ब्लगशनिबार, जेठ ८, २०७३
कलुषित कृति
नेपालका केही इतिहासकारले सपूतलाई देशद्रोही र कपूतलाई देशभक्त भनेर लेखिदिएका छन्।

चन्द्र शम्शेर
१९६३ वैशाखमा चन्द्रशमशेर महाराज चीनमा प्रतिनिधिमण्डल पठाउन तरखर गर्दैथिए। यताबाट प्रतिनिधिमण्डल जाने साइत असारको अन्त्यतिर वा साउनमा हुन्थ्यो। प्रतिनिधिमण्डल अर्को सालको आरम्भतिर पेचिन पुग्थ्यो।
बादशाहलाई खलीपत्र सरसौगात बुझाएर केही दिन बसेर फर्केर आउँदा १४ महीना लाग्थ्यो। पछि समय बढ्दै गएर दुई–तीन वर्ष पनि लाग्न थाल्यो।
चन्द्रशमशेरको पालामा भैरवबहादुर गर्तौउला क्षेत्रीको नेतृत्वमा गएको प्रतिनिधिमण्डल रसैले जाँदा र रसैले आउँदा चार वर्ष लागेको थियो।
नेपालले यसरी चीनसँग सम्पर्क बढाएको, बादशाहलाई हदै मानमनितो गरेको विषयमा ब्रिटिश अधिकारीहरू र काठमाडौंमा बसेका रेजिडेन्ट कचकच गरिरहन्थे। बादशाहलाई हाम्रा पुर्खादेखि मानिआएको, हामी पनि बादशाहकै शरणमा छौं भनेर लेख्ने बेहोरा सच्याउनुपर्छ, यसले नेपालको सार्वभौमिकतामा आँच पार्छ भन्ने उनीहरूको आशय हुन्थ्यो।
नेपालका महाराज भने बादशाहलाई मान्ने यो एउटा तरीका मात्रै हो, अरू देशले पनि यसै गर्छन्, यस्तै बेहोरा लेख्छन्, यसले कुनै राजनीतिक प्रभाव पार्दैन, त्यस्तो व्यवहार भएको पनि छैन भन्दै प्रतिवाद गर्थे। तर, भन्दा–भन्दै पनि बाहिरी प्रचारवाजीले महाराजको अन्तस्करणमा बिझिराखेकै थियो।
जहिले पनि अंग्रेज अधिकारीहरू र रेजिडेन्टले यस विषयमा यस्तै आशय प्रकट गर्दा बढेको महाराजको छटपटीलाई मैले हिमाल को गताङ्कमा हेमराजको दैनिकीबाट प्रस्तुत गरेको थिएँ। त्यसमा महाराजले चीन विषयक तीन वटा प्रश्न बनाएर जनरल हिरण्यशमशेरको हातबाट आफ्ना भाइ कमाण्डर इन चीफ भीमशमशेरकोमा पठाए।
उनले हेमराज शर्मालाई पनि प्रश्नका उत्तर लेख्न अह्राए। हेमराजको राय पहिले प्रकाशित गरेर यसमा अलिकति टिप्पणी पनि मैले गरेको थिएँ।
जस्तोसुकै बोलीबेहोराका परवाना लेखे पनि, मानभाउ राखे पनि, चीन बादशाहले नेपाललाई आफ्नो छत्रछायाँ भित्रको देश हो भनेर कहिल्यै सकारेको पाइँदैन। भोट चाहिं हाम्रै छत्रछायाँ भित्रको देश हो, नेपाल चाहिं बाहिरिया देश भएकोले हामीले भौतिक अर्थात् सैनिक–आर्थिक सहयोग दिन मिल्दैन, बाहिरिया देशलाई त्यस्तो सहायता दिने चीनको नीति छैन भनेर पन्छाइरह्यो।
उसले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गरेन, अहिलेसम्म पनि उसको नीति तटस्थै छ। त्यसैले, महाराजको तीन प्रश्नमा हेमराज शर्माको राय सही थियो।
ब्रिटिश–इण्डियाको नीति भने त्यस्तो थिएन र अहिले स्वतन्त्र भारतको नेपाल नीति पनि उस्तै छ। सुगौली सन्धिले नै लाएको चोटको पीडा हो, यो। चन्द्रशमशेर महाराजले त्यो सन्धिको पीडा हेमराज शर्मासँग यसरी पोखेका छन्– “गुरु! एक पल्ट चुकेपछि सम्हाल्न ठूलो हम्मे पर्ने रहेछ।”
