थप समाचारशुक्रबार, बैशाख ३१, २०७३
‘नमोबुद्ध’ बाघ मारेर फरार रहेका भारतबाट पक्राउ
चितवनबाट बर्दियाकोे बबई उपत्यका ल्याईएको ‘नमोबुद्ध’ नाम राखिएको बाघ मारेर फरार रहेका राजबहादुर भन्ने लालबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकाबाट ‘रेडियो कलर’ जडित बाघ मारेर फरार लालबहादुरलाई झण्डै ५ वर्षपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले भारतीय प्रहरीको सहयोगमा भारतको सिमलाबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध बाघ मार्ने र हाड, छाला ओसार पसार गरेको अभियोगमा अदालतले सुर्खेत हरीहरपुर १ का बिक विरुद्ध १२ वर्ष कैद सजाय तोकिसकेको छ ।
सिआईबीका डिएसपी प्रविण पोखरेलका अनुसार पक्राउ परेका बिकलाई बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्वारामा विहीवार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरीएको हो ।
राष्ट्रिय निकुञ्ज ऐन अन्र्तगत बाघ मार्नेलाई पाँच देखि पन्ध्र वर्ष कैद र पचास हजार देखि एक लाख सम्म जरिवाना वा दुवै सजाय हुने कानूनी प्रावधान छ ।
उक्त बाघ मार्ने काममा संलग्न अन्यमध्ये सुर्खेत हरीहरपुर– १ सालघाडीका चित्रबहादुर अधीकारी, कर्णबहादुर बिक, गोवीन्द शर्मा र हरीराम राना यसअघि नै पक्राउ परिसकेका छन् ।
सन् २०११ को फेब्रुअरीमा सौराहको एक होटलमा घाईते अवस्थामा भेटिएको बाघलाई उद्धार गरी ३ महिनाको उपचारपछि वन मन्त्रालयले बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा छोडेको थियो । वर्दिया ल्याइएको तीन महिनामा लालबहादुर लगायतकाले गाइको सिनोमा विषदी मिसाई बाघलाई खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ ।
वन्यजन्तु अपराध नियन्त्रणमा खटिएको सिआईबीको टोलीले २०६७ सालदेखि हालसम्म वन्यजन्तु चोरी शिकारमा संलग्न भएको आरोपमा ४०१ जनालाई पक्राउ गरेको सिआईबीका डिएसपी प्रविण पोखरेलले जानकारी दिए ।
-भावुक योगी, बर्दिया