थप समाचारबुधबार, बैशाख २९, २०७३
काठमाडौंमा सानो कोरिया
सिल्की ली
उपत्यकासँगै पोखरा र धरान जस्ता शहरी युवामाझ कोरियन फेशनको लहर चलेको छ।
जीउमा टिपिक्कै टाँसिने जिन्स र त्यसमाथि खुकुलो टप्स। खुट्टामा फ्ल्याट स्निकर र काँधमा लामो फितावाला झोला– शहरका थुप्रै युवती अचेल यस्तै गेट–अपमा देखिन्छन्।
काठमाडौंको दरबारमार्ग, ठमेल, झम्सिखेलदेखि पोखरा र धरानमा समेत यस्तो पहिरनमा ठाँटिने युवती बढिरहेका छन्। आफ्नो छाला अनुसारको मेक–अप, आँखामा मस्कारा लगाउने उनीहरूको फेशन कुनै कोरियन अभिनेत्रीभन्दा कम देखिंदैन।
“आफैं सजिन जान्नु राम्रो कुरा हो”, दरबारमार्गको शेर्पा मलमा भेटिएकी ममता गुरुङ (२३) भन्छिन्, “धेरै फेशनेबल तरीका कोरियन सिरियलहरूबाट सिकिरहेकी छु।” नवविवाहिता गुरुङ कोरियाली अभिनेत्री र मोडलहरूको लवाइबाट कतिसम्म प्रभावित छन् भन्ने कुरा झलकमै थाहा हुन्छ।
नेपाली युवामाझ बोइज ओभर फ्लावर्स’ (२००९), द हेयर्स (२०१३), डिसेन्डेन्ट्स अफ द सन (२०१६) जस्ता दक्षिण कोरियाली टेलिशृंखला चर्चित छन्। चीन र दक्षिणपूर्वी एशियाली देशहरूमा झै कोरियन अभिनेता लि मिन–हो नेपाली युवामा प्रिय छन्।
“कोरियन सिरियलहरूमा एकदमै सुन्दर अनुहारका कलाकारहरू देख्न पाइन्छ”, एसएलसी परीक्षा सकेर बसेकी रिया तामाङ (१६) भन्छिन्, “उनीहरूको लवाइ–खवाइ पनि सिको गर्न लायक हुन्छ।”
काठमाडौं उपत्यकाभित्र खासगरी तामाङ, गुरुङ, शेर्पा, नेवार जातिका युवाले कोरियन फेशन अनुकरणको प्रयास गरिरहेका छन्। शृंगारका प्रसाधन पनि कोरियन ब्रान्डकै रुचाउने उनीहरूमध्ये केही त कोरियाली नै देखिन्छन्। उनीहरु यस्तो फेशनबारे कोरियन टेलिशृंखलाका डीभीडी र टेलिभिजन च्यानल ‘केबीएस वर्ल्ड’ बाट जानकारी पाएको बताउँछन्।
पुरुषलाई पनि कोरियन फेशनले राम्रैसँगै छोएको छ। काठमाडौंका सडकमा टु ब्लक–कट स्टाइलमा कपाल काट्ने, छोटा बाउलाका टी–सर्ट लगाउने, फ्ल्याट स्लिप–अन शु लगाउने युवा प्रशस्त देखिनुले पनि यसलाई प्रमाणित गर्छ।
“जानेरै कोरियन कलाकारको नक्कल गरेको भने होइन”, टु–ब्लक कट स्टाइलमा कपाल काटेका बौद्धका छेवाङ तामाङ भन्छन्, “साथीहरुको स्टाइल राम्रो देखेर काटेको हुँ।”
कोरियन फेशनको लहर सोलुखुम्बु पनि पुगेको छ। सोलुखुम्बुका प्रवीण राई (१७) पनि कोरियन कलाकारको फेशन पछ्याउँछन्। काठमाडौंमा कोरियन भाषासमेत पढिरहेका उनी लि मिन–हो अभिनित ‘सिटी हन्टर’ (२०११) सिरियलका प्रशंसक हुन्।
राई र साथीहरु कोरियन फेशन ट्रेन्डबारे नयाँ–नयाँ जानकारी लिइरहन्छन्। “यूट्यूबमा कोरियन सिरियलहरू हेर्ने भएकाले त्यहाँको फेशनबारे थाहा भइरहन्छ”, राई भन्छन्। फेशनकै लागि अंग्रेजीमा ‘सबटाइटल’ नहुने कोरियाली टेलिशृंखला समेत हेरिने गरेको छ।
लमजुङका शान्तामाया बिक र निशा परियारले भने कोरियन स्वयंसेवकबाट त्यहाँको संगीत र नाटकबारे पहिलोपटक जानकारी पाएका थिए। काठमाडौंबाट १४० किलोमिटर टाढाको लमजुङको सानो गाउँमा बस्ने भए तापनि उनीहरूको पहिरन दक्षिणकोरियाली राजधानी सोलको सडकमा देखिने भन्दा खासै फरक छैन।
सदरमुकाम बेसीशहरमा कक्षा ६ मा अध्ययनरत परियार भन्छिन्, “यस्तो ड्रेस–अप सजिलो लाग्छ, राम्रो देखिन्छ, शहरमै बसे जस्तो लाग्छ।”
कोरियादेखि कुमारीपाटीसम्म
कोरियन टेलिशृंखलाका नेपाली दर्शक बढेसँगै बजारमा टेलिशृंखलामा देखाइए जस्तै लुगाफाटा र शृंगार सामग्रीको माग हुन थालेको हो।
युवाको यस्तो माग पूरा गर्न उपत्यकामा धेरै ठाउँमा ‘कोरियन शप’ खुलिरहेका छन्। ललितपुरको कुमारीपाटीमा रहेको ‘कोरियन शप’ त्यस्तै एक पसल हो, जहाँ युवा कोरियन फेशन अनुसारका पहिरन छान्न आउँछन्।
“सामान सबै कोरियामै बनेका हुन्”, कोरियन शपका सञ्चालक जीवनराज श्रेष्ठ भन्छन्, “त्यसैले पनि यहाँ युवाको भीड लाग्छ।”
कुमारीपाटीकै अर्को कोरियन शप, मिसुमीले विशेष गरी छाला, नङ र कपालका लागि कोरियाबाटै शृंगार प्रसाधन झिकाउँदै आएको छ।
“दिनमा १५–२० जना ग्राहक आउने गरेका छन्”, मिसुमीकी सुजाता मगर भन्छिन्, “हामीले कोरियाको ब्रान्डेड सामान बेच्ने गरेका छौं।” नेपाली उपभोक्ताका लागि कोरियन सामानको मूल्य अलि बढी नै परे पनि बजार बढिरहेको उनी बताउँछिन्।