अन्तर्वार्ता/विचारसोमबार, जेठ ३, २०७३

एनसेलका प्रवन्ध निर्देशकसँगको अन्तर्वार्ता

हिमालखबर

Simonपूँजीगत लाभकर छल्न खोजेको आरोपमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल चर्चामा छ । शुरुमा कारोबार विदेशमा भएको देखाएर रु.३४ अर्बभन्दा बढी लाभकर नतिर्न खोजेको भनिएको एनसेलले २६ वैशाखमा आफैंले लाभकर घोषणा गरी १५ प्रतिशत भन्दै रु.९ अर्ब ९६ करोड ९५ लाख बुझायो । तर, एनसेलको नियतमाथि शंका सकिएको छैन । एनसेलमाथि लाभकरबापत तिर्नुपर्ने रु.३४ अर्बको आधाभन्दा कम रकम नतिर्ने षड्यन्त्रमा लागेको आरोप लागेको छ ।

एनसेल कर प्रकरणमा ऊ आफू मात्र बदनाम बनेन, राजनीतिक नेतृत्व, संसदीय समिति र कर्मचारीतन्त्र पनि विवादमा तानिए । तर, यसअघि सामान्य आरोपमै पनि सार्वजनिक रुपमै धारणा राखिहाल्ने एनसेल लाभकरको सम्पूर्ण प्रक्रियामा भने आश्चर्यजनक रुपमा मौन बस्यो ।

विवादको यो बिन्दुमा हिमाल ले एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्ससँग कुराकानी गरेको छ । तर, अन्तर्वार्ताकै क्रममा सोधिएको, “अहिलेको एनसेल कुनै बेलाको स्पाइस नेपाल कम्पनीकै विकसित स्वरुप हो । भारतीय लगानीकर्ता मोदी कर्पका प्रतिनिधिबाट केही व्यक्तिले जबर्जस्ती स्पाइस नेपालको स्वामित्व हत्याएको चर्चा उतिबेलै चुलिएको थियो । के अहिले पनि एनसेलले स्पाइस नेपालले भोगे जस्तै नियति भोग्नु परेको हो ?” को जवाफ भने पर्किन्सले दिएनन् । उनीसँगको इमेल वार्ताको सम्पादित अंशः

सामाजिक सञ्जालदेखि मूलधारका मिडियासम्म छाएको एनसेल लाभ कर प्रकरणलाई कसरी हेर्नुभएको छ ?
एनसेल नेपालमा माया पाएको ठूलो ब्रान्ड हो । टेलियाको उल्लिखित स्वामित्व हस्तान्तरण ऐतिहासिक रुपमा ठूलो कर्पोरेट कारोबार हो । त्यसैले यो कारोबारबारे व्यापक चर्चा हुनु स्वाभाविक हो । जब हामी अग्रिम करबारे दिइएको निर्देशनबारे ठूला करदाता कार्यालयसँग संवादमा थियौं, एकतर्फी रुपमा प्रवाहित गलत सूचना र विचारले जनमानसमा भ्रम सृजना भयो । तर मलाई विश्वास छ अहिले बाहिर आइरहेका सत्यतथ्यले सारा भ्रम चिर्नेछ ।

