अन्तर्वार्ता/विचारमंगलबार, जेठ ४, २०७३

फिफाको निर्देशन मान्नुको विकल्प छैन: कर्मा छिरिङ्

हिमालखबर

अन्तर्राष्ट्रिय फूटबल महासंघ (फिफा) ले १० जेठभित्र पुनर्वहाली गर्न निर्देशन दिएका अखिल नेपाल फूटबल संघ (एन्फा) का तीन उपाध्यक्षमध्येका कर्मा छिरिङ शेर्पा भन्छन्, “असहमत साथीहरूसँग छलफल गरी सामूहिक निर्णय लिन्छौं।”

tseringएन्फाले लगातार तीनपटकसम्म बैठकमा अनुपस्थित भएकोले तपाईंहरूमाथि विधानसम्मत कारबाही गरेको भनेको थियो। तर, फिफाले पुनर्वहालीको निर्देशन दियो। भएको के थियो?
पहिलो त तीन पटकसम्म बैठकमा अनुपस्थित भन्ने नै सत्य होइन। पहिलो बैठक विना अजेण्डा बोलाइएकाले हामीले बहिष्कार गरेका हौं। दोस्रो बैठक हामीलाई कारबाही गर्न बोलाइएको थियो। तर, त्यसअघि नै संसद्को सार्वजनिक लेखा समितिले उजुरीकर्तालाई कारबाही नगर्नु भन्ने निर्देशन दिएको थियो। तेस्रो बैठकमा त बोलाइएन नै। फिफाको पुनर्वहालीको निर्देशनले हामीमाथिको कारबाही गलत थियो भन्ने पुनः प्रमाणित भएको छ।

पुनर्बहाली नगरिए के गर्नुहुन्छ?
फिफाले मसहित विजयनारायण महर्जन, किशोर राई र पंकजविक्रम नेम्वाङलाई पुनर्वहाली गर्न र १० वर्षे प्रतिबन्धमा परेका गणेश थापाको ठाउँमा विशेष साधारणसभा गरेर नयाँ नेतृत्व ल्याउन निर्देशन दिएको हो। यो निर्देशन मान्नुको विकल्प छैन। कथंकदाचित मानिएन भने फिफाले एन्फा ‘नर्मलाइजेसन’ गरेर ६ महीनाका लागि अर्को समिति गठन गर्छ।

आउँदो विशेष साधारणसभामा के गर्नुहुन्छ?
असहमत साथीहरूसँग छलफल गरी सामूहिक निर्णय लिने प्रयत्न गर्नेछु। एन्फाको अधिकार विकेन्द्रीकरण गर्ने वेला आएको छ।

गणेश थापा र तपाईंहरूको विवाद नेपाली फूटबलको विकासमा बाधक बन्यो भनियो भने गलत हुन्छ?
फूटबल विकासको बाधक म्याचफिक्सिङ, भ्रष्टाचार र अपारदर्शिता हो भन्ने प्रमाणित भइसक्यो। हामीले यसको विरोध गर्दा तत्काललाई तपाईंले भने जस्तै विवाद देखिएको साँचो हो। तर, मेरो असहमति फूटबलको दीर्घकालीन हितमै थियो, र छ।

बंगबन्धु कप र साफ जितेर आएको राष्ट्रिय टोली प्रतियोगिताविहीन छ। के गर्नुहुन्छ?
पुनर्वहालीपछि राष्ट्रिय टोलीलाई तालीम र मैत्रीपूर्ण खेलमा व्यस्त राख्न पहल गर्छु। गाउँ–गाउँसम्म एकेडेमी स्थापना गरेर तल्लो तहबाटै खेलाडी उत्पादन र व्यावसायिक लीग सञ्चालन गर्नुपर्दछ। खेलाडी र क्लब दुवै व्यावसायिक नभएसम्म राष्ट्रिय टीम बलियो हुँदैन।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>