अन्तर्वार्ता/विचारशनिबार, जेठ ८, २०७३
बुद्ध जन्मस्थल लुम्बिनी: अहिंसाले अतिथि स्वागत
पुण्य भूमि लुम्बिनीलाई अहिंसा क्षेत्र बनाएर पञ्चशीलको पहिलो शील अर्थात् प्राणी हिंसा वर्जितको अवस्था सिर्जना गर्नु आजको आवश्यकता हो।
नयाँ वर्षको पात्रोमा वैशाखलाई भित्तामा झुन्ड्याएपछि फेरि उही पुराना चाडपर्व, जात्रा–मेला, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय दिवस तथा विभिन्न धर्म, संस्कृति वा कर्मकाण्डी दिनहरू क्रमैले पाना पानामा देखा पर्न थाल्दछन्। तिनकै लहरमा बुद्धजयन्ती पनि टुप्लुक्क आइपुग्छ वैशाख पूर्णिमाका दिन। बुद्धको जन्मस्थल लुम्बिनी फेरि एकपल्ट जन्मिन्छ नेपाली मन मस्तिष्कमा।
बुद्ध नेपालमा नै जन्मेका हुन् भन्नेहरूको आवाजले बुद्धजन्मको स्थापित मान्यतालाई फेरि शंकाको घेरामा प्रवेश गराउन थाल्दछ। अनि लुम्बिनी र सगरमाथाको गाथामा नेपाली राष्ट्रियतालाई झुन्ड्याएर गौरवका गीतहरू गाइन्छन्।
बुद्धजयन्तीलाई लुम्बिनी दिवसको रूपमा पनि मनाइन थालेको छ। त्यहाँ राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सभा, सम्मेलन, गोष्ठी आदि कार्यक्रम गरिन्छन्, तर बुद्धका पञ्चशीलहरूमध्ये कति सूत्रको पालना भयो, बुद्धको जन्मस्थल लुम्बिनीमा, लुम्बिनीको नेपालमा, नेपालको एशियामा र एशियाको विश्वमा भन्ने कुराको लेखाजोखा हुने गरेको छैन।
बुद्ध, धर्म र संघको त्रिशरणमा पञ्चशील पालना गर्नु भनेर भिक्षु, गुरु, लामाहरू बारम्बार दोहर्याइरहन्छन्। लुम्बिनीलाई देवभूमि मानेर ‘नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स’ भन्ने पाली भाषाको प्रार्थना अविरल बर्सन्छ त्यस पुण्य भूमिमा। पञ्चशील अहिंसाबाट प्रारम्भ हुन्छ। तसर्थ, लुम्बिनीमा प्राणीलाई हत्या गर्नु, हिंसा गर्नु वा कष्ट दिनुहुँदैन भन्ने कुरा जनस्तरदेखि राष्ट्रियस्तरसम्म सर्वमान्य सिद्धान्तको रूपमा स्थापना गराउनुपर्दछ।
उदाहरणः चुम उपत्यका
उत्तरी गोरखाको छेकम्पार भनिने चुम उपत्यकाका जनता गत १०० वर्षदेखि अहिंसाप्रति प्रतिबद्ध छन्। त्यहाँको प्रत्येक नयाँ पुस्ताले त्यो प्रतिबद्धता दोहोर्याउने, नवीकरण र परिमार्जन गर्ने काम पनि गर्दै आएको छ। चुम उपत्यका अहिंसा क्षेत्रलाई अझ् विस्तार गर्ने क्रममा चुम्चेत गाविसवासीले जाहेर गरेको पछिल्लो प्रतिबद्धता यहाँ उद्धृत गरिन्छ।
