रिपोर्टबुधबार, जेठ ५, २०७३

सीए: हातहातै रोजगारी

हिमालखबर

काठमाडौंमा कोचिङ् क्लास लिंदै चार्टर्ड एकाउन्टेन्टका विद्यार्थी

काठमाडौंमा कोचिङ् क्लास लिंदै चार्टर्ड एकाउन्टेन्टका विद्यार्थी

पढाइ नसकिंदै रोजगारीको अफर आउने चार्टर्ड एकाउन्टेन्ट (सीए) र एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए) पढ्नेको संख्या बढ्दो छ।

२० वर्षअघिसम्म चार्टर्ड एकाउन्टेन्ट (सीए) पढ्न चाहनेहरू विदेशिनुको विकल्प थिएन। अधिकांश विद्यार्थी भारतको द इन्ष्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया (आईसीएआई) पुग्थे। २०५३ सालमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ऐन अनुसार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) गठन भएपछि भने स्वदेशमै सीए परीक्षाको व्यवस्था भयो। तर, आईक्यान स्थापनाको दुई दशक पुग्न लाग्दा पनि भारतबाट परीक्षा दिने नेपालीको कमी छैन।

विदेशमा पढेका सीएले नेपालमा काम गर्न आईक्यानको सदस्यता लिनैपर्ने प्रावधान छ। १ साउन २०७२ देखि सदस्यता दिनुअघि आईक्यानले स्थानीय कर र कानूनबारे परीक्षा लिंदै आएको छ। आईक्यानका प्राविधिक सह–निर्देशक पुष्पेन्द्र सिंह अहिले १५ हजार विद्यार्थी सीए बन्ने सँघारमा रहेको बताउँछन्।

सीएप्रति विद्यार्थीको लोभलाग्दो आकर्षण किन? पढाइ सकिएपछि खाली बस्नु नपर्ने, सामाजिक प्रतिष्ठा, आकर्षक तलब र अन्तर्राष्ट्रिय बजारमा समेत बढ्दो मागका कारण सीए पढ्नेहरू बढिरहेको जानकारहरू बताउँछन्। सीए पढ्ने विद्यार्थीलाई कोचिङ कक्षा सञ्चालन गर्दै आएको चैतन्य इन्ष्टिच्यूट अफ म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत गणेश जोशी सामाजिक प्रतिष्ठा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसर, भनेजस्तो आम्दानी हुने भएकैले सीएप्रति आकर्षण चुलिएको बताउँछन्। “जागीर खान नचाहनेहरूले आफ्नै फर्म खोलेर पनि राम्रो आम्दानी गर्न सक्छन्”, उनी भन्छन्।

साढे चारदेखि पाँच वर्षभित्र पूरा हुने सीएको पढाइ तीन तहमा हुन्छ– पहिलो तह (क्याप–१) ६ महीना, दोस्रो तह (क्याप–२) ९ महीना र तेस्रो तह (क्याप–३) तीन वर्ष। पहिलो तहमा भर्ना हुन उच्च माध्यमिक तह (दश जोड दुई) उत्तीर्ण हुनुपर्दछ। सीए पढ्ने विद्यार्थी एकैचोटि क्याप–२ मा पनि भर्ना हुन सक्छन्। तर यसका लागि वाणिज्यशास्त्र, व्यापार प्रशासन वा व्यवस्थापन विषयमा लेखा वा लेखापरीक्षण वा कर मुख्य विषय लिई कम्तीमा ५० प्रतिशत अंक ल्याएको हुनुपर्दछ।

यस्तै व्यापार प्रशासन वा व्यवस्थापन विषयमा लेखा वा लेखापरीक्षण वा कर बाहेकका अन्य मुख्य विषयमा कम्तीमा ५५ प्रतिशत अंक ल्याएका वा जुनसुकै विषयमा ६० प्रतिशत अंक ल्याएका विद्यार्थीले पनि सीधै क्याप–२ मा भर्ना हुन पाउँछन्। क्याप–३ मा भर्ना हुनका लागि भने क्याप–२ उत्तीर्ण गरेकै हुनुपर्दछ। क्याप–३ प्रयोगात्मक पढाइ हो, जसलाई ‘अर्टिकलसिप टे्रनिङ’ भन्ने गरिन्छ।

सीए जस्तै अर्को कोर्स हो, एसीसीए। यो कोर्सको नाम लेखा व्यवसायीहरूको विश्वव्यापी संगठन एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्टको छोटकरी रूप हो। एक दशकअघि शुरू भएको यो कोर्सले १८३ भन्दा बढी देशमा मान्यता पाएको छ। संसारभर एसीसीएका ३९९ वटा परीक्षा केन्द्र छन्।

