समाचारबिहीबार, बैशाख ३०, २०७३
चाँडै एकता गर्ने ६ माओवादी घटकको निर्णय
विभिन्न ६ वटा माओवादी घटकले केही दिन भित्रै पार्टी एकता गर्ने निष्कर्ष निकालेका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा २९ वैशाखमा भएको संयुक्त छलफलमा विवाद रहेका विषयलाई टुङ्ग्याउँदै जाने र एकताका लागि सबै पक्षले आ–आफ्नोतर्फबाट विशेष पहल गर्ने निष्कर्ष निकालिएको हो ।
बैठकमा हालसम्म एकताका लागि भएका सबै प्रयासका बारेमा समेत छलफल भएको र अब धेरै दिन नकुरिकन एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने सहमति भएको एमाओवादी अध्यक्ष दाहालका स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए ।
छलफलमा २९ वैशाख बिहान बसेको एमाओवादी स्थायी समितिले गरेको निर्णय तथा त्यसको भावनाका आधारमा अगाडि बढ्ने जानकारी गराइएको थियो ।
नेकपा (क्रान्तिकारी माओवादी)ले समेत आगामी २ जेठमा एकताका लागि केन्द्रीय समितिको बैठक बोलाएको, अन्य माओवादी घटकसमेत एकताका लागि अन्तिम तयारी गरेकाले आ–आफ्ना केन्द्रीय समितिमा छलफल गरेर अन्तिम निष्कर्ष निकाल्ने सहमति भएको छ ।
बैठकमा एमाओवादी अध्यक्ष दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा सहभागी थिए भने नेकपा (क्रान्तिकारी माओवादी) महासचिव रामबहादुर थापा, नेकपा (माओवादी) का संयोजक मातृका यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा र नेकपा (माओवादी) नेत्रविक्रम चन्द समूहका केही नेतासमेत सहभागी थिए ।
बैठकले छलफललाई निरन्तरता दिँदै बढीमा १० दिनभित्रै एकता प्रक्रियालाई अन्तिम निष्कर्ष दिने सहमति गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