साँच्चै, देश संचालकको एउटै असावधानीले, एउटै त्रुटिले शताब्दीयौंसम्म देशलाई दुखाउँदो रहेछ। जनताले पीडा भोगिरहनु पर्दोरहेछ। भीमसेन थापाको असावधानी र राजनीतिक चातुर्यको अभावबाट देशवासी र पछिसम्मका देश संचालकहरूले पनि ठूलो पीडा भोगिरहनुपरेको छ। चन्द्रशमशेरले त्यही पीडा पोखेका हुन्। उनी सन्धि सच्याउन चिन्तित थिए, त्यो धुनमा लागिपरेका थिए। सुगौली सन्धिले नेपाल र नेपालीलाई पारेको पीडाबारे मैले नेपालको महाभारत मा लेखेको छु :
उपर्युक्त विचार–विमर्श गर्दा हामीलाई वि.सं. १८७१ मा भएको अंग्रेजसँगको युद्धको सम्झ्ना हुन आउँछ। त्यसवेला युद्ध गर्नु उचित हुन्छ कि हुँदैन भनी बसेको भारदारीमा आफ्नो आन्तरिक शक्ति कस्तो छ, विश्व परिस्थिति कस्तो छ भनी विश्लेषण गर्दै कसैले छिरिक्क कुरा उठाएन। एउटा भरतपुरको किल्ला फोर्न अंग्रेजलाई कति ठूलो सकस पर्यो भन्ने दृष्टान्त दिएर भीमसेन थापाले अंग्रेजलाई कमजोर आकलन गरे।
फ्रान्ससँग अंग्रेजको सम्बन्ध कस्तो छ, भारतका बलिया शक्तिहरू मराठासँग, शिखसँग अंग्रेजको सन्धि विग्रह के कस्तो छ, अंग्रेजको आफ्नो शक्ति कति कस्तो छ, उसका मद्दतगार को को छन्, उसको सैनिक संगठन के कस्तो छ, शस्त्रास्त्रका खरखजाना के कति छ, यस्तो कुनै ध्यान विचार गरिएन।
यहाँ केन्द्रमा जयपराजय भोगेका, जीवनभर युद्धमा खारिएका बूढा पुराना अनुभवी भाइभारदारहरू कोही थिएनन्, उनीहरू सुदूरपश्चिम किल्ला काँगडासम्मको युद्ध घटनाको शासन व्यवस्थातिर लागिरहेका थिए। यहाँ मुख्य शासक जर्नेल मुख्तियार भीमसेन थापा युद्धको गाह्रो साँघुरो नबुझेका आँलाकाँचा नै थिए। उनको होश भन्दा नयाँ जोश बढी थियो। उनका सल्लाहकार त्यस्ता बडाबुजु्रक कोही थिएनन्।
भीमसेन थापा राजनीतिमा खेल्नुपर्ने षाडगुण्य, चाल्नुपर्ने साम, दाम, दण्ड, भेदमा वाकिफ पनि थिएनन्। देशको परिस्थितिको पहिचान पनि उनमा थिएन भने सार्वलौकिक विश्वपरिस्थिति के थाहा?
यूरोपमा अंग्रेजसँग टक्कर लिने महान् विजेता नेपोलियन बोनापार्टको पनि हार भइसकेको थियो। यता भारतमा शिखसँग अंग्रेजको मेल नै थियो। वीर लडाका मराठासँगको संघर्ष थामिसकेको थियो भने लखनऊको नवावसाहेब पनि अंग्रेजका मद्दतगार गुलाम जस्तै भइसकेका थिए।
आफ्ना देशका भरखर जितिएका प्रदेशहरूमा राजारजौटाहरूमा सङ्घटन राम्रो बन्दोबस्त बाँधिसकेकै थिएन, कतै कतै अव्यवस्था फैलिएको वातावरण सङ्लिसकेको थिएन। यसले विश्रृङ्खल अवस्थामा वैरीसँग केही तलमाथि पर्यो, मनमुटाव बढ्यो भने पनि साम, दाम, दण्ड, भेदद्वारा थामथुम पारेर मेलमिलाप बढाउनुपर्थ्यो।
कि वीर लडाका मराठा शिखसँग वैरीको संघर्ष परेको वेला कि त उनको सहायता आफूले पाएको वेला पारेर आफ्नो सर्दोपरेको वेला युद्ध गर्नुपर्नेमा उल्टो शत्रुको सबैतिरबाट सर्दोपरेको वेला बाहिरिया वा भित्रिया कुनै शक्तिसँग मुकाविला गर्नु नपरेको वेला वरपर बाहिरभित्र केही विचार नगरी प्रतिकूल अवस्थामा बलवान् शत्रुसँग भिड्न जानु जर्नेल भीमसेन थापाको एकदम अहङ्कारपूर्ण अपरिपक्वता छँदैथियो, त्यसबाट सिर्जिएको पराजयले देशमा पुस्ता दरपुस्तासम्म कठोर पीडा सिर्जियो, जसले अहिलेसम्म नेपाली मात्रको अन्तस्करणलाई कटकट खाइरहेको छ।