अहिंसा क्षेत्र कायम गरेर त्यस अनुरूप बौद्ध धर्मको अभ्यास गर्ने परम्परा हिमाली प्रदेशका लागि नौलो कुरा होइन। धर्मगुरु पद्म सम्भवले आठौं शताब्दीमा १०८ वटा ‘बेयुल’ (पवित्र गोप्य स्थल) स्थापना गरेको विश्वास महायानी बौद्ध जगतमा गरिन्छ। यस्ता लुकाइएका ‘बेयुल’हरूमा सकल प्राणीको जीवन सुख–शान्तिमा बित्छ। यस्ता भूमिलाई ‘किमोलुङ’ (हर्षपूर्ण उपत्यका) पनि भनिन्छ। यस्ता भूमि सगरमाथा राष्ट्रिय निकुञ्जको खुम्बु, मकालु–वरुण राष्ट्रिय निकुञ्जको खेम्पालुङ, लाङटाङ राष्ट्रिय निकुञ्जको योल्मो र नाग्मो, मनास्लु संरक्षण क्षेत्रको सेराङ गुम्बा क्षेत्र तथा चुम उपत्यकामा हालसम्म पनि कायम छन्– प्राणी हत्या–हिंसालाई वर्जित गरेकाले।
चुम उपत्यकाको अहिंसा प्रतिबद्धतामा ‘मह नकाढ्ने’ कुरा ज्यादै प्रशंसनीय छ। यो कुरा भीरमाहुरीसँग सम्बन्धित छ। नेपालमा भीरमाहुरीको मह काढ्ने ज्यानमारा खेललाई पश्चिमा पर्यटकहरूले अतिरोमाञ्चकारी ढंगमा चित्रण गरेर हाम्रो पर्यटन व्यवसायलाई गुन लगाए पनि यसबाट स्थानीय वातावरण बिगार्ने काम प्रोत्साहित भएको छ। भीरमाहुरी विश्वभरिका महमाहुरीमध्ये सबभन्दा ठूलो शरीर भएको प्राणी हो। यसले हाम्रा वनदेखि कृषिबालीसम्मका वनस्पतिलाई परागसेचन सेवा पुर्याउँदछ। हजारौं हजारको संख्यामा यस्तो गुणी प्राणीको ज्यान लिंदै मह काढ्नुलाई चुम क्षेत्रले वर्जित गरेको छ।
चुम्चेत–८, ताजुकको भीरमा मात्र २२ ‘ड्राङछ्या’ (घार) भीरमौरी छन्। भीरमाहुरीले चाका बनाउन छानेको भीर प्राकृतिक दृष्टिले सबभन्दा सुरक्षित स्थान ठहर्ने गरेको छ। बाढी–पहिरोले मात्र होइन, भूकम्पीय प्रभाव दृष्टिले पनि भीरमाहुरीहरू सुरक्षित हुन्छन्। सबै प्राणीलाई सबभन्दा प्यारो लाग्ने ज्यान सुरक्षित बनाउने ज्ञान मान्छेलाई दिलाउन बुद्ध जन्मस्थल लुम्बिनीले अग्रणी भूमिका खेल्नुपर्दछ।
संसार परिवर्तनशील छ, तर कुनै पनि परिवर्तनले मानिसको शान्तिचाहनालाई बदल्न सक्दैन। वर्तमान विश्व हिंसा–आतंकबाट आक्रान्त छ। हामी प्रत्येक वर्ष विश्वलाई शान्तिको सन्देश दिने प्रयास गर्दछौं। बुद्ध जन्मेको देश भएकोले पनि हामीलाई त्यो अवसर स्वतः प्राप्त छ। हामी स्वयंले बुद्धको शिक्षालाई अभ्यासमा ल्याउन कति प्रयास गर्यौं भन्ने प्रश्नले अझ् बढी महत्व राख्दछ।
स्थानीय जागरुकता
९५ वर्ष पहिले १९७७ सालमा अवतारी लामा सेराप दोर्जेले आफ्नो तपोभूमि चुम क्षेत्रका बासिन्दालाई अहिंसा पालनामा लिखित रूपमा प्रतिबद्ध बनाउनुभएको थियो। उहाँका उत्तराधिकारी सेराप रिन्पोछेले २०२९ सालमा सम्बोता लिपिको लिखतलाई देवनागरी (नेपाली) मा रूपान्तरण गरेर दोस्रो पुस्ताका चुमवासीलाई त्यसमा समर्पित गराउनुभयो। २०५३ जेठमा नेपाल विश्व संरक्षण संघ (आईयूसीएन) को कार्यक्रम लिएर चुम जाँदा मैले राछेन गुम्बामा ८० जना आनी (१३ देखि ८३ वर्षसम्मका) भेटघाट गरी डुक्पा रिन्पोछेबाट आशीर्वाद थाप्दा चुम अहिंसा क्षेत्र हो भन्ने जानकारी पाएको थिएँ।