तर, यो विषय उछालिनुमा कमजोरी त तपाईंहरूकै छ, होइन र ?
टेलियासोनेरा (हाल टेलिया कम्पनी) र एक्सियटाबीचको यो कारोबारमा रेनल्ड्स् होल्डिङ्गस्को १०० प्रतिशत शेयर खरीद बिक्री भएको हो । यसमा एनसेलको शेयर कारोबार भएको होइन । एनसेलको शेयर खरीद बिक्रीमा निरजगोविन्द श्रेष्ठले आफ्नो २० प्रतिशत शेयर सुनिभेरा क्यापिटल भेञ्चरलाई बेचेका हुन्, जस बापत १५ प्रतिशत अग्रिम कर दाखिला भइसकेको छ । लाभकर लाग्ने अवस्थामा त्यसको जिम्मेवारी बिक्रेताको रहन्छ । रेनल्ड्स् होल्डिङ्गस्को खरीद बिक्रीमा आफ्नो कुनै संलग्नता नरहेकोले एनसेलसँग त्यसको विवरण हुने कुरै भएन । तथापि ठूला करदाता कार्यालयको पत्राचारपछि बिक्रेतासँग सकारात्मक रुपमा सम्बोधन गर्न एनसेलले कर कार्यालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिबद्धता अनुरुप एनसेलले आफू कारोबारमा संलग्न नभए पनि कर कार्यालयको निर्देशन बमोजिम तोकिएको समयभित्रै बिक्रेताको तर्फबाट लाभको हिसाब गणना गर्ने र बिक्रेताको तर्फबाट अग्रिम कर दाखिला गर्ने जवाफ दिएको र आफ्नै प्रयासबाट सार्वजनिक रुपमा उपलब्ध टेलिया नर्वेको अडिटेड वित्तीय विवरण, जसले उसको लगानीबारे प्रकाश पारेको छ, प्राप्त गरी आफ्नो प्रतिबद्धता पूरा गरेको छ ।

तपाईंहरूले रु.९ अर्ब ९६ करोड ९५ लाख सरकारलाई बुझाएपछिको लाभकर प्रकरणको पछिल्लो अवस्था के हो ?
ठूला करदाता कार्यालयको निर्देशन बमोजिम हामीले उपलब्ध लाभको विवरणको आधारमा तथा लाभकर बापतको १५ प्रतिशत अग्रिम कर दाखिला समयमै गरिसकेका छौं । एनसेललाई दिइएको निर्देशन कम्पनीले पालना गरेको छ ।

रु.१० करोडमा स्थापना भएको एनसेलको ८० प्रतिशत शेयर कारोबारमा रु.१३६ अर्ब ४० करोड पूँजीगत लाभ भएको भन्ने कुरा बाहिर आयो । त्यसबापत एनसेलले २५ प्रतिशतका दरले रु.३४ अर्ब १० करोड पूँजीगत लाभकर तिर्नुपर्ने आम बुझाइ बन्यो । र, तपाईंहरूले अहिले स्वयं कर घोषणा गर्दै १५ प्रतिशत बापत रु.९ अर्ब ९६ करोड ९५ लाख मात्र तिर्नुभयो । जबकि कुल पूँजीगत लाभको १५ प्रतिशत पनि रु.२० अर्ब ४६ करोड हुनुपर्ने हो । यत्रो अन्तर कसरी भयो ?
रेनल्ड्स् होल्डिङ्गस्को खरीद बिक्रीमा एनसेलको कुनै संलग्नता नभएको मैले पहिल्यै भनिसकें । त्यसैले एनसेलसँग कारोबारको विवरण हुने कुरै भएन, न त हामीसँग टेलियासोनेराले रेनल्ड्स् खरीद गरी पहिलो पटक एनसेलमा प्रवेश गर्दाका बखतको लगानी व्यय र त्यसपश्चात् रेनल्ड्स्मा गरेको लगानी आदिको जानकारी नै छ ।

लाभ भएको अवस्थामा लाभकरको सम्पूर्ण दायित्व बिक्रेताको रहन्छ । त्यसैले त्यसको विवरण (गणना) पनि बिक्रेताबाटै आउनुपर्छ । तथापि जिम्मेवार कर्पोरेट इन्टिटीको नाताले एनसेलले ठूला करदाता कार्यालयसँग सहकार्य गर्ने सहमति जनाउँदै बिक्रेताको तर्फबाट नेपालको कम्पनी रजिष्ट्रारको कार्यालय जस्तै नर्वेको बिजनेस रजिष्ट्रारको कार्यालयबाट टेलिया नर्वेको सार्वजनिक रुपमा उपलब्ध अडिटेड आधिकारिक वित्तीय विवरण लिई लाभको हिसाब गरेका हौं । र, त्यसैको आधारमा समयमै अग्रिम कर दाखिला गरिसक्यौं ।

