समाचारसोमबार, जेठ ३, २०७३
प्रधानमन्त्रीलाई तमासा हेर्ने शोख छ भने भोलि देखाउँछौं: महतो
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित सिंहदरबार घेराउ कार्यक्रमलाई तमाशा भनेकोमा सद्भावना अध्यक्ष राजेन्द्र महतोले कडा आपत्ति जनाएका छन्।
सिंहदरबार दक्षिणी गेट तिर धर्नाको नेतृत्व गरिरहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनलाई कम नआंक्न भन्दै आन्दोलनका माग प्रति गम्भीरता देखाउन आग्रह गरे ।
“प्रधानमन्त्रीले हाम्रो आन्दोलनलाई तमासा भन्ने हो ? के ठान्नु हुन्छ ओलीजी आफूलाई ?” आक्रोशित हुंदै महतोले भने, “सारा पावर उहाँसंगै छ। अनि केको घुर्की देखाएको होला? हिम्मत छ भने आन्दोलनकारी माथि कार्रवाही गरेर देखाउनुस्।”
प्रधानमन्त्री ओलीले पहिलेदेखि नै आन्दोलनको मजाक उडाएको भन्दै उनले समस्या समाधानका लागि सरकार गम्भीर नरहेको आरोप लगाए ।
“प्रधानमन्त्रीलाई तमासा हेर्न शौख छ भने भोलि हामी बालुवाटारमा यो तमासा देखाउने छौं, हिम्मत भए कार्वाही गरुन,” महतोले भने ।