अर्थ/बजारशुक्रबार, बैशाख ३१, २०७३
केरुङतर्फ कन्टेनरको आवतजावत बढ्याे
नेपाल–चीनबीच कारोबार भइरहेको एक मात्र उत्तरी नाका रसुवागढी नाकामा सामान बोक्ने मालवाहक कन्टेनरको आवागमन क्रमिक रुपमा वृद्धि हुँदै गएको छ ।
ट्राफिक प्रहरीका अनुसार दैनिक रुपमा मालवाहक कन्टेनर ५० भन्दा बढी काठमाडौं र त्यतिकै सङ्ख्यामा केरुङतर्फ जाने गरेको छ । अहिले स्याउ बढी मात्रामा भित्रिएको छ भने तयारी र रोल कपडा, जुत्ता चप्पल, विद्युतीय समेतका सामग्री आयात हुने गरेको बताइएको छ ।
सडक साँघुरो भएका कारण ट्राफिक व्यवस्थापन गर्न नेपाल प्रहरी अहोरात्र खटाइएको जिल्ला प्रहरी प्रमुख अवदेश विष्टले बताए । उनका अनुसार वर्षाका कारण केही दिनअगाडि अवरुद्ध नुवाकोट–गेर्खु गाविस इलाकाको सडक एकतर्फी रुपमा खुलेको छ ।
प्रमुख भन्सार अधिकृत केदार पनेरुका अनुसार गत १४ मंसीरयता एक अर्ब ३१ करोड राजस्व सङ्कलन भइसकेको र केरुङबाट सामान बोकी आउने कन्टेनरलाई ओहरदोहरमा सहजता ल्याउन मूलखर्क र सानुभार्खु क्षेत्रमा सडक विभागमार्फत सडक मर्मत कार्य अगाडि बढाइएको छ । रासस