नेपालमा भने ब्रिटिश काउन्सिलको सहजीकरणमा एसीसीए परीक्षा सञ्चालन भइरहेको छ। नेशनल कलेज अफ एकाउन्टेन्सीका कार्यकारी निर्देशक रविन कटवालका अनुसार, नेपालमा करीब ३०० एसीसीए छन्। उनीहरू ब्यांकिङ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नेपाल टेलिकम, विद्युत् प्राधिकरणलगायतमा कार्यरत छन्।

भ्रम र यथार्थ
सीए भएपछि लेखापरीक्षण मात्रै होइन, कम्पनीको आर्थिक अवस्था विश्लेषण, शिक्षा, परामर्श तथा आफैं फर्म खोलेर अभ्यास गर्न सकिन्छ। आईक्यानका अनुसार, नेपालमा ९७५ जना मात्र सीए छन्। जबकि आवश्यक सीए संख्या भने करीब पाँच हजार छ।

आकर्षण र आवश्यकतासँगै सीए अध्ययनबारे भ्रम पनि प्रशस्तै रहेको कोचिङ सञ्चालकहरू बताउँछन्। एलिट इन्ष्टिच्यूट अफ म्यानेजमेन्टका निर्देशक डीआर श्रेष्ठ सीए ‘पढ्न सकिंदैन, कोटा प्रणालीमा नतीजा प्रकाशन हुन्छ, महँगो छ’ भन्ने जस्ता अफवाह बाँकी रहेको बताउँछन्। भन्छन्, “छोटो समयमा धेरै पढ्नुपर्ने र निरन्तर मिहिनेत गर्नुपर्ने भएकाले गाह्रो भनिएको हो। पढ्नै नसक्ने विषय होइन यो।”

आईक्यानका सह–निर्देशक सिंह सीएका तीन वटै तहका लागि रु.१ लाख बुझ्ाए पुग्ने बताउँछन्। तर विद्यार्थीले इन्ष्टिच्यूटलाई बुझाउने शुल्कसहित करीब साढे तीन लाख रुपैयाँ जति लाग्ने उनी बताउँछन्। सीएको पाठ्यक्रम ‘डिस्ट्यान्स लर्निङ’ मा आधारित भए पनि विद्यार्थी विभिन्न कोचिङ इन्ष्टिच्यूटमा पढ्छन्। आईक्यानले काठमाडौं, पोखरा र मोरङमा गरी आठ वटा यस्ता इन्ष्टिच्यूटलाई मान्यता दिएको छ। तर, आईक्यानबाट मान्यता नलिएका दुई दर्जन भन्दा बढी इन्ष्टिच्यूट पनि सञ्चालनमा छन्।

क्याप–३ मा विद्यार्थीले तीन वर्ष आर्टिकलसिप गर्नुपर्छ। यो इन्टर्नसिप जस्तै हो। इन्टर्नसिपमा पनि विद्यार्थीलाई सम्बन्धित चार्टर्ड एकाउन्टेन्टले न्यूनतम पारिश्रमिक दिन्छन्। प्राइम सीएका प्रबन्ध निर्देशक नवराज बुर्लाकोटी भन्छन्, “आर्टिकलसिप पनि हिसाब गर्ने हो भने सीए पढाइको लागत अझ् कम हुन्छ।” उनका अनुसार, लगानीभन्दा पनि लगनशीलता भएका विद्यार्थी पढ्दापढदै कमाउन सक्ने बन्छन्।

‘लगनको खाँचो’
navarajनवराज बुर्लाकोटी
प्रबन्ध निर्देशक, प्राइम सीए
कुनै विद्यार्थीलाई थोरै समय पढेरै पुग्छ भने कसैलाई धेरै। मेरो सल्लाहमा दैनिक तीन–चार घण्टा पढे पुग्छ। तर, निरन्तरता महत्वपूर्ण छ। हामी सीएसँगै बीबीएस पनि गराउँछौं। खट्न र खप्न सक्ने विशेषता भएका विद्यार्थी सफल भएको देखेको छु। प्रशस्त पाठ्य सामग्री भएको, दक्ष र अनुभवी शिक्षक र आन्तरिक परीक्षा लिने व्यवस्था भएको संस्थामा गएर पढ्नुपर्दछ।

कुनै पनि संगठनको आर्थिक विश्लेषण गर्न सीए अनिवार्य चाहिन्छ। सरकार निजी क्षेत्रसँगको आर्थिक सम्झौतामा चुक्नुको मूल कारण पनि सीएको अभाव नै हो। किनभने निजी कम्पनीहरूले सीए राखेका हुन्छन्।

