समाचारमंगलबार, जेठ ४, २०७३
बेवारिसे शव : व्यवस्थापनको सास्ती
स्थानीयले जमीन नदिएपछि बुटवलमा बेवारिसे शव व्यवस्थापनको नयाँ समस्या देखा परेको छ।
आर्थिक वर्ष २०७१/७२ मा बुटवल उपमहानगरपालिकाभित्र मृत भेटिएका १०२ जना मानिसको पहिचान खुलेन। उपमहानगरपालिकाले पशु र मान्छे दुवैलाई बेवारिसे भन्दै शव व्यवस्थापन गर्यो।
बुटवलमा केही वर्षयता पशुका तुलनामा बेवारिसे मानिसको शवको संख्या बढेको छ। आर्थिक वर्ष २०७०/७१ मा १०१ वटा बेवारिसे शव भेटिएको थियो भने त्यसअघिको वर्ष यस्ता शव ७५ वटा थिए। बेवारिसे शव बढेसँगै अन्तिम संस्कारमा समस्या उत्पन्न भएको छ। प्रमाणका लागि बेवारिसे शवलाई जलाउन नपाइने नियम नै समस्याको जड बनेको छ।
शहरका बेवारिसे शव व्यवस्थापन गरिंदै आएको बुटवल–४ मैनाबगरवासीले धनीपुर्जा देखाउँदै शव गाड्न नदिएपछि समस्या शुरू भएको हो। त्यसपछि उपमहानगरपालिकाले विकल्प ठम्याएको देवीनगरस्थित मगरघाटमा पनि स्थानीयको विरोध सहनुपर्यो।
उपमहानगरपालिकाको सामाजिक शाखाका वरिष्ठ अधिकृत दामोदर ज्ञवाली बेवारिसे शव गाड्ने खाली जग्गा भेट्नै नसकेको बताउँछन्। “सार्वजनिक जग्गा जति सुकुम्बासीले कब्जा गरेका छन्, खाली ठाउँ पाउनै मुश्किल छ”, उनी भन्छन्।
दुर्गन्धित अस्पताल
अस्पतालमा ४८ घण्टासम्म राखिए पनि कोही लिन नआएमा शव स्थानीय निकायलाई जिम्मा लगाउने चलन छ। स्थानीयको अवरोधपछि ११ चैत २०७२ मा उपमहानगरपालिकाले लुम्बिनी अञ्चल अस्पताललाई शव व्यवस्थापन गर्न नसक्ने पत्र नै पठाएको छ।
त्यसयता अस्पतालमा बेवारिसे र उपचारका क्रममा अस्पतालमै मृत्यु भएकाहरूको शवको थुप्रो लागेको छ। ६ वटा मात्र शव अट्ने अस्पतालको मर्चरी गृहका जताततै शव राखिएका छन्। शवको दुर्गन्धले लुम्बिनी अञ्चल अस्पताल परिसर नै प्रभावित भएको छ।
दैनिक एकहजार बिरामी आउने अस्पतालको सेवा यसबाट नराम्ररी प्रभावित भएको छ। मर्चरीकै छेवैको कुपोषण बाल पुनर्स्थापना गृहका बिरामी त दुर्गन्धकै कारण उपचार नै नगरी फर्कन थालेको अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मी बताउँछन्।
अन्तिम थलो नेपाल!
कसरी हुन्छ शव बेवारिसे? यसको एउटै कारण छैन। बुटवलस्थित इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र खड्का आर्थिक अभावका कारण उपचार र अत्येष्टि गर्न नसक्ने कतिपयले आफन्तको शव सार्वजनिक ठाउँ, अस्पतालमा छाडेर हिंड्ने गरेको बताउँछन्। खड्का भन्छन्, “कतिपय थाहा पाएरै पनि आफन्तको शव बुझन आउँदैनन्।”
अस्पतालका सूचना अधिकृत रेग्मी उपचार संभव नभएपछि बिरामी वा शव अस्पतालमै छाडेर फरार हुनेको संख्या बढिरहेको बताउँछन्। भन्छन्, “बेवारिसे शवहरू अध्ययन गर्दा मगन्ते, कामदार, अशक्त, सीमापारिबाट धपाइएका, आफन्तले हेलाँ गरेकाहरू देखिन्छन्।”
पहिचान नभएका अधिकांश शव भारतीय मूलका नागरिकको भएको प्रहरीको दाबी छ। उपमहानगरपालिकाका वरिष्ठ अधिकृत ज्ञवाली पनि भारतीयहरूले नै मानसिक सन्तुलन गुमाएका, वृद्ध, अपांग, अशक्तलगायतका नागरिकलाई सीमा कटाएर बुटवल धपाउने गरेको बताउँछन्। सीमावर्ती शहर भैरहवा भए पनि तत्काल फर्किन नसकुन् भनेर बुटवलसम्म पठाइने गरेको देखिएको बताउँदै ज्ञवाली भन्छन्, “त्यस्ता बेवारिसेहरू धेरै छन्।”
पहिचान हुन नसकेका शवहरूलाई हुलिया खुलाएर व्यवस्थापन गर्न (गाड्न) प्रहरीले अनुमति दिने गर्छ। बुटवलमा भेटिएका शवमध्ये झ्न्डै ९० प्रतिशतलाई प्रहरीले ‘मधेशीमूलको जस्तो देखिने’ भनेर खुलाएको छ।
बुटवलस्थित इलाका प्रहरी कार्यालय सामुन्ने मानसिक रूपमा असन्तुलित एक व्यक्ति बरोबर देखिइरहन्छन्। हाउभाउले उनी भारतीय जस्ता लाग्छन्। बाँकी परिचय भने खुल्दैन। बुटवलमा उनी जस्तै १०० भन्दा बढी यस्ता व्यक्तिहरू रहेको प्रहरीको अनुमान छ।
लुम्बिनी अञ्चल प्रहरी प्रमुख शेरबहादुर बस्नेत यस्ता व्यक्ति कपिलवस्तु, नवलपरासीभन्दा रूपन्देहीमा धेरै भएको बताउँछन्। बस्नेत भन्छन्, “माग्नेहरूको पहिलो रोजाइ नै बुटवल देखिएको छ।” तर, सडकमा अलपत्र देखिनेमा कतिपय नेपाली पनि हुन्छन्।
२०६४ सालमा उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल आएकी सोमादी–७, पाल्पाकी विष्णु पोखरेल डिस्चार्ज भएपछि पनि आफन्त कोही नभएको भन्दै फागुन २०७२ सम्म अस्पताल परिसरको गल्लीभित्रै बसिरहिन्। अन्ततः उनको व्यवस्थापनका लागि अस्पतालले प्रशासन गुहार्नुपर्यो। अस्पतालका सूचना अधिकृत रेग्मीका अनुसार बिरामीका अभिभावक भागेपछि अलपत्र हुने, जानै नमान्ने पनि थुप्रै छन्। उनी भन्छन्, “प्रशासनको सहयोगमा बल्लतल्ल समस्या सल्टाउँछौं।”
दीपक ज्ञवाली, बुटवल