समाचारबिहीबार, जेठ ६, २०७३
माडी घटना पीडितहरुको सामूहिक उजुरी

फाइल तस्वीर
चितवनको माडी घटना (बाँदरमुढे) का पीडितले सत्य निरुपण तथा मेलमिलाप आयोगमा सामूहिक उजुरी दर्ता गराएका छन् ।
५७ जना पीडितले ६ जेठमा आयोगको केन्द्रीय कार्यालयमा उजुरी दर्ता गराएको बाँदरमुढे घटना पीडित संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले जानकारी दिए ।
२३ जेठ २०६२ मा चितवनको गोविन्दबस्ती बगई (माडी) बाट भरतपुरका लागि छुटेको यात्रुवहाक बसमा माओवादीले बम विस्फोट गराउँदा ३९ जनाको तत्कालै मृत्यु हुनुको साथै ७२ जना घाइते भएका थिए । घाइतेमध्ये थप चार जनाको केही समयपछि मृत्यु भएको थियो ।
बाँकी घाइतेहरुले उजुरी दर्ता गराएका हुन् । स्थानीय शान्ति समितिको कार्यालय चितवनमा उजुरी दर्ता गराउँदा असुरक्षा महशुस भएर आयोगको केन्द्रीय कार्यालयमा उजुरी दिएको अधिकारीले बताए ।
बम विस्फोट गराउने कार्यमा संलग्न भएको आरोप लागेका अनक मगर शान्ति समितिको कार्यालय चितवनमा एमाओवादीका तर्फबाट सदस्य छन् ।
घटनाको समयमा जिल्ला इन्चार्ज रहेका घनश्याम दाहाल सदस्य रहेकोमा आरोपित व्यक्तिलाई शान्ति समितिमा राखिएको भन्दै सार्वजनिक आलोचना भएपछि दाहालले राजीनामा दिएका थिए ।
त्यसपछि सदस्य बनेका मगरमाथि त विस्फोट कार्यमै संलग्न भएको आरोप छ । “आरोपी सदस्य रहेको समितिमा कसरी उजुरी दिनु भनेर सबै जना काठमाडौं आयौं”, अधिकारीले भने ।
प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको ९ बुँदे सहमतिले न्याय पाउने पीडितको आशा मारेको अधिकारी बताउँछन् ।
“दलहरूको रवैया र आयोगको काम गराई हेर्दा न्याय पाउने आशा त छैन, तर आफूमाथि भएको अन्यायमा चुप बस्नु हुँदैन भनेर सबै पीडितले उजुरी दिएका हौं”, उनी भन्छन्,“हामीलाई कोही नेता÷कार्यकर्ता जेल जानु पर्ला÷नपर्ला मतलव छैन, तर पीडितलाई न्याय चाहिएको छ ।”
आयोगले उजुरीका लागि ५ वैशाखदेखि २ असारसम्मको अवधि तोकेको छ जसअनुसार अहिलेसम्म ७ हजार ७९८ उजुरी परेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
