थप समाचारशुक्रबार, बैशाख ३१, २०७३
नेपाल र गिनियाबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र पश्चिम अफ्रिकी मुलुक गिनियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । गुएनासँगको दौत्य सम्बन्ध स्थापनासँगै नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएका देशको संख्या १४३ पुगेको छ ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र गिनियाका स्थायी प्रतिनिधि एवम् राजदूतद्वय दुर्गाप्रसाद भट्टराई र मामादी टौरेले आज न्युयोर्कस्थित स्थायी नेपाली नियोगमा आयोजित विशेष समारोहमा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतापत्रमा हस्ताक्षर गरेपछि दुवै मुलुकका राजदूतले कूटनीतिक सम्बन्ध स्थापनासँगै नेपाल र गिनियाबीच पारस्परिक सम्बन्ध अझ सुदृढ हुने तथा आपसी हित र चासोका विषयमा सहकार्य गर्न सहज हुने बताएको न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।
दुवै मुलुकबीच दौत्य सम्बन्ध स्थापनाले नेपाल र गुएनाले संयुक्त राष्ट्रसङ्घ साथै अन्य क्षेत्रीय तथा बहुपक्षीय मञ्चमा अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकास प्रवद्र्धनमा परस्पर सहयोग गर्ने छन् ।
एक करोड १७ लाख ८० हजार १६२ जनसङ्ख्या रहेको गिनियाको अर्थतन्त्र कृषि र खनिज पदार्थ उत्पादनमा निर्भर छ ।
*सच्याइएको