समाचारआइतबार, जेठ २, २०७३
संगठित अपराधका ८ अभियुक्त पक्राउ

तस्वीर: दीपक ज्ञवाली
रुपन्देहीमा लामो समयदेखि हत्या, अपहरण, असुली, तस्करी र लागू औषधको ओसारपसारमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त गिरोह रुपन्देहीका विभिन्न ठाउँमा द्वन्द्वकालदेखि नै अर्धभूमिगत शैलीमा सक्रिय रहेको प्रहरीले जनाएको छ ।
उनीहरु रुपन्देहीमा अपराध गरेर काठमाडौं, पोखरा, बारा लगायतका ठाउँमा बस्दै आएका थिए ।
पक्राउ पर्नेमा रुपन्देही देवदहका शालिकराम चापागाई, राजेन्द्र धमेल, उर्गेन गुरुड., मिलन भन्ने चित्रबहादुर गुरुड., बेनीराम सोमै र रवि केसी छन् ।
त्यसैगरी नवलपरासी सुनवलका शिरिष अजय भनिने ऋषिराम भुषाल, कास्की पुरनचौरका सन्जोग नेपालीलाई पनि प्रहरीले पक्राउ गरको छ । उनीहरुबाट २ वटा मोटरसाइकल, रु १ लाख ३ हजार, पेस्तोलमा प्रयोग हुने गोली २ राउण्ड, लागू औषध ब्राउन सुगर ५२.५ ग्राम, अपराधमा प्रयोग भएका २५ वटा एनसेल, ४ वटा एनटिसी र २ वटा भारतीय गरी ३१ वटा सिमकार्ड र ११ वटा मोवाइलसमेत बरामद भएको छ ।
अपराधमा संलग्न सबैलाई संगठित अपराध निवारण ऐन र लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाएर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यसअघि पनि विभिन्न अपराधमा संलग्न भएका शालीकराम चापागाई र अजय शिरिषलाई भने हातहतियार खरखजाना ऐन र मुलुकी ऐनको ज्यान मार्ने कसुर अन्तर्गत कार्वाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताए ।
लुम्बिनी अञ्चल प्रहरी र रुपन्देही जिल्ला प्रहरी लगायतको समन्वयमा ३ महिनाको अनुसन्धानपछि प्रहरीले अभियुक्तहरु पक्राउ गरेको हो ।
दीपक ज्ञवाली, बुटवल
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
