समाचारमंगलबार, जेठ ४, २०७३
बालुवाटारमा प्रहरी र प्रदर्शनकारीबीच झडप
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न पुगेका सङ्घीय गठबन्धनका नेता कार्यकर्ता निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको छ ।
संविधानका केही बुँदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत २९ दलीय गठबन्धनले राजधानी केन्द्रित आन्दोलन अन्तर्गत दुई दिन सिंहदरबार आसपासपछि आज, ४ जेठमा बालुवाटार घेराउ गर्ने प्रयास गरेको हो ।
आन्दोलनकारीले अन्य दिनको तुलनामा सुरक्षाकर्मी बढी आक्रामक भई धर्नामा बसेकाहरुमाथि बल प्रयोग गरेको आरोप लगाएका छन् । प्रहरीले भने प्रदर्शनकारीले निषेधित क्षेत्र तोडी अघि बढ्न खोज्दा तिनलाई पछि धकेलिएको र सो क्रममा एक प्रहरी सामान्य घाइते भएको बताएको छ ।
प्रहरीसँगको झडपमा परी रञ्जित गोसामी घाइते भएको गठबन्धनमा आबद्ध दल सङ्घीय समाजवादी फोरम नेपालका दुर्गा सुवेदीले जानकारी दिए । सदभावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोका अनुसार उनको पार्टीका प्रवक्ता सन्तोष मेहता र काठमाडौं जिल्ला अध्यक्ष रामप्रवेश मेहता लगायतकालाई चोटपटक लागेको छ ।
गठबन्धनमा आबद्ध दलका नेता–कार्यकर्ताले नाराबाजी गर्दै आफ्ना माग सम्बोधन गराउन सडकमा धर्ना दिएपछि सो क्षेत्रको यातायात अवरुद्ध बनेको छ । यातायात अवरुद्ध भएका कारण यात्रु हिँडेर गन्तव्यमा जान बाध्य भएका छन् ।
आन्दोलनकारीलाई बालुवाटार वरपरको निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बाक्लो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । धर्नामा बसेका आन्दोलनकारीले “पहिचानसहितको सङ्घीयता छोड्दैनौँ”, “आन्दोलनकारीसँग गरिएका सम्झौता लागू गर”लगायत नारा लगाइरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा संवेदनशीलता दृष्टिगत गरी प्रधानमन्त्री निवास बालुवाटारदेखि दक्षिणतर्फ इटालियन चोक र उत्तरतर्फ पवित्र वर्कसपसम्म, सभामुखको निवासदेखि पश्चिम दक्षिणतर्फ गैरीधारा जाने बाटाको १०० मिटरसम्म तथा प्रधानन्यायाधीशको निवास बालुवाटारदेखि पश्चिम लाजिम्पाटसम्म १०० मिटर र नेपाल राष्ट्र बैंक बालुवाटार चोकदेखि पूर्व १०० मिटरसम्म निषेधित क्षेत्र तोकेको छ ।
विसं २०७२ असोज ३ गते संविधानसभाबाट जारी भएको संविधानमा भएको प्रदेश सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै मधेशकेन्द्रित र अन्य केही साना दलले आन्दोलन गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
