समाचारशुक्रबार, जेठ ७, २०७३
कालिकोटमा पहिरो: लालिघाट बजार बगायो, ३ को मृत्यु, १० बेपत्ता
कालिकोट, कोटवाडाको मुख्य हाटबजार लालिघाटमा गएराति ११ बजे गएको पहिरोले बजार बगाउँदा तीन जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।
पहिरोले बजारमा रहेका दुई दर्जनभन्दा बढी पसल बगाएको छ भने करिब रु २० करोड बराबरको क्षति भएको बुझिएको छ ।
पहिरो गएपछि जिल्ला सदरमुकामबाट प्रहरी लगायतको टोली उद्धारका लागि खटिएको छ । जिल्लाबाट प्रहरीसहित प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक, प्रजिअ, नेपाली सेनाको टोली पुगेको छ ।
स्थानीय मन तिरुवाले दिएको जानकारीअनुसार अहिलेसम्म स्युना–५ का हरि तिरुवा, स्युना–१ का सञ्जिते टमटा र उनका परिवार धनमती टमटाको शव भेटिएका छन् ।
सम्पूर्ण बजार बगाएर लगेकाले नामोनिशान नरहेको उनले बताए । प्रहरीले भने दबिएका शव निकाल्ने काम भईरहेकाले ककस्को मृत्यु भयो भन्ने कुरा जानकारीमा नआएको बताएको छ ।
प्रजिअ प्रदिप श्रेष्ठले आफूहरु लगायतका टोली उद्धारमा रहेकाले केही समयपछि मात्र के कतिको मृत्यु भएको हो भन्ने यथार्थ कुराको जानकारी आउने बताउनुभएको छ । एक दर्जनभन्दा बढी बेपत्ता हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।
अघिल्लो साता कालीकोट र दैलेखको बीचमा पर्ने दैखोलामा पहिरो जाँदा एक जनाको मृत्यु भएको थियो भने एक दर्जन पसल बगाएर रु ५० लाख भन्दा बढीको क्षति भएको घटना सेलाउन नपाउँदै अर्को घटना घटेकाले स्थानीयवासीले गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
