समाचारबुधबार, बैशाख २९, २०७३
गैरकानूनी काम गरेको छैनः उपेन्द्र महतो (पनामा पेपर्स सन्दर्भ)
अन्तर्राष्ट्रिय खोज पत्रकार समूहले सार्वजनिक गरेको पनामा पेपर्समा आफ्नो समेत नाम जोडिएपछि व्यवसायी उपेन्द्र महतोले आफूले कुनै गैरकानूनी काम नगरेको स्पष्ट पारेका छन् ।
महतोले आफू विगत ३५ वर्षदेखि विदेशमा वस्दै आएको र युरोप, एशिया तथा अफ्रिकाका विभिन्न देशमा आफ्ना व्यवसायिक प्रतिष्ठान रहेको जानकारी दिंदै तीनमा रहेको लगानी पनि विदेशमै आर्जन गरिएको कमाईबाट भएको प्रस्ट्याएका छन् ।
“विदेशमा बस्ने नेपालीले आफू बसेको ठाउँमा कमाएको पूँजी त्यहीँ वा अन्य मुलुकमा लगानी गर्ने कुरा कानूनसम्मत र विश्वव्यापी प्रचलनमा छ,” महतोद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, “धेरै देशमा लगानी गर्न सहजताको लागि अन्तर्राष्ट्रिय कानून र प्रचलन अनुसार मैलेपनि विदेशमा कम्पनी खोलेको छु, जस मार्फत विभिन्न देशमा त्यहाँको स्थानीय कानून अनुसार लगानी भएका छन् ।”
उनले नेपालमा गरेको लगानी समेत विदेशबाटै ल्याएको र अझै ल्याउने दृढता समेत व्यक्त गरेका छन् ।
डा. उपेन्द्र महतोको प्रेस वक्तव्य:
काठमाडौं, वैशाख २९, २०७३
अन्तर्राष्ट्रिय खोज पत्रकार समूहले सार्वजनिक गरेको पानामा पेपर्सको दोस्रो विवरणमा अफसोर कारोबार गर्ने भनी मेरो समेत नाम आएपछि गैरकानूनी काम गरेको हो कि भन्ने ढंगले समाजमा उत्पन्न हुनसक्ने नकारात्मक प्रतिक्रिया र भ्रमलाई समयमै चिर्नु आफ्नो कर्तव्य ठान्दछु ।
म विगत ३५ वर्षदेखि अध्ययन र व्यवसायको सिलसिलामा विदेशमा बस्दै आएको सर्वविदीतै छ । यसै क्रममा विदेशमा छरिएर रहेका नेपालीलाई संगठित गर्दै मातृभूमिसँग जोड्ने र त्यसको समृद्धिमा आ–आफ्नो क्षमता अनुरुपको योगदान गर्न उत्प्रेरित गर्ने उद्देश्यले संचालित गैरआवासीय नेपाली अभियानको नेतृत्व गर्दै मैले सन् २००३ देखि २००९ सम्म गैरआवासीय नेपाली संघको संस्थापक अध्यक्षको हैसियतमा समुदाय र मुलुकको सेवा गर्ने सौभाग्यपनि पाएको छु ।
गैरआवासीय नेपाली अभियानकै प्रेरणाले विदेशमा बस्ने धेरै भन्दा धेरै नेपालीहरुमा आफ्नै कर्मभूमिमा व्यापार–व्यवसायको विकास गर्ने, संचित पूँजीलाई नेपाल भित्र्याएर व्यवसाय र रोजगार सृजनामा योगदान दिने जुन पहल विकसित भएको छ, एक अभियन्ताका नाताले त्यो मेरालागि ठूलो आत्मसन्तुष्टीको विषय हो ।
मूलतः व्यवसायमा संलग्न रहेको हुँदा नेपाल बाहेक युरोप, एसिया र अफ्रिकाका विभिन्न देशमा मेरा व्यवसायिक प्रतिष्ठानहरु छन्, लगानी छ । मैले विदेशमा जेजति लगानी गरेको छु, त्यो पूँजी विदेशमै आर्जन गरेको स्वतः स्पष्ट नै छ ।
विदेशमा बस्ने नेपालीले आफू बसेको ठाउँमा कमाएको पूँजी त्यहीँ वा अन्य मुलुकमा लगानी गर्ने कुरा कानूनसम्मत र विश्वव्यापी प्रचलनमा छ । धेरै देशमा लगानी गर्न सहजताको लागि अन्तर्राष्ट्रिय कानून र प्रचलन अनुसार मैलेपनि विदेशमा कम्पनी खोलेको छु, जस मार्फत विभिन्न देशमा त्यहाँको स्थानीय कानून अनुसार लगानी भएका छन् ।
त्यस बाहेक मैले नेपालमा गरेको लगानीपनि विदेशबाटै ल्याएको हुँ र अझै ल्याउने दृढ समर्पणका साथ काम गरिरहेको छु । विगत धेरै वर्षदेखि मैले अन्य विदेशी लगानीकर्ता साथीहरुलाई समेत आमन्त्रित गरेर मुलुकका केही स्थानमा आफ्नो व्यवसायलाई विस्तार गरिरहेको व्यहोरा अवगत गराउन चाहान्छु ।
डा. उपेन्द्र महतो
काठमाडौं