तर सरकारले अहिलेसम्म एक जना पनि स्थायी सीए राखेको छैन। सबैतिर नसकिए पनि अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, आन्तरिक राजस्व कार्यालयमा सीए अनिवार्य चाहिन्छ। सीएले अन्तर्राष्ट्रिय कर, वाणिज्य, लेखा परीक्षण, वित्तीय अवस्था बुझेका हुन्छन्।

‘सीएसँगै बीबीए’
drडीआर श्रेष्ठ, निर्देशक
एलिट इन्ष्टिच्यूट अफ म्यानेजमेन्ट
चार्टर्ड एकाउन्टेन्ट (सीए) को विषयमा विभिन्न अफवाह सुनिन्छ। कतिपयले सीए धेरै गाह्रो विषय हो भन्ने गरेका छन्। मेरो विचारमा यो सही होइन। छोटो समयमा धेरै पढ्नुपर्ने र निरन्तर मिहिनेत गर्ने हो भने सीए बन्न सकिन्छ।

भर्ना भएका सबै सीए बन्दैनन्। यही कुरालाई मध्यनजर गरेर हामीले विद्यार्थीलाई निःशुल्क बीबीए कोर्स दिएका छौं। ८० प्रतिशत कोर्स उस्तै भएकाले विद्यार्थीलाई २० प्रतिशत कोर्सका लागि ‘गाइड’ गरे पुग्छ। परीक्षाको समय पनि फरक छ।

पढाइ सकेपछि लेखा परीक्षण, शिक्षा, परामर्श र व्यावसायिक क्षेत्रमा जान सकिन्छ। बेरोजगार हुने कुरै आउँदैन।

‘शून्य बेरोजगार’
dipeshदिपेशकुमार थपलिया
प्रबन्ध निर्देशक, सीसीएमए कलेज

सीए जुनसुकै संकायका विद्यार्थीले पढ्न सक्छन्। भर्नाका लागि प्रवेश परीक्षा पनि दिनुपर्दैन। नेपालमा मात्रै होइन अन्तर्राष्ट्रिय बजारमा समेत सीएको माग बढेको छ। पढाइ सकेलगत्तै जागीर पाइन्छ। बेरोजगारी शून्य प्रतिशत हुन्छ।

यो संसारभर बिक्री हुने डिग्री हो। सीएसँगै बीबीएस कोर्स गरे ‘एक्स्पोजर’ बढी हुन्छ। अद्यावधिक अध्ययन सामग्री उपलब्ध गराउनुपर्छ।

नेपालमा काम गर्ने हो भने आईक्यानबाट परीक्षा दिनु नै राम्रो हो। विभिन्न विषयमा स्नातकोत्तर गरेर पनि बेरोजगारी बस्नु परेकाले होला, सीए पढ्नेहरू बढेका छन्।

‘विश्वासिलो इन्ष्टिच्यूट रोजौं’
vijayaविजय पाठक
निर्देशक, सिमा एकेडेमिक्स्
नेपालमै पढेका सीएहरू विश्वका प्रतिष्ठित संस्थामा कार्यरत छन्। नेपालमा पनि सीएको माग ह्वात्तै बढेको छ। आर्थिक विकाससँगै थप माग बढ्ने निश्चित छ।

बाहिरबाट सीए गरेर आएकाहरूले पनि नेपालमा काम गर्नका लागि आईक्यानबाट सदस्यता लिनुपर्दछ, स्थानीय कानून र करबारे पढ्नुपर्दछ। सीएमा सैद्धान्तिकभन्दा व्यावहारिक विषय धेरै पढाइन्छ।

सीए तयारीका लागि इन्ष्टिच्यूट छान्दा स्थायित्व, विगतको नतीजा, शिक्षकको अनुभव, भौतिक पूर्वाधार लगायतमा विचार गर्नुपर्दछ। मौसमी ट्युसन सेन्टरले मात्र विद्यार्थीको समय र पैसा बर्बाद हुनसक्छ।

‘सही परामर्श आवश्यक’
deepak दीपक पाण्डे, प्रबन्ध निर्देशक,
एकेडेमी अफ कमर्स (एओसी)
कर, वित्तीय अवस्थासँगै संगठनको समग्र आर्थिक पक्ष विश्लेषण गर्न सक्ने भएकाले चार्टर्ड एकाउन्टेन्टको माग बढेको छ। ब्यांकिङ, निजी, सार्वजनिक संस्था, होटल, टेलिकम, उद्योग व्यापार सबैमा सीए अनिवार्य जस्तै भइसकेको छ।

