समाचारशनिबार, जेठ १, २०७३
वन-जङ्गल: डढेलोको प्रकोप
डढेलो नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम नचाल्ने हो भने वनक्षेत्र सखाप हुन सक्छ ।
बढ्दो तापमानले दक्षिण तथा पूर्वी एशियाको जनजीवन कष्टकर बन्दै गइरहेको छ। गर्मीले हरेक दिन मानिससँगै अन्य जीवजन्तुको मृत्यु भइरहेको छ। त्यसै पनि एक वर्षअघिको विनाशकारी भूकम्पले भौगोलिक नक्शामै फेरबदल गरिदिएका कारण साविकका पानीका मूल, तालतलैया सुकिरहेका छन्, नयाँ मूल फुट्न नसकेर पानीको संकट चुलिएको छ। खडेरीले बालीनाली सखाप बनेको छ।
यहीवेला डढेलोको प्रकोप देखिएको छ। सुन्दा सामान्य लागे पनि यो भयावह समस्या हो। तथ्यांक अनुसार, संसारमा जति वनजङ्गल तस्कर र अनधिकृत फडानीबाट विनाश हुन्छ, करीब त्यति नै परिमाणमा डढेलोबाट नष्ट हुन्छ।
अमेरिकी संस्था नेशनल एरोनोस्टिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को भूउपग्रहबाट सन् २००६–२०१६ सम्म खिचिएका तस्वीरहरूको अध्ययनबाट नेपालमा गएको ११ वर्षमा करीब १० लाख हेक्टर वन क्षेत्रमा डढेलो लागेको देखिन्छ। यो भनेको सिंगो नेपालको ७ प्रतिशत, नेपालको सम्पूर्ण वनको १९ प्रतिशत हो जो आकारमा भक्तपुर जिल्ला भन्दा ९० गुणा ठूलो हुन्छ।
यो अवधिमा सन् २००७ मा सबैभन्दा कम २२ हजार ८०० हेक्टर र सबैभन्दा बढी सन् २०१४ मा १ लाख ८० हजार ९०० हेक्टर वनलाई डढेलोले सिध्याएको थियो। नासाकै तस्वीर विश्लेषणमा चालू वर्ष सन् २०१६ को दुई महीना फेब्रुअरी र मार्चमा मात्रै ६६ हजार ३०० हेक्टर वन जलेको देखिन्छ। (हे.इन्फोग्राफिक्स)
डढेलोको क्रम सुक्खा महीनासँगै बढ्दै जान्छ र पानी पर्न थालेपछि रोकिन्छ। सामान्यतः फागुनदेखि शुरू हुने डढेलो चैत/वैशाखमा उग्र हुन्छ र जेठ/असारमा वर्षासँगै निभ्छ। हिउँदमा रूखका पात तथा हाँगा सुक्छन् र र्झ्छन्।
विस्तारै शीत पर्न छोड्छ र दिन तातो हुँदै जान्छ। यस्तो अवस्थामा कहिलेकाहीं चट्याङ, रूख, ढुंगा आदिको घर्षणबाट प्राकृतिक रूपमा नै आगो लाग्न शुरू हुन्छ। ननिभाई फालिएको चुरोट, वनभोज गएकाहरूको लापरवाही, खेतबारीमा मलको लागि बालेको आगो अनियन्त्रित हुने जस्ता समस्याले डढेलो लाग्ने गरेको छ। तर, कतिपय अवस्थामा वन तस्कर र शिकारीले नियोजित रूपमा पनि आगो लगाउँछन्। हावा बढी चल्ने यो मौसममा एक ठाउँमा लागेको आगो तुरुन्तै अर्को ठाउँमा फैलन्छ र नियन्त्रण गर्न गाह्रो हुन्छ।
हिमाल, पहाड, तराई सबैतिर डढेलो लाग्ने गरेको छ। डढेलोले क्षति पुर्याएको जंगलको कुल क्षेत्रफलमध्ये ५९ प्रतिशत तराईमा, ४० प्रतिशत पहाडमा र १ प्रतिशत हिमाली भागमा रहेको छ। राष्ट्रिय निकुञ्ज क्षेत्रका वरपर डढेलोको असर डरलाग्दो छ। चितवन राष्ट्रिय निकुञ्जमा मात्र फागुनदेखि वैशाखसम्ममा १६ हजार हेक्टर वनमा डढेलो लागिसकेको छ ।
डढेलोको असर
