थप समाचारशनिबार, जेठ १, २०७३
बगरमै खेती
–कमल रिमाल, विराटनगर
अरूलाई जस्तै रंगेली–४ मोरङका छिदना मण्डललाई पनि नुनाबक्राहा खोलाको बगर बेकामे लाग्थ्यो। तर, अहिले भने उनी त्यही बगरमा तरबुजा, काँक्रो, लौकाको खेती गरेर ढुक्कले जीविका चलाइरहेका छन्।
तर, तीन वर्षअघिसम्म यस्तो थिएन। उनी बगरको दुई कट्ठामा मात्र तरबुजा लगाउँथे। जसोतसो घर–व्यवहार चलाउँथे।
गत वर्ष मण्डलले रु.४ लाखको तरबुजा मात्रै बेचे। “कमाइ हुने देखेपछि अरूको नाममा रहेको बगर पनि ठेक्कामा लिएको छु”, उनी भन्छन्। मण्डलकै छिमेकी श्रीप्रसाद मुखियाले १० कट्ठा बगरमा लगाएको तरबुजाबाट रु.१ लाख ५० हजार आम्दानी गरे।
गोविन्दपुर–७ का विनोदकुमार माझीले पनि बक्राहा खोला बगरमा काँक्रो, फर्सी फलाएका छन्। उनी भन्छन्, “मल नपुगेकाले सोचेजस्तो खेती भएन तर आँप जातिको काँक्राले भने फाइदै गर्यो।”
जिल्ला कृषि विकास कार्यालय, मोरङको सहयोगमा गैरसरकारी संस्था फरवार्ड नेपालले तीन वर्षअघि सुक्खायाममा बगर खेतीको अवधारणा अघि सारेको थियो। संस्थाका अनुसार, मोरङमा ७० हेक्टर बगरमा ३४५ किसानले खेती गरिरहेका छन्।
गत वर्षको बगर खेती ४० हेक्टरमा सीमित थियो। जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत काशीकुमार चौधरी अर्को वर्ष मोतीपुर, महादेवा, शिशवनी जहदा र मझारेको ५० हेक्टर बगरमा खेती गरिने योजना रहेको बताउँछन्।
बगर खेतीले आम्दानी मात्र होइन, खोलाले वर्षेनि कटान गर्ने खेतीयोग्य जमीन बचाउन पनि सहयोग गरिरहेको छ। “बालीमा लगाइएको मलले फैलिएको काँसले कटान रोक्न मद्दत गरिरहेको छ”, फरवार्ड नेपालका पूर्वाञ्चल संयोजक उत्तम अर्याल भन्छन्।
कृषि विकास कार्यालयका प्रमुख राजेन्द्र उप्रेती सबै बगरमा सिंचाइको व्यवस्था मिलाई खेती गर्न किसानलाई प्रेरित गरिरहेको बताउँछन्।