प्रवेश परीक्षा विना भर्ना पाइने भएकाले धेरै विद्यार्थी अनुत्तीर्ण भएको देखिएको छ। आफ्नो रुचिविना अभिभावकको चाहना वा लहैलहैमा लागेर पढ्न आउनेहरू छिट्टै हतोत्साही हुने गरेको मेरो अनुभव छ।

वास्तविकता बुझेर आउनेहरू सफल भएका छन्। सही परामर्श लिएर मात्रै भर्ना हुनु राम्रो हुन्छ। क्याप–१ र क्याप–२ मा हाम्रै विद्यार्थी भारतीय बोर्डमा समेत टप भएका छन्। प्रतिबद्धता र मिहिनेत गरियो भने सफलता पाइन्छ भन्ने उदाहरण हो यो।

‘लगनशीलता चाहिन्छ’
ganeshगणेश जोशी, प्रमुख कार्यकारी अधिकृत,
चैतन्य इन्ष्टिच्यूट अफ म्यानेजमेन्ट
उच्च शिक्षापछि सामाजिक प्रतिष्ठा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसर र राम्रो आम्दानीको अपेक्षा राखिन्छ।

यी तीन वटै कुरा सीएमा सम्भव छ। त्यसैले विद्यार्थी सीए पढिरहेका छन्। पाँच वर्षको मिहिनेतपछि उनीहरूको भविष्य सुनिश्चित हुन्छ।

तर, यसका लागि कडा समर्पण चाहिन्छ। लगानीभन्दा लगनशीलताको खाँचो पर्छ।

सीएका लागि इन्ष्टिच्यूट छनोट गर्दा त्यसका संचालकको पृष्ठभूमि, भौतिक पूर्वाधार, प्रविधिको प्रयोग जस्ता विषयमा ध्यान दिनुपर्दछ। हामीले कलेज मोडालिटीको पढाइलाई जोड दिएका छौं। नेपालमै पढेर विश्वस्तरीय डिग्री प्राप्त गर्न सकिने अवसर छ।

‘विश्वव्यापी एसीसीए’
rabinरविन कटवाल, कार्यकारी निर्देशक,
नेशनल कलेज अफ एकाउन्टेन्सी
प्रोफेसनल एकाउन्टेन्सी अन्तर्गतका कोर्सलाई देश अनुसार फरक फरक नाम दिइएका छन्। नेपाल र भारतमा सीए भने जस्तै बेलायतमा एसीसीए कोर्स छ। एसीसीएले संसारका १८३ देशमा मान्यता पाएको छ। सामान्यतः एसीसीए पूरा गर्न चार वर्ष लाग्छ।

यसका तीन तह छन्, नलेज, स्किल्स र प्रोफेसनल। नलेज तहमा भर्ना हुन दश जोड दुई, स्किल्समा भर्ना हुन ब्याचलर वा मास्टर्स चाहिन्छ। सीए पास गरिसकेकाहरू भने सोझै प्रोफेसनल तहमा भर्ना हुनसक्छन्।

यो कोर्स पूरा गर्न रु. ४ लाखदेखि साढे चार लाखसम्म लाग्छ। उत्तीर्ण दर पनि राम्रो छ। एसीसीए पास गरेलगत्तै रोजगारी पाइने भए पनि यो डिग्रीबारे निकै कम प्रचारप्रसार भएको छ।

‘नेपालबाटै सीए’
puspendraपुष्पेन्द्र सिंह
सह–निर्देशक (प्राविधिक), आईक्यान
२०५३ मा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) स्थापना हुनुअघि नेपाली विद्यार्थी सीए परीक्षा दिन भारतलगायत अन्य देश जानुपर्थ्या। अहिले पनि भारतमा गएर पढ्ने नभएका होइनन् तर नेपालमै बसेर पढ्न सकिन्छ भने बाहिर किन जाने भन्ने हो।

विदेशबाट सीए पढेर आए पनि नेपालमा परीक्षा दिनुपर्दछ। आईक्यान विश्वमान्यता प्राप्त बोर्ड हो। यसले अन्तर्राष्ट्रिय लेखा व्यवसायी महासंघ, एशिया प्रशान्त क्षेत्रीय लेखा व्यवसायी महासंघ, दक्षिण एशियाली लेखा व्यवसायी महासंघको सदस्यता लिएको छ।

आईक्यानले मलेशियन इन्ष्टिच्यूट अफ एकाउन्टेन्ट्स, सीपीए अष्ट्रेलियाबाट समेत मान्यता पाएको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...