टिप्पणीआइतबार, जेठ ९, २०७३

अशोक लुंमिनि: हाम्रो लुम्बिनी

हिमालखबर

-शुक्र सागर
Sukra sagarधन्न, लुम्बिनी हाम्रो भयो, अब जोगाउने जुक्ति–जाँगर देखाउनुपर्छ ।

सम्राट अशोकले आफ्नो स्तम्भमा कुँदेको स्थाननाम हो– लुंमिनि । हामीले बोल्दै, लेख्दै आएको स्थाननाम हो– लुम्बिनी । लुंमिनि या लुम्बिनी त्यो शब्द हो, जसले आज अकाट्य रुपमा प्रमाणित भएको बुद्ध जन्मस्थललाई बुझाउँछ । ‘लुंमिनि’ कुँदिएको स्तम्भ भएकै ठाउँमा बुद्ध जन्मेका थिए ।

मेरो विचारमा, आज नेपालमा सबभन्दा बढी चासो दिइएको धार्मिक, सांस्कृतिक र पुरातात्विक वस्तु लुम्बिनीको अशोक स्तम्भ हो ।

त्यस्तो महत्व किन भयो भने, अशोकद्वारा कुँदाइएको ९० अक्षरको ब्राह्मी लिपिको अभिलेखले आज विश्वका लाखौं मानिसलाई धार्मिक पर्यटनका लागि लुम्बिनीमा तान्न सकेको छ । लुम्बिनीको तीर्थाटन गर्ने करोडौंको आकांक्षा बनेको छ । त्यो किन त भन्दा लुम्बिनी बुद्धको जन्मस्थल भएकाले । जन्मको प्रामाणिकता यो अभिलेखले दिएको छ ।

अशोक स्तम्भको ब्राह्मी लिपि आजको अंग्रेजी अक्षरको क्यापिटल लेटर जत्तिकै सरल र छर्लङ्ग छ । तैपनि पढ्ने/पढाउने र गर्ने/गराउनेहरूको लापरबाहीले गर्दा १० वर्षअघिसम्म अशोक स्तम्भ अगाडिको सूचनापाटीमा शुद्ध लिप्यान्तर राखिएको थिएन । आज कस्तो छ, मलाई थाहा छैन । आशा गर्छु– आज त्यो सही रुपमा लेखेर राखिएको छ । अझै छैन भने तत्काल त्यो सच्याइयोस् ।

अभिलेखमा कति वटा अक्षर छन् भन्नेमा लिपिविद्हरूबीचमा मतैक्यता छैन । जम्मा शब्द कति छन्, त्यो पनि भन्न सकिन्न । तर, जे जति छन्, तिनले आजको विश्वमा करोडौं श्रद्धालुले गलत ठाउँलाई बुद्धको जन्मभूमि भनेर माग्नुपर्ने अवस्था हटाइदिएका छन् । सही ठाउँमा प्रार्थना गर्ने अवसर जुटाइदिएको यो अभिलेखको तस्वीरमा (तल) चिनो लगाएका शब्दको अर्थ हेर्नुहोेस्:

ahok_stambhaहिद बुधे जाते: यहाँ बुद्ध जन्मे (बुद्ध भन्ने को ?)
शक्यमुनि ति: शाक्यमुनि (मानव) अनि ?
हिद भगवं जातेति: यहाँ भगवान जन्मेको हो (कहाँ) ?
लुंमिनि गामे: लुम्बिनी गाउँमा

हिद (यहाँ) र ति (पनि) शब्द दुई–दुई ठाउँमा कुँदिएका छन् । यी शब्दले सम्बन्धित वाक्यांशलाई बढी महत्व दिएको देखिन्छ । ‘शाक्यमुनि मानिस हो, मानिस भैकन भगवान पनि है !’ भनी जोड दिइएको छ । लुम्बिनी शब्दले पनि ‘यहीं नै है’ भन्नेमा जोड दिइएको छ । ‘यहाँ बुद्ध जन्मे’ भन्दा कहाँ ? भन्ने प्रश्न आउने भएकोले ‘हिद’ (यहाँ, लुम्बिनी गाउँमा) भनिएको छ । शाक्यमुनि को ? भन्ने प्रश्नमा ‘मानिस र भगवान दुवै’ भनिएको छ ।

माथिका चार वटा शब्दले दिएको सूचना पढेर बुझ्दा अशोकको समयमा कति प्रकाण्ड लेखकहरू रहेछन् भन्ने पनि प्रष्टिन्छ । यति छोटोमा यत्रो प्रामाणिकता जुट्ने अभिलेखका रचनाकारलाई मान्नै पर्दछ ।

Old Asokan pillarयत्रो महत्व बोकेको स्तम्भ र त्यसमा कुँदिएको अभिलेखमा दिनानुदिनको प्राकृतिक प्रक्रियाले मात्र हैन, अज्ञानताजनित लापरवाहीले पनि क्षयीकरण भइरहेको छ । र, बढ्दो प्रदूषणले क्षयीकरणको रफ्तारलाई तिव्र बनाएको अनुमान सजिलै लगाउन सकिन्छ ।

यही अवस्थामा रहन दिने हो भने अबको ५० वर्षमा अशोक स्तम्भ र त्यसमा कुँदिएको अभिलेखलाई सिकिस्त मानिसलाई आईसीयूमा राखेझैं राख्नुपर्ने अवस्था आउनेछ । त्यसैले, आईसीयू हैन, जनरल वार्ड पनि हैन, राम्रो वातावरण भएको एउटा कोठामा राख्न सकिने अवस्था अझै छ । दिनानुदिनको ‘स्यान्ड ब्लाष्टिङ’ र घामपानीबाट हुने क्षयीकरणबाट बचाउनेतर्फ केही गरौं ।

दिनदिनै हेरी बस्नेले त्यस्तो क्षयीकरणको भेउ पाउँदैन, तर समयको अन्तरालमा देख्ने प्राविधिक आँखाले त्यो खुट्याउँछ । अभिलेखको अक्षरमा ४० वर्षमा आएको फरक यो पंक्तिकारले प्रष्टै देखेको छ । सम्झौं यो अंग्रेजी उखान– ‘समयमै लगाइएको एउटा टाँकाले सिंगो कोटको मूल्य बचाउँछ ।’

कसैलाई कसैले यसै गर भन्न सकिन्न, त्यसो भन्न हुन्न पनि । यति चाहिं भन्न सकिएला– युनेस्कोको प्राविधिक ज्ञानको मद्दत लिएर देशको नियम र पुरातत्वको मापदण्ड भित्र रही कुन किसिमले स्तम्भ र अभिलेखलाई जोगाउन सकिन्छ, तुरुन्तै उपाय सोचिहालौं र गरौं पनि ।

यो पनि भन्नै पर्छ– हामी नेपालीको भाग्यले गर्दा सुगौली सन्धिसम्म अशोक स्तम्भ पृथ्वीको गर्भमै बस्यो । त्यसअघि नै पत्ता लागेको भए यो पावनभूमि हाम्रो देशमा पर्ने थिएन । तर, पाएर मात्र भएन, जोगाउन पनि सक्नुपर्‍यो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...