समाचारशनिबार, जेठ १, २०७३
हप्तादिनभित्रै माओवादी एकता
-रमेश लम्साल
सम्भवतः अबको एक हप्ताभित्र विभिन्न समूहमा विभाजित माओवादी एकता हुने भएको छ ।
१० वर्षे सशस्त्र आन्दोलनबाट बनेको माओवादी घटकका विभिन्न समूहबीच भइरहेको द्विपक्षीय तथा बहुपक्षीय बैठकले जेठको पहिलो साताभित्रै एकता गर्ने तयारी भएको छ ।
पुष्पकमल दाहाल नेतृत्वको एमाओवादी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मातृका यादव नेतृत्वको नेकपा (माओवादी), मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेत्रविक्रम चन्दको नेतृत्वको नेकपा माओवादी समूहमा रहेका र माओवादी विभाजित भएपछि कुनै पनि समूहमा नलागेका नेता तथा कार्यकर्ता एकै ठाउँमा उभिन लागेका हुन् ।
त्यसमा वैद्य नेतृत्वको माओवादीको दुई तिहाइभन्दा बढी हिस्सा एकता प्रक्रियामा सामेल भए पनि एक तिहाइ हिस्सा भने एकता प्रक्रियामा सहभागी नहुने देखिएको छ ।
उक्त पार्टीका वरिष्ठ नेता सिपी गजुरेलले विचार र सिद्धान्तमा कुरा नमिलेका कारण तत्कालका लागि आफ्नो पार्टीका केही नेता तथा कार्यकर्ता एकतामा गए पनि आफूहरु नजाने भनेर बताए ।
यद्यपि नेता रामबहादुर थापा भने पूरै पार्टीलाई एकता प्रक्रियामा ल्याउन आफू प्रयासरत रहेको बताउँदै बताएका छन् । यो समूहका अर्का नेता देवप्रसाद गुरुङ माओवादी एकता आजको प्रमुख आवश्यकता भएकाले त्यसमा बिलम्वको कुनै अर्थ नरहेको बताउँछन् ।
१२ बुँदे सहमति
गत २८ वैशाखमा ललितपुरको एक निजी निवासमा भएको बहुपक्षीय छलफलले एकताको लागि भन्दै १२ बुँदे प्रस्ताव अगाडि सारेको छ ।
त्यसमा विशेष गरी संविधानसभाबाट पारित भएको नेपालको संविधानमा रहेका सकारात्मक विषयलाई आत्मसात् गर्दै थप अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्ने, जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने उल्लेख छ । रासस