अहिले एनसेलको व्ययभार धेरै भएको र त्यही कारण ८० प्रतिशत शेयर कारोबारको अंक ठूलो भए पनि पूँजीगत लाभ भने कम भएको चर्चा पनि चलाइएको छ । वास्तविकता के हो ?
यो चर्चामा सत्यता छैन । लाभकर बिक्रेताले शेयर बिक्री गर्दा प्राप्त गरेको विशुद्ध नाफामा लाग्ने कर हो । यसमा बिक्री गरिएको कम्पनी (रेनल्ड्स् होल्डिङ्गस्) ले गरेको आयव्यय समाविष्ट हुँदैन । त्यसैले हामीले टेलिया नर्वेको वित्तीय विवरणका आधारमा लाभ गणना गरेका हौं । यो गणनामा बेचिएको कम्पनीले गरेको व्यय संलग्न छैन ।

यदि व्ययभार ज्यादा भएकै कारण कम लाभकर तिर्नुपर्ने तर्क गरिने हो भने पनि रु.५७ अर्बभन्दा बढीको मुनाफा त थन्किएरै बसेको छ । यस्तो अवस्थामा पूँजीगत लाभ यति थोरै त नहुनुपर्ने होइन र ?
रेनल्ड्स् होल्डिङ्गस्को खरीद बिक्रीमा एनसेलको संलग्नता नै नरहेकाले यससँग सम्बन्धित लाभकरबारे एनसेलको धारणा हुने कुरै भएन । जुन नाफाको कुरा तपाईंले गर्नुभयो त्यो कम्पनीले विगतका वर्षहरूको कारोबारबाट सरकारलाई तिर्नुपर्ने सबै करहरू तिरेपछिको मुनाफा हो । यो नियमित आयकर अन्तर्गतको विषय हो, पूँजीगत लाभकरमा पर्दैन ।

एनसेलले ठूला करदाताको कार्यालयलाई आफू बिक्रेता नभएको पत्र पठाउँदै पूँजीगत लाभ ८० प्रतिशत शेयर बेच्ने टेलियासोनेराले गरेको र उसैले लाभकर तिर्नुपर्ने बताएको भन्ने कुरा पनि बाहिर आयो । २० वैशाखमा एनसेलले टेलियासोनेरासँग कुरा गर्ने भन्दै ठूला करदाताको कार्यालयसँग ९० दिनको समय मागेको थियो । अचानक कस्तो परिस्थिति आइप¥यो र तपाईंहरू आफैं कर तिर्न जानुभयो ?
बुझ्नुपर्ने कुरा के हो भने टेलियासोनेराले रेनल्ड्स् होल्डिङ्गस्मा रहेको आफ्नो १०० प्रतिशत स्वामित्व बिक्री गरेको हो । रेनल्ड्स्, एनसेलको ८० प्रतिशत शेयरको धनी हो, र एनसेल यो कारोबारमा संलग्न छैन । शेयर बिक्रीबाट लाभ भएको छ भने त्यसको जानकारी दिने दायित्व शेयर बिक्रेताको हो भन्नेमा दुईमत छ जस्तो लाग्दैन ।

सम्पूर्ण कारोबारमा एनसेलको कुनै संलग्नता नरहेको र कारोबारको दौरान एनसेलले न त कुनै भुक्तानी दिएको न प्राप्त गरेको छ । एनसेलसँग यो कारोबारसँग सम्बन्धित कुनै पनि विवरणहरू छैन, न त एनसेलसँग टेलियासोनेराले रेनल्ड्स् होल्डिङ्गस् खरीद गर्दाको लगानी आदिको विवरण नै छ । यस्तो अवस्थामा ठूला करदाता कार्यालयबाट आएको निर्देशन परिपालन गर्न टेलियासोनेराबाट विवरण लिई निकाल्नुपर्ने भएकोले नै हामीले असार मसान्तसम्मको थप समय मागेका थियौं । तर करदाताको कार्यालयले थप समय दिन अस्वीकार गरेपछि एनसेलले सार्वजनिक डोमेनबाट प्राप्त आधिकारिक विवरण प्राप्त गरी त्यसैको आधारमा समयभित्रै अग्रिम कर दाखिला गर्‍यौं ।