त्यसबेला युवा अगुवा निमा लामालगायत थुप्रै चुमवासीबाट एउटा चिन्ता व्यक्त भएको थियो– पर्यटक र गैरबौद्ध नेपाली कर्मचारीलाई कसरी अहिंसा पालन गराउने? त्यसपछिका दिनहरूमा निमा लामाले रिन्पोछेको छत्रछायाँमा चुम कल्याण समिति स्थापना गरेर चुम क्षेत्रको विकासमा विभिन्न प्रयासको थालनी गरे। त्यस सिलसिलामा २०६६ सालमा चुम महोत्सव र २०६९ मा ‘स्याक्या’ (अहिंसा) महोत्सव भयो। स्याक्या महोत्सवको उद्घाटन हत्या–हिंसा र युद्धबाट आएका तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईबाट भयो। चुमवासीले फेरि एकपल्ट अहिंसाप्रति प्रतिबद्धता जनाउँदै भट्टराईलाई पनि प्रतिबद्ध बनाउन चाहे।
अवतारी गुरु डुक्पा रिन्पोछे, चुम कल्याण समितिका अध्यक्ष निमा लामा र छेकम्पारवासीको अहिंसाप्रतिको प्रतिबद्धता ज्यादै सराहनीय छ। छेकम्पार भ्रमण गरेको २० वर्ष काट्नै लाग्दा २५६०औं बुद्धजयन्तीको अवसरमा म पुरानै इच्छा दोहोर्याउँछु– लुम्बिनीमा पनि सम्पूर्ण अतिथि देव–देवी, भक्तजन, भन्ते र भिक्षुहरूलाई अहिंसाले स्वागत गरुन्, शुभकामना!
पञ्चशील
१) पाणातिपाता वेरमणि सिक्खापदं समादियामि। (अर्थात् मैले प्राणीहरू हिंसा गर्नुबाट रहित भै बस्छु भन्ने शिक्षा धारण गर्छु।)
२) अदिन्नादाना वेरमणि सिक्खापदं समादियामि। (अर्थात् मैले अर्काको चिज लोभ चित्तले लिने छैन। चोरी गर्दिनँ भन्ने शिक्षा धारण गर्छु।)
३) कामेसु मिच्छाचारा वेरमणि सिक्खापदं समादियामि। (अर्थात् मैले आफ्नो विवाहिता स्त्री वा पुरुष छाडी अरू स्त्री वा पुरुषसँग गमन गर्दिनँ भन्ने शिक्षा धारण गर्छु।)
४) मुसावादा वेरमणि सिक्खापदं समादियामि। (अर्थात् मैले असत्य/झूट बोल्दिनँ भन्ने शिक्षा धारण गर्छु।)
५) सुरामेरय मज्ज पमादट्ठाना वेरमणि सिक्खापदं समादियामि। (अर्थात् मैले रक्सी, गाँजा, अफिम आदि बेहोश (प्रमाद) हुने चिजहरू सेवन गर्दिनँ भन्ने शिक्षा धारण गर्छु।)
अन्तमा भिक्षु भन्नुहुन्छ, तिसरणेन सह पञ्चशील धम्म साधुक सुरक्खितं कत्वा अप्पमादेन सम्पादेथ। (अर्थात् त्रिशरण सहित यो पञ्चशील धर्मलाई राम्रोसँग सुरक्षित गरी अप्रमादि भै पालन गर्नु।)
(स्रोतः धर्मरत्न शाक्यद्वारा अनुवादित परित्राण वि.सं. २०६५, बुद्धसम्वत् २५५२।)
