समाचारबुधबार, जेठ ५, २०७३

बेपत्ता आयोगमा १२२२ उजुरी, उजुरी हाल्न अध्यक्षको आग्रह

हिमालखबर

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले अनुसन्धानलाई फितलो नहुने गरी उजुरी हाल्न र आयोगलाई सघाउन पीडितहरुसँग आग्रह गरेका छन् ।

मल्लिकका अनुसार नेपालभरबाट आयोगमा अहिलेसम्म एक हजार २२२ वटा उजुरी परिसकेका छन् । आयोगले गर्न लागेको काममा सबैले सहयोग गरेमा पीडितले राहत र पीडकलाई सजायको भागी बनाउन सकिने उनले बताए ।

आयोगले ५ जेठमा चितवनमा सरोकारवालासँग गरेको अन्तर्क्रियामा मल्लिकले द्वन्द्वकालमा देशभरि एक हजार ५३० जना बेपत्ता भएका तथ्याङ्क रहेको बताए । अहिले आयोगमा ८२ प्रतिशत उजुरी परिसकेको उनको भनाइ छ ।

अन्य आयोगभन्दा अहिलेको आयोगलाई कानुनी प्रक्रियाले बाँधेको हुँदा आयोगको प्रतिवेदन व्यवस्थापिका–संसद्मा बुझाउने र जनतामाझ सार्वजनिक गरिने भएकाले उजुरी गर्न डराउन नपर्नेसमेत उनले बताए ।

सोही अवसरमा बोल्दै आयोगका सचिव महेश शर्मा पौडेलले आयोगमा परेका उजुरीमध्ये अहिलेसम्म २०० वटामाथि प्रारम्भिक जाँच शुरु भइसकेको जानकारी दिए ।

पीडितहरुले बेपत्ता पारिएका परिवारलाई वर्गीकरणका आधारमा परिचयपत्रको व्यवस्था गर्न माग गरेका थिए । परिचयपत्रका आधारमा राज्यले सेवा, सुविधा र परिपूरणको व्यवस्था गर्न सहज हुने उनीहरुको भनाइ थियो ।

चितवनमा मात्रै करिब ४० घरपरिवारका सदस्य बेपत्ता छन् । यसमध्ये सरकारी विवरणमा २९ जनाको नाम सूचीकृत छ । सूचीकृतमध्ये एक जना विद्रोही पक्षबाट र बाँकी राज्य पक्षबाट बेपत्ता पारिएको स्थानीय शान्ति समिति चितवनले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>