अहिले टेलियासोनेराले करको रकम बेहोर्न तयार भएको हो या एनसेलको स्वामित्व लिएपछि एक्सियटा आफैं कर तिर्न अघि सरेको हो ?
टेलियासोनेराले ठूला करदाताको कार्यालयको लाभकर सम्बन्धी पत्रलाई कसरी रेस्पोन्स गरिराखेको छ त्यसबारे म केही भन्नसक्ने अवस्थामा छैन । एनसेलले भने ठूला करदाताको कार्यालयबाट आएको निर्देशन पालना गरिसकेको छ ।

लाभकर प्रकरणमा निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि दाग लाग्यो । तर, उन्मुक्ति भने पाएन । शुरुमै कर घोषणा गरेर दाग लाग्नबाट कम्पनी किन जोगिन सकेन ?
यो सम्पूर्ण कारोबारमा एनसेलको संलग्नता भनेको एनसेलको २० प्रतिशत स्वामित्वको बिक्री हो, जसमा निरजगोविन्द श्रेष्ठले आफ्नो स्वामित्वको एनसेलको शेयर सुनिभेरालाई बेचेका थिए । यो कारोबारमा कानून बमोजिम एनसेलले समयमै १५ प्रतिशत अग्रिम कर प्राप्त गरी कर कार्यालयमा दाखिला गरिसकेको छ ।

यो प्रकरण यसरी छताछुल्ल हुनुमा लाभकर नै सम्पूर्ण कारण हो या अन्य कारण पनि रहेको पाउनुहुन्छ ?
म पुनः स्पष्ट पार्न चाहन्छु कि रेनल्ड्स् होल्डिङ्गस्को स्वामित्व खरीद बिक्रीमा एनसेलको संलग्नता छैन । यो कारोबारमा लाभ भएको छ भने त्यसको दायित्व शेयर बिक्रेताको हो ।

एनसेलले करदाताको कार्यालयसँग सहकार्य गरिरहेको छ र निर्देशन बमोजिम लाभको हिसाब गर्ने तथा अग्रिम कर पनि दाखिला गरिसकेको छ । सम्पूर्ण कारोबारमा संलग्न नै नभएकाले एनसेलविरुद्ध अभियान संचालन गरिनु जायज र न्यायसंगत छैन । हामी यो दुखद् प्रकरण यहीं छाडेर नेपाली जनतालाई सुलभ रुपमा उत्कृष्ट सेवा प्रदान गर्ने दिशामा अघि बढ्न चाहन्छौं ।

यही कर प्रकरणलाई लिएर तपाईंहरू आफूसँग असम्बद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई समेत भेट्न पुग्नुभयो । भेटको उद्देश्य के थियो ?
नेपालका नियामक निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग शिष्टाचार भेट गर्ने क्रममा भएको भेटबारे तपाईंले कुरा गर्नुभयो । यी भेटघाट अहिलेको परिस्थिति तथा अन्य कुनै पनि कुरासँग सम्बन्धित छैनन् ।

सुनिएअनुसार, टेलियासोनेराबाट एक्सियटामा एनसेलको स्वामित्व हस्तान्तरण हुँदै गर्दा नेपालका केहीले एक्सियटासँग शेयर माग गरेका थिए ?
टेलियासोनेराले यो कारोबारमा रेनल्ड्स् होल्डिङ्गस्को शेयर बिक्री गरेको हो । तपाईंले भन्नुभएको कुरा एनसेलको २० प्रतिशत शेयरको बिक्रीमा हो । स्थानीय व्यक्ति तथा कम्पनीहरूले यो २० प्रतिशतमा रुचि देखाएको हामीले पनि सुनेका हौं । एनसेल जस्तो राम्रो कम्पनीमा लगानी गर्न इच्छुक हुनु स्वाभाविकै हो ।

एक्सियटाले अर्को कम्पनीलाई एनसेल बेचेर हिंड्न सजिलो होस् भनेर सोझै एनसेल खरीद नगरी बेलायतमा कम्पनी खोलेर त्यसमार्फत एनसेलको स्वामित्व किनेको तर्क पनि एकथरीको छ । सत्य के हो ?
हाम्रो सम्पूर्ण कारोबारको संरचना स्थानीय तथा अन्तर्राष्ट्रिय कानूनबमोजिम गरिएको छ ।