बुद्धका पञ्चशील देशनालाई मध्यनजर गर्दै एशियाको सुरक्षा, समृद्धि र विकासका लागि भारतका तत्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू तथा चीनका प्रधानमन्त्री चाउ एन लाईले सन् १९५४ (वि.सं. २०११) मा कूटनीतिक पञ्चशीलको सिद्धान्त प्रतिपादन गरेका थिए। त्यसको ६०औं जन्मजयन्ती मनाउँदै चीनका वर्तमान राष्ट्रपति सी जि पिङले सन् २०१४ मा पञ्चशीलका सिद्धान्तलाई चीनको कूटनीतिमा पुनः प्रवेश गराएका छन्। पञ्चशीलका ती पाँच सिद्धान्तको संक्षेप–
१) एक राष्ट्रले अर्को राष्ट्रको सार्वभौमसत्तालाई सम्मान गर्ने
२) एक राष्ट्रले अर्को राष्ट्रमा आक्रमण वा अतिक्रमण नगर्ने
३) एक राष्ट्रले अर्को राष्ट्रको आन्तरिक मामलामा दक्खल नदिने
४) आपसी हितका लागि एक राष्ट्रले अर्को राष्ट्रसँग सहयोग गर्ने र,
५) शान्तिपूर्ण सहअस्तित्व कायम राख्ने।
पञ्चशीलका बुद्ध देशना विश्वशान्तिका लागि अति नै महत्वपूर्ण छन् भन्ने कुरा संयुक्त राष्ट्रसंघले पनि मानिआएको छ। यी देशना कालजयी छन्। तिनलाई व्यवहारमा ल्याउन सबैले चेष्टा गर्नुपर्छ। बुद्धजयन्तीले बुद्ध देशनाको कार्यान्वयन पक्षमा बढी जोड दिनुपर्ने हुन्छ। बुद्ध देशनाको कार्यान्वयन बुद्धको जन्मस्थल लुम्बिनीमा त झनै हुनुपर्छ भन्नेमा दुईमत नहोला। तसर्थ जनस्तरबाटै प्रारम्भ गर्नुपर्ने वा गराउनुपर्ने प्रथम देशना अर्थात् प्राणी हिंसाको वर्जना लुम्बिनी क्षेत्रले सम्मान गर्नैपर्छ।
छेकम्पारवासीको प्रतिबद्धता
गोरखा जिल्लाको उत्तरी भागमा गणेश हिमाल (७,४०६ मिटर) तथा श्रृङ्गी हिमाल (७,१८६ मिटर) को बीचमा बग्ने स्यार खोलाले बनाएको उपत्यकालाई परम्परागत रूपमा चुम उपत्यका वा क्षेत्र भनिन्छ। यस क्षेत्रलाई राणाकालमा अठार सय खोला पनि भनिन्थ्यो। अहिलेका छेकम्पार र चुम्चेत गाउँ विकास समिति यसैभित्र पर्दछन्। बौद्ध गुरु मेलारेपाले समेत ध्यान गरेको यो पवित्र भूमि आजसम्म पनि बौद्ध धर्मको आस्था र उपासनाको कर्मथलोका रूपमा रहिआएको छ। बौद्ध धर्मग्रन्थमा उल्लेख भएको बेयुल किमालुङको एक अभिन्न अंगको रूपमा यस क्षेत्रलाई पुजिन्छ।
‘अहिंसा परमोधर्म’ अथवा संसारमा सबैभन्दा ठूलो धर्म अहिंसा हो भन्ने कुराको ज्वलन्त उदाहरण यस क्षेत्रमा साकार हुन्छ। यस क्षेत्रमा रहेको मु गुम्बा देक्षेन ल्हुण्डुप, राछेन ज्याङक्षु, छ्योलिङ गुम्बा एवं स्थानीय प्रमुख लामाहरू निले लाब्राङ, ङाग् लाब्राङ, खाङ्सार लाब्राङ आदि गुरु लामा र तत्कालीन तालुकदार एवं स्थानीय बासिन्दाले विक्रम सम्वत् १९७७ मा महागुरु करुणामय अवतारी पुज्य डुक्पा लामा सेराप दोर्जेको रोहवरमा यस क्षेत्रको अहिंसा परम्परालाई पालन गर्ने/गराउने प्रतिबद्धता जनाई चुम निवासी आफ्नो धर्म–कर्ममा तल्लीन रहिआएका छौं।