डढेलोबाट मुख्यतः बहुमूल्य जडीबुटी तथा काठपात नष्ट हुने, वनपैदावारको गुणस्तर घट्ने, जलेर सुकेका रूख र काठहरूको तस्करी बढ्ने, वनमा आश्रित जीवजन्तु मर्ने र बसाइँसराइ गर्ने जस्ता असर देखिन्छन्।
कतिपय लोपोन्मुख जीवजन्तुका बासस्थानमा आउने परिवर्तनले त्यस्ता जातिको निरन्तरता माथि नै प्रश्नचिह्न लाग्न सक्छ। डढेलो बस्तीमा पसी हरेक वर्ष ठूलो जनधनको क्षति समेत भइरहेको छ। डढेलोकै कारण वनमा सञ्चित कार्बन नष्ट भई तापमान बढ्ने, श्वासप्रश्वाससम्बन्धी समस्या निम्तिने विज्ञहरूको निष्कर्ष छ।
कतिपय विकसित देशहरूमा नियन्त्रित तथा व्यवस्थित डढेलो लगाएर निश्चित प्रकारका वन संरक्षण र सम्बर्द्धन गरिंदै आएको छ। यसो गर्दा जंगलमा सुकेका, मर्न लागेका, परजीवी तथा नसप्रने स–साना बुट्यान मासिन्छन्। खरानीले मलको काम गर्छ। वन फस्टाउँछ। तर, नियन्त्रित डढेलोबाट फाइदा लिन गतिलो योजना चाहिन्छ। बस्तीमै आगलागी हुँदासमेत नियन्त्रण गर्न कठिन भइरहेका वेला स्रोतसाधनको अभावमा नियन्त्रित डढेलो भनेको असम्भवप्रायः छ।
अग्नि रेखाको उपयोग
घना जंगल भएको ठाउँमा महीनौंसम्म डढेलो लागिरहन सक्छ। त्यसैले पनि डढेलोलाई तत्काल नियन्त्रण गरिहाल्नुपर्छ। अमेरिका तथा अन्य विकसित देशमा हेलिकप्टर दमकलको सहायताले आगो निभाएका प्रशस्त उदाहरण छन्।
कमजोर अर्थतन्त्र तथा जटिल भूगोलका कारण हामीकहाँ अहिलेको लागि डढेलो नियन्त्रणमा हेलिकप्टर दमकलको प्रयोग सम्भव देखिंदैन। तर, हेलिकप्टर नहुँदैमा डढेलो नियन्त्रण गर्न नसकिने भने होइन।
हाम्रा लागि अग्नि रेखाको प्रयोग डढेलो नियन्त्रणको उपलब्ध उत्तम विकल्प हो। डढेलो लागेको क्षेत्र वरिपरि नियन्त्रित डढेलो लगाउने कामलाई नै अग्नि रेखा भनिन्छ। यो रेखाले डढेलो लागेको र नलागेको वन क्षेत्र छुट्याउँछ।
यसले ठूलो ज्वालासहित लागेको डढेलो वनको बाँकी क्षेत्रमा फैलनबाट रोक्छ। हामीकहाँ स्याउलाले हानेर डढेलो नियन्त्रण गर्ने प्रचलन छ, जुन स–सानो डढेलोमा प्रभावकारी भए पनि ठूलो डढेलो नियन्त्रणमा त्यति प्रभावकारी हुँदैन।
समयमै ध्यान पुर्याउन सक्दा वर्षेनि लाग्ने डढेलो नियन्त्रण गर्न सकिन्छ। डढेलो सजिलै सल्किन र ठूलो मुस्लो भएर बढ्न सुकेका पात, घाँस, सल्ला र धुपीका रूखहरू सहायक रहन्छन्।
हिउँदको शुरूमै मंसीर, पुसतिरै यिनलाई वनको बीचबीचमा बाटो जस्तै गरी हटाउन सक्दा डढेलो नियन्त्रणमा सहजता हुन्छ। त्यस्तै सामुदायिक वन उपभोक्तासँग समन्वय गरी यस्ता अग्नि रेखाहरू बनाउन सक्दा डढेलोबाट करोडौंको काठपातसँगै जंगली जनावर र चराचुरुङ्गीको वासस्थान जोगाउन सकिन्छ।
(आईटीसी नेदरल्याण्ड्सबाट पीएचडी मिश्र र जापानमा पीएचडी गर्दै रहेका घिमिरेको अनुसन्धान क्षेत्र स्याटलाइट तस्वीर विश्लेषण सम्बन्धी हो।)
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
