समाचारशुक्रबार, जेठ ७, २०७३

मन्त्रिपरिषद् बैठक: आन्दोलनरत दललाई वार्तामा आउन आह्वान, श्रीलंकालाई एक लाख डलर सहयोग

हिमालखबर

सरकारले आन्दोलनरत मधेशी मोर्चासहितका दलहरुलाई वार्ता र संवादमा आउन पुनः आह्वान गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनरत मोर्चामा आबद्ध दलहरुलाई वार्ता र संवादका लागि सरकारको तर्फबाट अधिकतम लचकताका साथ पुनः आव्हान गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बताए ।

आन्दोलनरत पक्षका मागलाई वार्ता, संवाद र सहमतिबाटै निकासमा पुगेर समाधान खोजी राष्ट्रिय पुनःनिर्माण र संविधानको कार्यान्वयनलगायत महत्वपूर्ण कामहरुमा केन्द्रित हुन पनि बैठकले सबैलाई आग्रह गरेको उनको भनाई छ ।

“सरकारले मधेशी मोर्चासहितका दललाई विगतमा पनि पटक–पटक लिखित रुपमा वार्ता र संवादमा बसी उपयुक्त निकासका लागि आग्रह गरिसकेको सन्दर्भमा फेरि एकपटक अधिकतम लचकताका साथ सरकार सबै कुरा सुन्न तयार छ र तत्कालै निकासमा पुगेर राष्ट्रिय पुनःनिर्माण र संविधानको कार्यान्वयनलगायतका विषयमा केन्द्रित हुन सरकारले सबैलाई आग्रह गरेको छ,”– सञ्चारमन्त्री राईले भने ।

त्यस्तै सरकारले भर्खरै श्रीलङ्कामा गएको बाढी, परिहोबाट भएको क्षतिको अवस्थालाई ध्यानमा राखी नेपाल सरकारको तर्फबाट एक लाख अमेरिकी डलर ( करिब एक करोड रुपैयाँ) बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।

त्यसैगरी लुम्बिनी अञ्चल अस्पताललाई १०० शैयाबाट ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको सञ्चारमन्त्री राईले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>