सम्बोता लिपिमा लेखिएको त्यो प्रतिबद्धतालाई २०२७ सालमा पनि सम्बोता लिपिमै र २०२९ सालमा देवनागरी (नेपाली) लिपिमा लेखेर यस क्षेत्रमा रहेका सबै २२१ घरधुरीका मूलीले पुज्य अवतारी गुरु ङावाङ् खेन्रप (डुक्पा रिन्पोछे) समक्ष पुनः शपथ गरी विभिन्न गाउँ र गुम्बाहरूमा सुम्पने काम भएको थियो। त्यसैगरी २०६६ सालमा आयोजित पहिलो चुम महोत्सवमा स्थानीय बासिन्दाले अहिंसा क्षेत्रलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्यौं।
यो प्रतिबद्धतालाई ‘चुम महोत्सव–अहिंसा र बौद्ध संस्कृतिको सन्देश’ भन्ने मुख्य सन्देशसहित आज यहाँ शुरू भएको चुम उपत्यका सांस्कृतिक ‘स्याक्या’ महोत्सव– २०६९ मा पनि हामी वर्तमान पिंढी समेत चुम संस्कृति एवं संस्कारलाई आत्मसात् गर्दै चिरकालसम्म चुम क्षेत्रलाई अहिंसा क्षेत्र कायम राख्ने प्रतिबद्धता जाहेर गर्दछौं। हाम्रा पूर्वजले अहिंसा विषयका ६ वटा बुँदालाई विशेष किटान गर्नुभएको छः
१. कुनै पनि जीव–जनावर काटमार नगर्नेः याक, चौंरी, भेडा, च्याङ्ग्रा, खसी, बोका, हाँस, कुखुरा आदि पाल्तु जनावर वा पक्षी काटमार नगर्ने। यस क्षेत्रमा आउने पाहुना, पर्यटक, कर्मचारी एवं सुरक्षाकर्मीहरूले पनि चाडपर्व र दशैंमा समेत पशु वध नगरी अहिंसाप्रति श्रद्धा र भक्ति जाहेर गर्ने।
२. शिकार नखेल्नेः वन्यजन्तु, पशुपक्षीको कल्याण गर्न यस क्षेत्रमा कसैले पनि शिकार खेल्न/खेलाउन निषेध गर्ने। पासो थापेर वा कुनै पनि किसिमका उपायबाट चराचुरुंगी लगायत जंगली जनावर छोप्ने र मार्ने कामलाई निषेध गर्ने।
३. मह नकाढ्नेः भीरपाखामा माहुरीका चाकासमेत भत्काई, आगो–डढेलो लगाई मह काढ्ने चलनले हजारौं प्राणीको ज्यान जान्छ। यस्तो प्रकारले प्राणीहत्या गरी मह काढ्ने कामलाई पनि निषेध गर्ने।
४. डढेलो नलगाउनेः सामुदायिक वन, निजी वन एवं चरन क्षेत्रहरूमा आगो/डढेलो नलगाउने। वनजंगलमा खोरिया फाँडेर खेती गर्न निषेध गर्ने।
५. प्रवेश निषेधः मासुको प्रयोजनका लागि व्यापार गर्ने उद्देश्यले कुनै पनि जीव एवं पक्षीलाई अहिंसा क्षेत्रभित्र प्रवेश गराउन निषेध गर्ने। काम दिन नसक्ने गरी बूढो भएपछि पनि कुनै जनावरलाई मारेर काटिखाने व्यक्तिको हातमा नबेच्ने र चौंरीका बाच्छा नमार्ने।
६. पशुवध पूर्णरूपमा निषेधः कुनै तवरबाट जीवहिंसा वा मारकाट नगर्ने चलनलाई यथावत् राख्ने अर्थात् काटमार र पशुवध पूर्णरूपमा निषेध गर्ने/गराउने।