समाचारसोमबार, जेठ ३, २०७३
गोरखामा सात हिउँ चितुवा संरक्षित
उत्तरी गोरखाको छेकम्पार र सामागाउँमा सातवटा हिउँ चितुवा संरक्षित रहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जानकारी दिएको छ ।
एमक्यापले हालै गरेको प्राविधिक अध्ययनबाट हिउँ चितुवा संरक्षित रहेको पाइएको हो ।
एमक्यापका प्रमुख राजकुमार गुरुङका अनुसार लोपोन्मुख हिउँ चितुवा संरक्षणका लागि समुदायमा आधारित सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको छ । हिउँ चितुवाको आहारा (खाना)का प्रजातिबारे पनि अध्ययन गरिएको भन्दै उनले स्थानीयवासीलाई प्राविधिक ज्ञान दिएर जिपिएस उपकरण चलाउन सक्ने बनाउने बताए ।
“पन्ध्रवटा जिपिएस स्थानीयवासीलाई वितरण गरेका छौँ”, उनले भने – “हिउँ चितुवा पहिचान गरी संरक्षण गर्नु स्थानीयवासीको पनि दायित्व हो ।”
समुद्री सतहदेखि तीन हजार ५०० मिटर माथिका क्षेत्रमा हिउँ चितुवाको वासस्थान छ । गोरखामा १७ वटासम्म हिउँ चितुवा रहेको अनुमान गरिए पनि गणनाको क्रममा सातवटा मात्र भेटिएका हुन् ।
नेपालमा ३०० देखि ५०० को सङ्ख्यामा हिउँ चितुवा रहेको बताइन्छ । हिउँ चितुवा आहारको खोजी गर्दै वासस्थानदेखि ३० देखि ४० वर्ग किमी दूरीसम्म पुग्ने संरक्षणकर्मीहरु बताउँछन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
