समाचारसोमबार, जेठ ३, २०७३

गठबन्धनको आन्दोलनमा सहभागी बेलायती पक्राउ

हिमालखबर

सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा र फेटासहित उपस्थित भएका एक बेलायती नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंका प्रजिअ रामकृष्ण सुवेदीका अनुसार पक्राउ परेका उनले आफ्नो नाम मार्टिन पेवर भएको बताएका छन् । ती बेलायतीले राहदानी पाटनमा आफू बस्ने ठाउँमा भएको बताएकाले थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

केही दिनअघि नेपालका सम्बन्धमा अनावश्यक टिप्पणी गरेको भन्दै क्यानाडेली रोवर्ट पेनरलाई अध्यागमन विभागले प्रवेशाज्ञा खारेज गर्दै दुई दिनभित्र देश छोड्न निर्देशन दिएको थियो । सोही आधारमा ती नागरिकले नेपाल छाडेका थिए । सिंहदरबारको हनुमानथान र माइतीघर मण्डलमा २९ दलीय सङ्घीय गठबन्धनले आयोजना गरेको आन्दोलनमा युरोपेली मुलुकका जस्ता देखिने केही विदेशी समेत सहभागी रहेको भेटिएको थियो ।

आन्दोलनमा सहभागी विदेशीलाई कारबाही
सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा, ब्यानर र फेटासहित उपस्थित भएका विदेशीलाई सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले आइतबार र सोमबार आन्दोलनका क्रममा केही विदेशीको समेत संलग्नता भएको सूचनाका आधारमा मन्त्रालयले अनुसन्धान अगाडि बढाएको जानकारी दिए । उनले भने “आन्दोलनमा सहभागी हुनु अध्यागमन कानुन विपरीत हो । ”

एक किसिमको प्रवेशाज्ञामा आएर आन्दोलनमा सहभागिता जनाउनु गम्भीर भएको बताउँदै प्रवक्ता कोइरालाले उनीहरुलाई प्रवेशाज्ञा खारेजसम्मको कारबाही हुन सक्ने बताए ।

आन्दोलनमा सहभागी भएकाहरुको तस्बिरका आधारमा खोजी भइरहेको उनले बताएका छन् ।

आन्दोलनमा केही दातृ निकायको समेत सहयोग रहेको आशङ्कामा छानबिन भइरहेको छ । संविधानका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै मधेशी, आदिवासी जनजाति सम्बद्ध दलहरु आन्दोलनमा छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>