ब्लगशनिबार, जेठ ८, २०७३
आँगनमै औषधि
रैथाने स्रोतबारे बेवास्ता गरेकैले हामी खर्चिलो उपचारको जञ्जालमा फसेका छौं।
सयौं चौतारामा वर–पीपल रोपेका म्याग्दीका चन्द्रबहादुर कार्की अब १०८ तुलसीका मठ बनाउने अभियानमा छन्। झ्ट्ट सुन्दा कार्कीको यो काम धार्मिक लाग्छ। हो पनि, उनी धार्मिक हुन्। तर, उनी कुराले होइन, कर्मले धार्मिक हुन्।
वातावरण संरक्षण र पानीको मूल बचाउन वरपीपल रोपेका उनले औषधीय गुणबारे बुझाउन तुलसीको मठ बनाउन शुरू गरेका हुन्। के आफूलाई धर्मात्मी भन्नेहरू धेरैले कार्की जस्तै ‘धर्म’ गरेका छन् त? पक्कै छैनन्।
कार्कीको कामबारे पत्रिकामा पढिरहँदा मलाई हजुरआमाको याद आयो। उहाँ प्रत्येक बिहान तुलसीको मठमा ढोगेर पानी हाल्नुहुन्थ्यो। बेलुका दियो बाल्नुहुन्थ्यो। हिन्दू धार्मिक ग्रन्थमा तुलसीलाई विष्णुको अवतार पनि मानिन्छ।
म १०–११ वर्षकी भएपछि भने तुलसीको मठमा दियो बाल्ने जिम्मेवारी मलाई आइलाग्यो। कहिलेकाहीं त सारै र्झ्को लाग्थ्यो। ‘आजदेखि गर्दिनँ’ भनिदिऊँ जस्तो हुन्थ्यो। तर अहिले वल्ल मलाई हजुरआमा र आमाले सानैमा तुलसीलाई आदर गर्ने राम्रो संस्कार सिकाउनुभएको बोध भएको छ। हजुरआमाका बुहारी र हामी नातिनातिनाले पनि यो संस्कार कायम राखेका छौं, फाइदा पनि लिएका छौं।
हजुरआमा रुघाखोकी लाग्दा बेसारपानीमा तुलसीका पात उमालेर ख्वाउनुहुन्थ्यो। अहिलेसम्म मलाई पनि यही बानी लागेको छ। रुघाखोकी त्यसरी निको हुन्छ भनेर जान्दाजान्दै पनि अरूलाई औषधिका रूपमा सिफारिश गर्न मलाई लाज लाग्थ्यो। तर, जब विश्व स्वास्थ्य संगठनले नै वनस्पतिको औषधीय गुणबारे बताउन थाल्यो, अनि भने मलाई पनि भएका ज्ञान बाँड्ने आँट पलाएको छ।
मेरो बिहान तुलसीको दुई पत्ता चपाएर शुरू हुन्छ। घरमा घाँटी दुख्यो, रुघा लाग्यो भने तुलसी नै पहिलो औषधि बन्ने गरेको छ। म यात्रामा निस्कँदा तुलसीको सुकाएको पत्ता बोक्न बिर्सन्न।
हिजोआज बजारमा तुलसीको चिया देख्छु। घरको तुलसीको बोट वास्ता नगर्नेहरूले पनि तुलसीको चिया चाहिं किन्दा रहेछन्। यसले तुलसीको व्यापारीकरण भएको देखाउँछ। व्यापारीकरणले प्रयोगसँगै मूल्य पनि बढाउँछ। विस्तारै मानिसले तुलसीको उपादेयता बुझन थालेका छन्।
तुलसी जस्तै करी पत्ता अर्थात् मीठो नीम श्रीलंका र दक्षिण भारतीय खानामा अत्यावश्यक मानिन्छ। साम्बर बनाउँदा करी पत्ताले खानामा स्वाद मात्र होइन पौष्टिक तत्व पनि थप्छ। करी पत्ता हाम्रै तराईमा पनि जताततै पाइन्छ, तर स्थानीय समुदायले त्यसको फाइदाबारे खासै थाहा पाएका छैनन्। करी पत्ताको प्रयोगले भिटामिन ए सहजै प्राप्त हुन्छ, साथै यसमा रहेको रेसादार पदार्थले कब्जियत हटाउन मद्दत गर्छ। यसलाई धनियाँसँग पिसेर खानेहरू पनि छन्।
गाउँघरका औषधिका रूपमा मान पाएका तितेपाती, बेसार, अमलालाई अहिले हेलाँ गर्न थालिएको छ। तितेपाती औषधिको रूपमा जापान निर्यात गरिन्छ। अकुप्रेसर र परम्परागत चिनियाँ औषधिमा यसको प्रयोग पर्याप्त हुन्छ। सुकेको तितेपातीको धूवाँले लामखुट्टे नआउने पनि विश्वास गरिन्छ। तर, हामीलाई तितेपाती भनेकै तितो मात्रै लाग्यो। धेरै पौष्टिक तत्व पाइने सिस्नोको स्थिति पनि यस्तै छ।
केही समयअघि चीनको औषधि कम्पनीले पुदिनाले भाइरल इन्फ्लुएञ्जाबाट बचाउने औषधि निर्माण गर्ने भन्दै ‘पेटेन्ट’ गर्न खोज्यो। तर, भारतका आयुर्वेद वैज्ञानिकहरूले आफ्नो उपचार पद्धतिमा वर्षौंदेखि पुदिनाको प्रयोग भइरहेको भन्दै ‘पेटेन्ट’ गर्न दिएनन्। पुदिना हामीकहाँ पनि प्रशस्त पाइन्छ। तर, यसको महत्व हामीलाई अरूले नै बुझाइदिनुपर्ने भएको छ।
गर्भवती हुँदा हात, खुट्टा चिलाउने समस्या धेरैमा देखिन्छ। चिलाइ कम होस् भनेर कपूरलाई नरिवल वा तोरीको तातो तेलमा मिसाएर मालिस गर्ने पुरानो चलन हो। म गर्भवती हुँदा ठूलीआमाले भन्नुभएकाले मैले पनि त्यसै गरेकी थिएँ। हिजोआज यति सानो तर महत्वपूर्ण उपचारको ज्ञान हराउन थालेको छ।
हाम्रा भान्छामा रोगहरू निको पार्ने प्रशस्त औषधि छन्। पुर्खाले त्यसैका भरमा रोग निको पार्दै आइरहेकै हुन्। तर, आधुनिक औषधि विज्ञानसँगै भान्छा र करेसाबारीमा पाइने त्यस्ता औषधि विस्थापित भइरहेका छन्। त्यसैले सामान्यभन्दा सामान्य स्वास्थ्य समस्यामा पनि हामी ट्याबलेट र सुईको भर पर्छौ। औषधिका लागि चर्को मूल्य तिर्न बाध्य हुन्छौं।
आधुनिकतासँगै रैथाने ज्ञानलाई आदर नगर्ने प्रवृत्ति झाङ्गिदो छ। कसैले यसबारे कुरा गरिहाले हामी पुरातनवादी भन्दै उडाउँछौं। परिणाम, मान्छेसँगै ज्ञानको स्रोत र सीप पनि लोप भइरहेको छ। यसको अर्थ, हामीकहाँ थुप्रै चन्द्रबहादुर कार्कीको खाँचो छ।