समाचारमंगलबार, जेठ ४, २०७३
अनावश्यक कागजात नल्याउनुस्: अमेरिकी दूतावास
काठमाडौंस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ ।
१९ जेठबाट लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा आवश्यक थोरै मात्र कागजपत्र बुझाए पुग्नेछ ।
आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउनका साथै उनीहरूको पैसा र समय बचत होस् भनी उनीहरूले अबदेखि बैंक मौज्दात विवरण, जग्गासम्बन्धी कागजात, निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्र पेश गर्नु नपर्ने दूतावासले जनाएको छ ।
यदि आवेदकले यस्ता प्रकारका दस्तावेजहरू सँगै लगेमा दूतावासको सुरक्षा इकाइको हातमा छाड्न लगाइने पनि दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दूतावासका अनुसार १९ जेठदेखि लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले आफ्नो साथमा निम्न कागजपत्रहरू मात्र लैजानु पर्नेछ ।
- राहदानी
- पुराना राहदानी
- DS-160 कन्फर्मेशन पेज
- आवेदन शुल्क भुक्तानी रसिद
- फोटो
- I-20 (विद्यार्थी भिसा आवेदकका लागि)
- ट्रान्स्क्रिप्ट (विद्यार्थी भिसा आवेदकका लागि)
अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्स्क्रिप्टहरूको प्रमाणीकरण गर्ने पनि दूतावासले जनाएको छ ।
कन्सल्टेन्सीहरुले आवेदकलाई अनावश्यक कागज बनाउन लगाई शुल्क लिने गरेको समेत गुनासो सुनिएको भन्दै दूतावासले कागजातका बारेमा स्पष्टता ल्याएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