यो पीडा मात्र होइन, पाइला पाइलामा नेपालको स्वतन्त्रतालाई, प्रगतिउन्नतिलाई पनि बाधा पारिरहेछ। हाम्रा वीर सपूतहरूले जीवनभर रगत पसिना बगाएर ज्यानै फालेर स–साना भुरेटाकुरे राजा रजौटाका देश जोडेर पूर्व टिष्टादेखि पश्चिम काँगडा सतलजसम्म फैलिएको विशाल नेपाल बनाएकोमा त्यस युद्धबाट खुम्चेर मेची–महाकाली बीचमा सीमित हुन आयो।
यस्तो ऐतिहासिक परिवेशलाई नसोची नसम्झी नबुझी पछिका हाम्रा शासक र विज्ञ हुँ भन्नेहरूले इतिहासको धारलाई नै उल्ट्याएर हाम्रो उज्ज्वल पक्षलाई नै कलङ्कित पारिदिएका छन्।
यसमा विदेशीहरूको प्रमुख हात त हुने नै भयो। स्वदेशीमा अहिलेका नयाँ उब्जिएका नेता त यस्तो काममा अघिसर्ने नै भए। स्वयं राजा दरबारिया शक्तिले समेत सत्पात्रलाई कुपात्र र कुपात्रलाई सत्पात्र बनाएर आफ्नो पुर्खाको आफ्नो देशको इतिहासलाई कलुषित पारिदिए।
राजा महेन्द्रले किन यसो गरे, बुझिनसक्नु जाल छ। दरबारको प्रेरणा, प्रोत्साहनबाट चित्तरञ्जन नेपालीले शाह राजाहरूमा ‘भताभुङ्गे राजा लथालिङ्गे चाला’ भएका बद्नाम राजालाई ‘सुपात्र’ सपूत (हिरो) बनाएर लेखिएको ‘रणबहादुर शाह’ भन्ने किताबमा, बाबाले थालेको एकीकरणको अभियानलाई बढाउँदै टिष्टादेखि यमुनासम्म देशको विस्तार गरी विशाल नेपाल बनाउने सच्चा देशभक्त सुपात्र वीर सपूत विभूति भन्नुपर्ने नायब बहादुर शाहलाई चाहिं ‘राजाविरोधी’ देशद्रोही बनाएर कुपात्र कपूत (किरो) बनाएर लेखिदिएका छन्।
त्यस्तै आफ्नो राजनीतिका चातुर्यको अभाव र अक्षमताले विशाल नेपाललाई खुम्च्याएर मेची–महाकालीमा सीमित पार्ने जर्नेल भीमसेन थापालाई चाहिं महापुरुष बनाएर उनका उपर देशी विदेशीले गरेका प्रशंसा वाक्य गुथाएर ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ भन्ने पुस्तक लेखेर उनको गुण बखान प्रशंसा यसरी गरेका छन्–
म मरि मुलुक डुब्न्या छैन, भीमसेन मर्यो भन्या देश डुब्न्या छ –रणबहादुर शाह।
हामी बजीरमध्ये ठूला बुद्धिमान् बजीर भीमसेन थापा हुन्– जङ्गबहादुर।
आफ्नो देशको स्वतन्त्रता भन्दा ज्यादा नजीकको प्रियवस्तु उन (भीमसेन) को हृदयमा अरू थिएन– ओल्डफिल्ड।
एउटा भीमसेन थापा नजन्मेको भए देश उहिल्यै हिंडिसक्थ्यो – चन्द्रशमशेर।
भीमसेन उपरका यी प्रशस्ति सही होइनन्। ‘भीमसेन थापाले चुकेर अंग्रेजसँग सन्धि गरिदिंदा, हामीलाई त्यो कुरा सच्याउन कस्तो समस्या परिरहेछ’ भन्ने चन्द्रशमशेरको भनाइले पनि यी प्रशस्ति बनावटी रहेछ भन्ने स्वतः बुझिन्छ। भीमसेन थापाले महात्रुटि गरे, देश डुबाए, सुगौली सन्धि सच्याउन हामीलाई बडो समस्या परेको छ भन्ने कुरा चन्द्रशमशेरको मनमा खेल्दोरहेछ भन्ने स्पष्ट हुन्छ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
