थप समाचारआइतबार, जेठ ९, २०७३
गोरखा: कुपन देखाएपछि दुई गाग्री पानी
गोरखा सदरमुकाम गोरखाबजारको ढुङ्गेधारामा पानी थाप्न अनिवार्य रुपमा ‘कुपन’ देखाउनुपर्ने नियम बनेको छ ।
भूकम्पपछि धारामा पानीको स्रोत घटेको तर उपभोग गर्ने उपभोक्ताको चाप बढेपछि बराह खानेपानी उपभोक्ता समितिले डेरावाल र घरबेटीलाई एकएक थान कुपन बाँडेको छ ।
पानी लिन धारा पुगेका उपभोक्ताले समितिले खटाएको प्रतिनिधिलाई कुपन देखाएपछि मात्रै पालोमा पानी भर्न पाउँछन् । कुपन देखाएपछि दिनमा एक पटक पानी भर्न पाइन्छ । “बिहान ४ देखि दिउँसो १२ बजेसम्म धारामा पानी छोडिन्छ,” स्थानीय उपभोक्ता विनोद अर्यालले भने – “आलोपालो पानी थाप्ने नियम भए पनि पहिले कसले पानी भर्ने भन्ने विवादले दिनहुँ झगडा हुने क्रम बढेको छ ।”
बराह धाराको १० हजार लिटर क्षमताको ट्याङ्कीमा जम्मा भएको पानी स्थानीय ५०० घरधुरीका उपभोक्ताले प्रयोग गर्दै आएका छन् । “घरमा गाईवस्तु पालेका उपभोक्तालाई दिनको तीन गाग्री पानी दिन्छौँ,” उनले भने– “वस्तुभाउ नहुनेले कुपन देखाएपछि दुई गाग्री पानी भर्न पाउँछन् ।”
समितिले शनिबार उपभोक्तालाई कुपन वितरण गरेको हो । एक गाग्री पानी भर्न तीन/चार घन्टा पालो कुर्दै आएका स्थानीयवासीले कुपन प्रणाली सुरु हुँदा पहिलेको भन्दा छिटो पानी भर्न पाएका छन् ।
त्यस्तै, धारामा हुने भीडभाड पनि केही घटेको छ । बराह धारामा मात्र होइन, सदरमुकामको तीनधारे, चाइनिजधारा, धारापानी, रोहटेपानी, सतिपिपल, बतासे, बाइकोसे, पन्थेस्वाँरा, खिरेपानीलगायत धारामा पानीको स्रोत घटेपछि एक गाग्री पानी थाप्न चार घन्टासम्म पर्खनुपर्ने बाध्यता छ ।
सदरमुकाममा खानेपानी वितरणको जिम्मा लिएको पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले चर्को महसुल लिए पनि पानी वितरण गर्न सकेको छैन । विद्युत् नहुँदा पानी वितरण गर्न नसकिएको संस्थाले जनाएको छ ।
हरमटारी क्षेत्रको घरमा खनेका इनारमा पानी सुकेपछि घरधनीले ट्याङ्करमा पानी ल्याएर काम चलाउँदै आएका छन् । लिटरको एक रुपैयाँ तिरेर दरौँदी, सिर्दी तथा लुदी खोलाको पानी ल्याउनु परेको उपभोक्ताले गुनासो गरेका छन् । घरमा पानी नआएपनि न्यूनतम महसुल भने तिर्नुपर्छ ।
गत वर्षसम्म सदरमुकामका ढुङ्गेधारामा हिउँदमा पनि पानीको स्रोत घट्दैनथ्यो । भूकम्पपछि पानीका स्रोत स्वाट्टै घटेपछि गाउँ–गाउँमा पानीको हाहाकार मच्चिएको हो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख नारायण आचार्यका अनुसार भूकम्पले ६० गाविस र दुई नगरपालिकाको १०० भन्दा बढी धारा र कुवाको मूल सुकेको छ । सरकार र विभिन्न दातृ निकायको सहयोगमा आयोजना निर्माण शुरु गरिएको छ ।
रासस