रमझमसोमबार, जेठ ३, २०७३
कमर्सियलले मात्रै संगीतको उत्थान हुँदैनः झुमा लिम्बु
गायिका झुमा लिम्बूले जाति विशेषका गीतले समाजलाई विभाजित गर्ने नभई नेपाली संगीतमा ओज थप्ने बताएकी छन् ।
जेठ १ मा ललितपुरको बखुण्डोलस्थित ‘नेक्सस कल्चर नेपाल’ मा आयोजित ‘मुच्र्छना संगीत शृंखला’ मा बोल्दै उनले आफ्नो अनुसन्धानात्मक गीति–अल्बम ‘मुन्धुम’ निकाल्दाको अनुभव पनि सुनाइन् ।
“हामी संगीतकर्मी साह्रै बुद्धु हुन्छौं”, उनले भनिन्, “लेख–पढ र अध्ययन–अनुसन्धानबारे मतलबै हुँदैन ।”
कमर्सियल गीतले मात्रै नेपाली संगीतको उत्थान नहुने बताउने उनले अगाडि भनिन् “सँधैभरि अरूबाटै प्रभावित भइरहने हो भने हाम्रो संगीत कतिञ्जेल बाँच्ला ?, मौलिकता बचाउन र लोपोन्मुख भाकाको प्रवद्धनका लागि पनि लोक संगीतमा अनुसन्धान आवश्यक छ ।”
लिम्बू संगीतबारे जानकारी बटुलेर अल्बम निकाल्न उनले करिब ६ वर्ष पूर्वी नेपालका कुना–कन्दरा चहारेकी थिइन् ।
लिम्बू पुरेहित– फादेङ्मा, साम्बा र येबाले कुन भाकामा गाउँछन्, उच्चारण कस्ता हुन्छन्, कुन बाजा प्रयोग गर्छन् भन्ने पत्तो लाइसकेपछि झुमाले कवि विक्रम सुब्बा, साहित्यकार डा. गोविन्द भट्टराई, अभि सुवेदी, संकृतीविद् सत्यमोहन जोशी आदिसँग मुन्धुम संगीत र संस्कृतिबारे थप बुझेको बताइन् ।
अब सुदुर पश्चिमको संगीत संस्कृति बुझ्न जुम्ला जाने सोच बनाएको भन्दै उनले नेपाली संगीतमा अनुसन्धान र साहित्य थप्न आफू आजिवन लागिपर्ने बाचा गरिन् ।
“अब मैले भेउ पाइसकेँ”, उनले भनिन्, “त्यसैले जानेको कामलाई निरन्तरा दिँदै अन्य इच्छुकलाई पनि तरिका सिकाउन लालायित छु ।”
मुच्र्छना संगीत शृंखलासँगै अलग अभियान र बुकाहोलिक्सले कार्यक्रमको आयोजना गरेका थिए ।
सजना बराल