थप समाचारशुक्रबार, बैशाख ३१, २०७३

आँटले दिलाएको सफलता

हिमालखबर

सुदूरपश्चिमको पर्यटन विकासमा व्यवसायी परमानन्द भण्डारीले थोरै समयमा धेरै गरेर देखाएका छन् ।

–बच्चु बिक, महेन्द्रनगर

d83NGcpढाइमा स्नातक भएपछिको फुर्सदमा केही दिन बुवा नरेश्वर भण्डारीलाई सघाउन होटलमा बसेका परमानन्द (४०) ले त्यसपछि दायाँबायाँ हेर्नै भ्याएनन्।

त्यसयता यातायात व्यवसाय समेत फैलाएका कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भासीका परमानन्द भण्डारी खासमा बुवाको उद्यम गर्न होइन, जागीर खान चाहन्थे। “तर, ती सब कुरा अब विगतको सम्झना भइसके”, सुदूरपश्चिमका सफल व्यवसायीमा दरिएका भण्डारी भन्छन्।

१७ वर्षअघि उनले स्तरोन्नति गरेको न्यू आनन्द होटल अहिले सुदूरपश्चिमका स्तरीय थोरै होटलमध्ये पर्छ। न्यू आनन्दले राम्रो कमाइ गर्न थालेपछि उनले यातायात व्यवसायमा पनि हात हाले।

सुदूरपश्चिमको विकासको लागि पनि भीमदत्तनगरलाई यस क्षेत्रका पहाडी जिल्लासँगै धनगढी, नेपालगञ्ज, पोखरा, काठमाडौं, विराटनगरलगायतका शहरहरूसँग जोड्न स्तरीय बस सेवा आवश्यक थियो। “त्यही आवश्यकता परिपूर्ति गर्न महाकाली–सेती यातायात व्यवसायी समिति अन्तर्गतका मेरा डिलक्स बसहरू चलेका छन्”, भण्डारी भन्छन्।

भण्डारीको व्यवसायमा साझेदारी छैन। त्यसले उनलाई निर्णय लिन र काम गर्न सजिलो भएको छ। मोहित ट्राभल्स एन्ड टुर्सका मालिक उनी सधैं काठमाडौं, पोखरा, चितवन, बर्दिया आदि ठाउँका बयान सुन्थे, तर आफैंले चहारेका खप्तड, शुक्लाफाँटा, अपि, सैपाल, रामारोशन कम लाग्दैथे।

“सुदूरपश्चिममा पर्यटनको कुरा गर्दा नेपाल पर्यटन बोर्डदेखि ट्राभल एजेन्सीहरूसम्म एउटै जवाफ दिन्थे– शुक्लाफाँटामा बस्ने व्यवस्था छैन, खप्तड लैजाने उपाय छैन”, भण्डारी भन्छन्, “अनि मैले नै दुई वर्षअघि शुक्लाफाँटामा जंगल कटेज खोलें।”

उनले वन्यजन्तु आरक्ष नजिक विद्यालयको जमीन भाडामा लिएर स्वदेशी–विदेशी पर्यटकका लागि काइदाको जंगल कटेज खोलेर शुक्लाफाँटा सयरको प्रबन्ध पनि मिलाएका छन्, टुर प्याकेज र हात्ती सफारीको रुपमा। कटेज अहिले नाफामा गएको छैन, तर स्थानीय विकासमा टेवा पुग्न र मानिसहरूमा घुम्ने बानी पनि बस्न थालेको भण्डारी बताउँछन्।

कटेजको शुक्लाफाँटा टुर प्याकेजमा हरेक शनिवार घुम्नेहरूको घुइँचो लाग्न थालेको छ। त्यसरी घुम्नेहरूले बाह्रसिङ्गे, गैंडा, चराचुरुङ्गी र कहिलेकाहीं बाघ पनि हेर्न पाउँछन्। त्यसबाहेक, शुक्लाफाँटा आरक्षबाट सूर्यास्तको अनुपम दृश्य देख्न पाइन्छ।

शुक्लाफाँटा टुर प्याकेजको सफलतापछि भण्डारी सातदिने खप्तड टुर प्याकेजमा जुटेका छन्, जस अन्तर्गत आन्तरिक पर्यटकलाई खप्तड राष्ट्रिय निकुञ्ज घुमाइन्छ। २८ चैतमा खप्तड गएको २५ जनाको पहिलो टोली फर्केपछि एकदम राम्रो प्रतिक्रिया आएको बताउने व्यवसायी भण्डारी भन्छन्, “अर्को प्याकेजको बुकिङ सकिइसकेको छ।”

शुक्लाफाँटा र खप्तड पछि उनको तेस्रो प्राथमिकता अपि नाम्पा हो। त्यसपछि क्रमशः सैपाल, रामारोशन र बडिमालिका टुर प्याकेज ल्याउने सुरमा छन् उनी। उनको सोचमा ‘खप्तड टु रारा’ प्याकेजले पनि आकार ग्रहण गरिरहेको छ। भण्डारी भन्छन्, “अरुले थाल्लान् अनि म गरुँला भन्दा ढिलो हुन्छ, आफैंले सकेको आँट गर्दै जाने हो।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>