पनामा पेपर्स काण्डबाट पछिल्लो समय शेल कम्पनी चर्चामा छ । टेलिया कम्पनीको रेनल्ड होल्डिङ्स र टेलियासोनेरा नर्वे नेपाल पनि शेल कम्पनी हुन् । फेरि एक्सियटा ग्रुप बर्हादले बेलायतमा एक्सियटा इन्भेष्टमेन्ट युके लिमिटेड स्थापना गरेर एनसेलमा ८० प्रतिशत स्वामित्व भएको रेनल्ड होल्डिङ्स किनेको हो । सोझै एनसेल नकिनेर यसरी शेल कम्पनी वा विभिन्न तहमा कम्पनी सिर्जना गरी एनसेल किन्नुको उद्देश्य के हो ?
हाम्रो सम्पूर्ण कारोबारको संरचना स्थानीय तथा अन्तर्राष्ट्रिय कानूनबमोजिम गरिएको छ ।

एनसेलले पूँजीगत लाभकर बाहेक सम्पत्तिको कर, स्वामित्व कर लगायतका कर पनि नतिरेको सुनिन्छ । कुरा के हो ?
त्यो गलत हो । एनसेलले सुशासनको उच्च मापदण्ड अभ्यास गर्दै कर दायित्व पूरा गरेको छ । यो कम्पनी नेपालको सबभन्दा ठूलो करदाता पनि हो र यसले हालसम्म राज्यको ढुकुटीमा रु.१२९ अर्ब योगदान गरेको छ । आर्थिक वर्ष २०६९÷७० र २०७०÷७१ का लागि सरकारबाट ठूला करदाताको सम्मान पनि पाएको छ । हामी यो सम्मानको कदर गर्छौं र कर दायित्वको पालनामा प्रतिबद्ध छौं ।

सामाजिक सञ्जालमा ‘नो ट्याक्स नो एनसेल’ भन्नेसम्मको अभियान चले । राजनीतिक दलका कार्यकर्ताले एनसेलविरुद्ध कार्यक्रम गरे । तपाईंलाई कस्तो लागेको छ ?
रेनल्ड्स्‌को शेयर कारोबारमा कहीं कतै संलग्न नभएकोले यी अभियानले एनसेलमाथि न्याय गरेको छैन ।

एक्सियटाले नेपालमा टेलिकम बजारको कस्तो संभावना देखेर एनसेलको स्वामित्व लिएको हो ?
एक्सियटा दक्षिण एशिया तथा दक्षिण पूर्वी एशियाली बजारमा केन्द्रित रहँदै आएको छ । रणनीतिक दृष्टिकोणबाट भन्नुपर्दा नेपालसँगै हाम्रो कभरेजले दक्षिण एशियाली बजारमा पूर्णता पाएको छ, जसअन्तर्गत श्रीलंकाको डायलग, बंगलादेशको रोबी र भारतको हाम्रो एसोसियट कम्पनी आइडिया पर्दछन् ।

५१ प्रतिशत युनिक ग्राहकको मोबाइल घनत्व रहेको नेपालमा सन् २०१२ देखि २०१४ का बीचमा मोबाइल प्रयोगकर्ता औसत १८ प्रतिशतको दरले वृद्धि भएको छ । दुई करोड ८० लाख जनसंख्या भएको देशमा करीब ६८ प्रतिशत जनसंख्या ३५ वर्ष मुनिका छन् । यो बजार नयाँ र चलायमान छ । कारोबारका हिसाबले बजारको ५७.५ प्रतिशत हिस्सा ओगटेको एनसेल नेपालको नम्बर एक मोबाइल सेवा प्रदायक कम्पनी हो र ग्राहकका हिसाबले यसले ४८.८ प्रतिशत बजार हिस्सा ओगटेको छ । एनसेलले यहाँ थुप्रै कुरा गर्न सक्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>