रिपोर्टशुक्रबार, जेठ ७, २०७३
नेपालमा कोरियन स्वास्थ्य शिविर: बदमासीलाई कूटनीतिक उन्मुक्ति

दक्षिण कोरियालीले निःशुल्क स्वास्थ्य शिविरमार्फत चाल्नाखेलकी सरिता थापालाई दिएका म्याद नाघेका औषधि।
सेवाको नाममा अवैध औषधि बाँड्ने कोरियालीको एक समूह कूटनीतिक उन्मुक्तिबाट उम्केको छ।
१७ वैशाखमा २९ कार्टून र चार वटा बोरामा औषधि लिएर कोरियन एअरलाइन्सको विमानबाट काठमाडौं अवतरण गरेका आठ जना दक्षिण कोरियाली नागरिकले १९ वैशाखमा चाल्नाखेलस्थित एशियाली तारापुञ्ज मावि परिसरमा ‘महाभूकम्पपछिको सहयोग’ भन्दै निःशुल्क स्वास्थ्य शिविर चलाएर म्याद नाघेका औषधि बाँडे। त्यसको भोलिपल्ट ललितपुरको नख्खुस्थित कोरियन स्कूलमा पनि त्यही दोहोर्याएपछि भने उनीहरू प्रहरीको फन्दामा परे।
१५ दिने पर्यटक भिसामा आएका उनीहरूबाट प्रहरीले म्याद नाघेका थुप्रै औषधि बरामद गर्यो। उनीहरूले चाल्नाखेलमा ६०० जनालाई बाँडेको औषधिमा प्रयोग म्याद लेखिएको ठाउँ मेटाइएको, एमजी नखुलाइएको पाइयो। ती कोरियालीहरूले नेपालमा स्वास्थ्य शिविर सञ्चालन गर्नु अघि स्वास्थ्य मन्त्रालय र बिरामी जाँच्नुअघि नेपाल मेडिकल काउन्सिलबाट अनुमति लिनुपर्ने नियम पनि पालना गरेका थिएनन्।
आठमध्ये पाँच जना (ह्युक जून लि, ब्यूङ्ग वान काङ, जु सोङ ली, जाए कि जेओन र योङ सुन युन) डाक्टर रहेको दाबी गर्ने कोरियाली समूहले जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौ र दक्षिणकाली नगरपालिकाबाट भने नेपाल आउनुअघि नै शिविर संचालन अनुमति पाएका थिए। यस्तो चाँजोपाँजो स्थानीय रमेश सुनुवार, आईमान राई र रामहरि कुँवरले मिलाएका थिए।
अचम्म के छ भने, उनीहरूले ल्याएको त्यत्रो परिमाणको म्याद नाघेका औषधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सरक्कै भित्रिन दियो। औषधि व्यवस्था विभागका सूचना अधिकारी नारायणप्रसाद ढकाल विमानस्थल भन्सारबाट म्याद नाघेका औषधि भित्रिएको घटनाले आश्चर्यचकित पारेको बताउँछन्।
विमानस्थल भन्सार कार्यालय भने कोरियालीहरूले स्वास्थ्य सामग्रीको विवरण नदिएको बताउँछ। प्रमुख भन्सार अधिकृत टंकबहादुर अर्याल भन्छन्, “लुकाइ–छिपाइ लगेको भए थाहा भएन।”
विदेशी संस्था या व्यक्तिले नेपालमा स्वास्थ्य शिविर सञ्चालनका लागि औषधिहरू नेपाल भित्र्याउँदा सरकारको अनुमति लिनुपर्छ। त्यसका लागि वाणिज्य विभागले भन्सार कार्यालयलाई अनुमति दिएपछि सम्बन्धित व्यक्ति वा संस्थाले रु.१० हजार १०० तिरेर औषधिजन्य सामान भित्र्याउन सक्छ।

औषधि व्यवस्था विभागले दक्षिण कोरियालीको समूहबाट बरामद गरेका औषधि, जसमा प्रयोग म्याद मेटाइएको छ (रातो घेरामा)।
यो प्रक्रिया नपुर्याई भित्र्याइएको औषधि वाणिज्य विभागले जफत गर्ने र सम्बन्धित व्यक्तिलाई भन्सार विभागले कारबाही गर्ने वाणिज्य विभागका निर्देशक हरिनारायण बेलवासे बताउँछन्।
त्यस्तै, पर्यटक भिसामा आउने विदेशीले नेपालमा स्वास्थ्य शिविर सञ्चालन गरेर बिरामी जाँच्न पाउँदैनन्। तर, नेपालका सबै कानून र प्रक्रिया छलेका कोरियाली नागरिकहरू अहिले प्रहरीको हिरासतमा नभएर दूतावासको जिम्मामा पुगेका छन्।
औषधि ऐन २०३५ अनुसार, म्याद सकिएका औषधि बिक्रीवितरण गर्नेलाई पाँच वर्ष कैद सजाय हुन्छ। महानगरीय प्रहरी परिसर सानेपाले त्यही कसूरमा पक्राउ गरेका उनीहरूलाई औषधि व्यवस्था विभागले विना कारबाही २१ वैशाखमा कोरियाली दूतावासको जिम्मा लगाइदियो, ‘कूटनीतिक पहल’ भएको भन्दै।
जबकि, कूटनीतिक राहदानी वाहकको हकमा मात्र त्यस्तो व्यवस्था लागू हुन्छ। विभागका महानिर्देशक बालकृष्ण खकुरेलले ती कोरियालीहरूले बाँडेका औषधिले कसैलाई खराबी नगरेको र दूतावासका काउन्सिलर आएर माफी पनि मागेकाले जिम्मा लगाइदिएको बताए।
बिहान म्याद सकिएका औषधि बाँडिएको सूचना बेलुका पाएपछि महानगरीय प्रहरी प्रभाग चाल्नाखेलको टोली स्थानीयबाट ती औषधि फिर्ता गर्न रातभर खटेको थियो। त्यसक्रममा कतिपयले औषधि सेवन गरिसकेको भेटिएको थियो। कोरियन ‘डाक्टर’ हरूले शिविरमा आँखाको शल्यक्रिया समेत गरेका थिए।
आँखामा पलाएको मासु निकाल्न शल्यक्रिया गराएकी मुना लामा (३४) ले कोरियाली ‘डाक्टर’ हरूले दिएको औषधि दिउँसो र बेलुका सेवन गरिन्। “म्याद सकिएको औषधि दिएको कुरा भोलिपल्ट मात्र थाहा भयो”, लामा भन्छिन्, “अनि शंका लागेर त्रिपुरेश्वर गएर आँखा जँचाउँदा कोरियालीहरूले अप्रेशन पनि धेरै पुरानो विधिबाट गरेको थाहा भयो।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
