थप समाचारशनिबार, जेठ १, २०७३
हात नधोए हानि
झाडापखाला र निमोनिया मात्र होइन, थुप्रै रोगको साझा समाधान हो– साबुनपानीले हात धुने बानी ।
– डा. सुमनराज ताम्राकार
विश्वभरका १९ प्रतिशत मानिस चर्पी प्रयोग गरेपछि वा बच्चाको डायपर फेरिदिएपछि मात्र हात धुने गर्छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर, यो तथ्य हो। सरसफाइमा ध्यान नपुर्याउँदा हुने यस्तै संक्रमणकै कारण झाडापखाला तथा निमोनियाले वर्षेनि करीब १७ लाख बालबालिकाले आफ्नो पाँचौं जन्मदिन मनाउन पाउँदैनन्।
संक्रमणबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै साबुनपानीले हात धुनु हो। एक अध्ययन अनुसार, दिनमा चारपटक साबुनपानीले हात धोएमा झाडापखालालगायत पेटका समस्या आधा कम र श्वासप्रश्वाससम्बन्धी समस्या एकतिहाइले नियन्त्रण गर्न सकिन्छ। साबुनपानीले हात धुने बानीको महत्व दर्शाउन १५ अक्टोबर सन् २००८ देखि वर्षेनि हात धुने दिवस मनाउने गरिएको छ। विश्व स्वास्थ्य संगठनले प्रत्येक ५ मेमा ‘हात सफा गरौं, ज्यान जोगाऔं’ भन्ने अभियान पनि चलाउँछ।
हात धुने तरीका
झाडापखालाको मुख्य स्रोत दूषित पानी मानिए पनि पछिल्लो समय हात धुने बानीको कमीले पनि समस्या थपिंदो छ। स्वाइन फ्लू, रुघाखोकी, झाडापखाला, बान्ता, श्वासनलीको समस्या, घाँटीको संक्रमण, हेपाटाइटिस ए, ई, जन्डिस (हेपाटाइटिस), टाइफाइडसँगै पेटका समस्याबाट मुक्ति पाउन हात धुनुलाई नै एउटा अचूक अस्त्र मानिएको छ। गत वर्ष पश्चिम अफ्रिकी मुलुकमा फैलिएको इबोला संक्रमण नियन्त्रणमा हात धुने अभियानले नै अहम् भूमिका खेलेको थियो।
कीटाणु फैलिने सबैभन्दा सहज माध्यम हात नै हो। बाहिरी सम्पर्कमा हुने हातबाटै कीटाणु शरीरमा पुग्छ। त्यसकारण, खासगरी कुनै पनि खानेकुरा खानु वा छुनु अघि, चर्पी प्रयोगपछि, नाक कोट्याएपछि, खोक्दा वा हाच्छिउँपछि, जन्तु छोएपछि बिरामी छुनुअघि र पछि हात धुनुपर्छ। पैसाको नोट र सिक्कामा पनि इ–कोलाई, साल्मोनेल्ला, टाइफाइड, माइक्रोव्याक्टेरियम, प्रोटोजोआ, इन्फ्लुएन्जा जस्ता थुप्रै हानिकारक जीवाणु हुन्छन्। त्यसैले पैसा खेलाएपछि राम्ररी हात धुनुपर्छ।
सामान्य पानी मात्रले हातमा टाँसिएका कीटाणु पखालिंदैनत्यसैले साबुनपानी चाहिएको हो। तर, धेरैलाई हात धुने समय र तरीकाबारे सही जानकारी छैन। हात धुँदा साबुनसँगै पानी पनि सफा हुनुपर्छ। नङ पनि काट्नुपर्छ। हात धुन विज्ञापनमा देखाइने जस्तो वा नुहाउने साबुन नै चाहिन्छ भन्ने छैन, जुनसुकै साबुन भए हुन्छ।
सफा पानीमा भिजाइएको दुवै हातमा पर्याप्त साबुन दल्नुपर्छ। दुवै हात आपसमा दल्दै औंलाका काप–कापसमेत सफा गर्नुपर्दछ। दायाँ बूढी औंलालाई बायाँ हातमा समातेर घुमाउँदै दल्नुपर्दछ।
मजाले हात पखालिसकेपछि सफा रुमालले पुछ्नुपर्दछ। यस्तो रुमाललाई सकेसम्म तातोपानीमा धोएर घाममा सुकाएको हुनुपर्छ।
राम्ररी हात धुन कम्तीमा २० सेकेन्ड चाहिन्छ। कीटाणु टाँसिएको हातको मैलो हटाउन तथा कीटाणुयुक्त हातको चिल्लोलाई साबुनले टुक्र्याउन नै १५ सेकेन्ड लाग्छ।
साबुन नभए…
आँखाले हेर्दा सफा देखिए पनि हातमा कैयौं सूक्ष्म जीवाणु हुन्छन्। त्यसैले धेरैजसो स्थितिमा अभिवादन गर्दा हात मिलाउनुको साटो नमस्कार गर्नु नै स्वस्थकर मानिन्छ।
माटो वा खरानीले हात धुँदा कीटाणु मर्ने तर्क पनि नसुनिने होइन। तर, साबुन नभएमा मात्र खरानी वा अल्कोहलयुक्त स्यानिटाइजर काम लाग्छ। तर यस्तो स्यानिटाइजरमा ६० प्रतिशत अल्कोहलको मात्रा हुनुपर्दछ। स्यानिटाइजरले सबैखाले कीटाणु हटाउन नसके पनि धेरै कीटाणु मार्छ। क्लोरहेक्जिडिनयुक्त स्यानिटाइजर पनि प्रयोग गर्न सकिन्छ।
अस्पतालमा, दैवी प्रकोपका वेला पटक–पटक हात धुनु सम्भव नहुन सक्छ। यस्तो अवस्थामा खल्तीमै अट्ने स्यानिटाइजर उपयुक्त विकल्प हुनसक्छ।
हात धुने बानीको प्रभावकारी विकासका लागि बालबालिकामै यस्तो अभ्यास गराउनुपर्छ। विद्यालय तथा कलेजमै चर्पी जस्तै वेग्लै हात धुने थलो बनाइनुपर्छ। स्वास्थ्य समस्या कम गर्न अभिभावक, शिक्षक उत्तिकै सचेत हुनुपर्छ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
