्तिदेखि तीनको आकार, रंङ, यात्रा (मुभमेन्ट) साथै ती ग्रहमा पानी र जीवको उत्पत्ति कसरी हुन सक्छ जस्ता कुरा जान्न सकिन्छ ।

अन्य ग्रहभन्दा सूर्यको नजिक रहेको बुध ग्रहमा उच्च तापले गर्दा त्यहाँ कुनै यान पठाएर अध्ययन गर्न असम्भव छ । त्यसैले यस्तै ग्रहण वा ट्रान्जिट बुधको सतह अध्ययन गर्ने ठूलो अवसर हो ।

वैज्ञानिकले गरेका यस्तै बेलाका अध्ययनबाट बुधको सतहबाट सोडियम निष्कासन हुन्छ भन्ने थाहा पाइएको छ ।

क्यालिफोर्नियाको बिग बियर सोलार अब्जरभेटोरीले यो पटकको ट्रान्जिटबाट बुधबाट सोडियम कसरी निष्कासन हुन्छ भन्ने थप अध्ययन गर्नेछ ।

झन्डै तीन शताब्दीअघि पृथ्वीको दुई फरक फरक स्थानबाट बुध वा शुक्र ग्रहको ट्रान्जिट अध्ययन्‌बाटै  पृथ्वीबाट सूर्यसम्मको दूरी मापन गरिएको थियो ।

आज पनि यूरोपेली स्पेस एजेन्सी वा नासाको वेबपेजबाट डाटा डाउनलोड गरेर सामान्य ज्यामितीय सूत्र मार्फत हामी आफैं आफूदेखि सूर्यसम्मको दूरी मापन गर्न सक्छौं ।

यो दूरी १५ करोड किलोमिटर छ, जुन झन्डै ७००० पटक काठमाडौं–न्यूयोर्क ओहोरदोहोर गरे बराबर हो ।

बुध सूर्यअघिबाट गुज्रँदा सूर्यको सानो अंश छेकिने भएकोले पृथ्वीबाट हेर्दा सूर्यको तेज थोरै कम देखिन्छ । सौर्य–मण्डल बाहेक अन्य तारामण्डलमा पनि यही सिद्धान्त लागू हुन्छ ।

यसै विधि अनुसार दूर कुनै ताराको चमक निरन्तर निरीक्षण–अध्ययन गरेर त्यो ताराका अरु ग्रह छन् कि छैनन् खोज्न मद्दत पुग्छ ।

अमेरिकी संस्था नासाको सन् २००९ मा प्रक्षेपण भएको केप्लर नामक दूरबिनले सूर्य नजिकै अन्य हजारौं ताराहरुमा विभिन्न आकार–प्रकारका ग्रहहरु (एक्सो–प्लानेट) भएको जानकारी दिइसकेको छ । अझ तीमध्ये केही ग्रहहरु त पृथ्वी जस्तै हाउभाउका छन् ।

भौतिकशास्त्रका सिद्धान्तहरु एकै प्रकारका परिस्थिति र वस्तुमा समान रुपमा लागू हुने भएकाले बाहिरी–ग्रहहरुको अध्ययनहरुमा बुधको ट्रान्जिट जस्तो अति सामान्य लाग्ने खगोलीय घटना अध्ययनको ठूलो भूमिका हुन्छ ।

सूर्यलाई केन्द्र मानी परिक्रमा गर्ने ८ ग्रहमध्ये बुध सबैभन्दा सानो र सूर्य नजिक रहेको ग्रह हो ।

पृथ्वी जस्तै सौर्य–मण्डलका अन्य ग्रहहरु पनि सूर्यलाई केन्द्र मानेर आ–आफ्ना कक्षमा निरन्तर घुम्ने गर्छन् । सूर्यको नजिक भएका बुध र शुक्रले अन्य ग्रहहरु भन्दा छोटो समयमै सूर्यलाई फन्को मार्छन् ।

बुधले ८८ दिनमै सूर्यलाई फन्को मारी सक्छ भने शुक्रलाई २२५ दिन र पृथ्वीलाई ३६५ दिन लाग्छ । यसरी ग्रहहरु आफ्नो कक्षमा निरन्तर घुम्ने क्रममा पृथ्वी र सूर्यको बीचमा पुग्दा सूर्य ग्रहण लाग्छ ।

तर, पृथ्वी बाहिरका कक्षमा घुम्ने मंगल, बृहस्पति जस्ता अन्य ग्रहहरु पृथ्वी र सूर्यका बीचमा आउन सक्दैनन् र यी ग्रहका कारण पृथ्वीमा सूर्यग्रहण लाग्दैन ।

बरु भोलि मानव जाति मंगल वा त्यो भन्दा टाढाको ग्रहसम्म पुग्यौं भने पृथ्वीले गर्दा सूर्यग्रहण लागेको देख्न सक्नेछौं ।

जीवनको खोजी
आकासगंगा, तारा, ग्रह, पुछ्रे तारा, अरु साना–तिना पिण्ड (मेटियोर, एस्टेरोईड) ले बनेको ब्रह्माण्ड करीब एक सय चालीस खर्ब वर्ष पुरानो छ ।

तर, आजसम्म पृथ्वी भन्दा अन्त कतै सजिव वस्तु भेटिएको छैन ।

हाम्रो नजिकैको मंगल ग्रहमा पुगेका मानव निर्मित यानहरुले पठाएका तस्वीर र अन्य सूचनाको विश्लेषणबाट त्यहाँ पानीसम्म हुनसक्ने आधार फेला परेको छ ।

पानी भएको ठाउँमा जीव हुन सक्छ भन्ने विश्वासमा ग्रहहरुको व्यापक अध्यन हुँदै आएको छ ।

अमेरिकाको नासा लगायत विश्वका अन्य थुप्रै वैज्ञानिक संस्था र विश्वविद्यालयहरुमा यस्ता अनुसन्धान निरन्तर जारी छन् ।
पृथ्वी इतरका ग्रहहरुमा जीवनको खोजी (एक्स्ट्रा टेरेस्टियल लाईफ) सम्बन्धी रोचक प्रसङ्ग अर्को लेखमा ।

(डा. काफ्ले युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियामा खगोलशास्त्र अध्यापन गर्छन् ।)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>