रमझमबिहीबार, जेठ ६, २०७३
रस्नाको डिजाइन
२५–२६ वैशाख भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममा आयोजित ‘एशियन डिजाइनर विक’ मा नेपालको प्रतिनिधित्व गरेकी काठमाडौंकी रस्ना श्रेष्ठ (२७) को प्रतिभाको खुलेर प्रशंसा गरियो। कारण, उनले मौलिक ढाकाका पहिरनलाई पाश्चात्य शैलीमा ढालेकी थिइन्।
‘फ्युजनिस्ट’ विषयमा तयार गरिएको समर कलेक्सनलाई धेरैले मन पराए। “शो सकिएपछि अरू देशका डिजाइनरले ढाकाबारे सोधीखोजी गरे”, आईईसी स्कूल अफ आर्ट एण्ड फेसनबाट स्नातक श्रेष्ठ भन्छिन्।
तीन वर्षदेखि काठमाडौंको बसुन्धरामा ‘फेसनालय’ बुटिक सञ्चालन गर्दै आएकी उनी ‘मुसी’ ब्रान्ड वेयर्स स्थापित गर्ने प्रयत्नमा छिन्। मुसीका पहिरनहरू रेखा थापा, माल्भिका सुब्बा, निशा अधिकारी, समृद्धि राई, नग्मा श्रेष्ठ जस्ता सेलिब्रेटीले लगाउने गरेको उनी बताउँछिन्।
फेसन बजारमा उदाइरहेकी उनले सन् २०१५ मा क्यानाडामा आयोजित ‘भ्यानकभर फेसन विक’ मा समेत सहभागिता जनाएकी थिइन्।