समाचारशनिबार, जेठ ८, २०७३
प्रहरी नियन्त्रणमै थुनुवाको मृत्यु भएपछि पर्सामा तनाव
जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा रहेका एक जनाको मृत्यु भएपछि तनाव भएको छ ।
पर्साको महुवन–३ का गणेश साहको प्रहरीको नियन्त्रणमा रहेका बेला गए राति ७ः४५ बजे मृत्यु भएको हो ।
बिरामी साहलाई प्रहरीले नियन्त्रणमा लिएपछि उपचारको अभावमा मृत्यु भएकाले मानवअधिकार आयोग समेतको संलग्नतमा छानविन नभएसम्म शव नबुझ्ने मृतकका आफन्तले बताएका छन् ।
छोराको ससुरालीबाट दाइजो मागेको कसुरमा गणेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनका छोरा रविशंकरका अनुसार दुवै पक्षबीच इलाका प्रहरी कार्यालय पोखरीयामा छलफल भई मिलापत्र भइसके पनि साहलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई थुनेको थियो ।
उनले प्रहरीको लापरवाहीका कारण उच्चरक्तचापका विरामी आफ्ना बुवाको मृत्यु भएको दाबी गरे । भने, “जबसम्म छानविन हुदैन, तबसम्म बुवाको शव बुझ्दैनौं ।”
मृतकका भतिजा कन्हैयाप्रसाद साहले भने, “काका थुनुवा कोठामा सिकिस्त अवस्थामा हुनुहुन्थ्यो तर, प्रहरीले उपचारका लागि लैजान मानेन, अन्तिम अवस्था भएपछि मात्रै अस्पताल पुर्यायो, उहाँको गैसक्नुभएको थियो ।”
विरामी साहलाई उपचारका लागि प्रहरीले नारायणी अस्पतालमा लगेपछि उनको त्यहाँ उपचार हुन नसक्ने भन्दै नेशनल मेडिकल कलेजमा पठाइएको थियो र त्यहीं उनको मृत्यु भयो ।
रविशंकरको दाबी अनुसार साहलाई नेशनल मेडिकल कलेजका चिकित्सकले काठमाडौं लैजान सुझाव दिए पनि प्रहरीले नमान्दा अस्पतालमै मृत्यु भएको थियो ।
उनले भने, “उपचारका लागि एसपी, सिडिओ सबैलाई गुहारें तर, उनीहरुले बेवास्ता गरे ।”
मृतकको शव नारायणी उप–क्षेत्रिय अस्पतालमा राखिएको छ ।
साहको मृत्युपछि सयौंको संख्यामा आएका गाउँलेहरुको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठसँग छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकेपछि साहका आफन्त शव नबुझ्ने भन्दै बाहिरिएका छन् ।
यता पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले साहलाई पक्राउ परेको अर्को दिन मात्रै उपचार गराउन लगिए पनि उनको मृत्यु प्रहरीका लापरवाहीका कारण नभएको बताए ।
ईलाका प्रहरी कार्यालयमा सहमति भइसकेको मुद्दा फेरि किन उप्काएको भन्ने प्रश्नमा एसएसपी श्रेष्ठले दाइजो जस्तो कुप्रथामा सहमति–असहमति नुहने भन्दै थप छानविन गर्नु आवश्यक देखिएकाले उनलाई नियन्त्रणमा लिनु परेको बताए ।
हिरासतमा रहेका साहलाई प्रहरीले कनै यातना नदिएको भन्दै श्रेष्ठले परिवारले शव नबुझे कानून अनुसार गर्नुपर्ने व्यवस्था गरिने बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
