थप समाचारबुधबार, बैशाख २९, २०७३
अझै दुई दिन वर्षा हुने
मुलुकभर अझै दुई दिन बदलीसँगै मेघ गर्जन र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले ‘प्रिमनसुन’ सक्रिय भएकाले देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताइन् । उनका अनुसार शुक्रबारदेखि मौसममा क्रमिक सुधार आउनेछ । मार्च, अप्रिल र मे प्रिमनसुनको अवधि भए पनि ढिलो गरी सक्रिय भएको हो ।
अरब सागरबाट आएको जलवाष्पयुक्त हावा नेपाल भित्रिएपछि मौसममा परिवर्तन आएको र उक्त वायुको प्रभावले देशभर बदली हुनुका साथै अधिकांश भेगमा मेघ गर्जनसहित वर्षा भएको कँडेलले जानकारी दिइन् ।
महाशाखाको पछिल्लो विवरण अनुसार सबैभन्दा बढी ताप्लेजुङ्मा २७ र सबैभन्दा कम सिमारा र भैरहवामा १–१ मिलिमिटर वर्षात् भएको छ । त्यस्तै धनगढीमा १८, नेपालगञ्जमा १७, ओखलढुङ्गामा १७ र दाङ्मा १५ मिलिमिटर वर्षा भएको छ ।
आज सबैभन्दा बढी तापक्रम सिमारामा ३८.८ र भैरहवामा ३८.२, विराटनगरमा ३६.८ र नेपालगञ्जमा ३६.८ रहेको छ, भने सबैभन्दा कम जुम्लामा ७ डिग्रिसेल्सियस रहेको छ ।
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६ र अधिकतम तापक्रम २९.८ डिग्रिसेल्सियस रहेको महाशाखाले जनाएको छ ।
रासस