समाचारमंगलबार, बैशाख २८, २०७३
म मेरो प्रधानमन्त्रीलाई कसरी ‘बकम्फुसे’ भनूँ: धनराज गुरुङ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद धनराज गुरुङले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको कडा आलोचना गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि सार्वजनिक रुपमा व्यक्त गरेका प्रतिबद्धताहरु नीति तथा कार्यक्रममा नपरेको भन्दै उनले आलोचना गरेका हुन ।
“प्रधानमन्त्री ज्यूले घर–घरमा ग्याँसको पाइप जोड्छु, सिलिण्डर युग अन्त्य गर्छु भन्नु भएको थियो । तर नीति तथा कार्यक्रममा यो कुरा आएन” २८ बैशाखमा व्यवस्थापिका संसद बैठकमा धारणा राख्ने क्रममा प्रतिपक्षी दलका सांसद गुरुङले भने, “मैले शब्दकोषमा हेरेँ– भनेको पुरा नगर्नुलाई बकम्फुस भनिदो रहेछ । यस्तो कुरा गर्नेलाई चाहिँ बकम्फुसे । म मेरो प्रधानमन्त्री ज्यूलाई कसरी बकम्फुसे भन्न सक्छु ? सभामुख ज्यू ।”
२६ बैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा नयाँपन केही नभएको समेत साँसद गुरुङको टिप्पणी थियो ।
उनले भने, “नीति तथा कार्यक्रम पुरानो बोतलमा पुरानै रक्सी जस्तै हो ।”
नीति तथा कार्यक्रममाथि सांसदहरु शेरबहादुर देउवा, झलनाथ खनाल, आशा कोइराला, जितेन्द्रनारायण देव, सुशीलकुमार श्रेष्ठ, जनकराज जोशी, लोकमणि ढकाल लगायतले धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
