समाचारबिहीबार, बैशाख ३०, २०७३
ठडिंदै धरहरा
भूकम्पमा गर्लम्म ढलेको धरहरालाई पुरानै स्वरुपमा ठड्याउने तयारी भइरहेको छ ।
१२ वैशाख २०७२ को भूकम्पमा ढलेको काठमाडौंको धरहरा कहिले ठडिएला? यो चिन्ता राजधानीवासीलाई मात्र होइन देशवासीलाई नै छ। किनभने धरहरा क्षतिको मात्र होइन पुनःनिर्माणको बिम्ब पनि बनेको छ। त्यसैले ढिलै भए पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण धरहरा पुनःनिर्माणमा लागेको छ।
पुनःनिर्माण रकम जुटाउन कोष खडा गरिएको छ। “बल्ल माटो परीक्षण सकिएको छ”, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल भन्छन्।
विभागले धरहरा पुनःनिर्माणको लागि नक्शा तयार गर्न प्रस्ताव आह्वान गरेको थियो। जसका लागि ६ वटा परामर्शदाताले प्रस्ताव बुझाएका थिए। विभागका वरिष्ठ इन्जिनियर सम्पत घिमिरे तीमध्ये एक नक्शा छनोट गरी पुनःनिर्माण थालिने बताउँछन्।
महानिर्देशक दाहाल काम थाल्नुअघि स्थानीय र सरोकारवाला निकायसँग छलफल गरिने बताउँछन्। “पुनःनिर्माणकर्ता छान्ने काम पनि बाँकी छ”, दाहाल भन्छन्।
पुरातात्विक सम्पदा धरहरा पुनःनिर्माणमा पहिलेकै स्वरुप र उँचाइलाई प्राथमिकतामा राखिएको छ। जसअनुसार फेरि धरहरा ६२ मिटर उँचाइकै बन्नेछ। “फरक भनेको भूकम्प प्रतिरोधी बन्नेछ”, महानिर्देशक दाहाल भन्छन्, “पुनःनिर्माणमा आधुनिक प्रविधिको प्रयोगबारे छलफल भइरहेको छ।”
शहरको केन्द्र
भीमसेन थापाले १८८२ सालमा ११ तले धरहराको निर्माण गरेका थिए। त्यसैले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ। १९९० सालको भूकम्पमा भत्किएको धरहरा श्री ३ जुद्धशमशेरले एक वर्ष लगाएर पुनःनिर्माण गरी ९ तलाको बनाएका थिए।
राणाकालमा धरहराको उपयोग कर्मचारी र सैनिक प्रयोजनको लागि गरिन्थ्यो। धरहराबाट बिगुल बजाएर जंगी तथा निजामती सूचना प्रसार गरिन्थ्यो। बिगुल बज्दा टाढा टाढाबाट कर्मचारीहरू टुँडिखेलमा जम्मा हुन्थे।
मुगल शैलीमा निर्मित धरहरा बनाउन बज्र प्रयोग गरिएको थियो। उपत्यकाकै पहिलो अग्लो स्तम्भ भएकाले पनि धरहरा सौन्दर्यको प्रतीक मानिन्थ्यो।
धरहरा कोष
धरहरा पुनःनिर्माणका लागि ५ फागुन २०७२ मा स्थापित ‘धरहरा पुनःनिर्माण कोष’ मा १६ वैशाखसम्म रु.३० लाख जम्मा भइसकेको छ।
कोषमा मन्त्रिपरिषद्का सबै मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीको एक महीनाको पारिश्रमिक बराबरको रकम जम्मा भएको छ। पुनःनिर्माण ढिलो भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक महीनाको पारिश्रमिक जम्मा गरी कोष शुरु गरेका थिए।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलिया ‘मेरो धरहरा म बनाउँछु’ अभियानअन्तर्गत रकम जम्मा भइरहेको बताउँछन्। धरहरालाई आमनागरिककै रकमबाट निर्माण गर्ने उद्देेश्यले यो अभियान थालिएको बताउँदै थपलिया भन्छन्, “धरहरा निर्माण जनस्तरबाटै होस् भन्ने हाम्रो चाहना हो।”