समाचारसोमबार, जेठ १०, २०७३

कांग्रेसले अपहरण गरेको विमान सङ्ग्रहालयमा ल्याइयो

हिमालखबर

प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनका क्रममा २०३० जेठ २८ गते तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेसले अपहरण गरेको विमान बिपी सङ्ग्रहालयमा ल्याइएको छ ।

विराटनगरबाट काठमाडौँका लागि उडेको डिई ह्याभिल्यान्ड डिएचसिसी ६३०० ट्वीन अटर नाइन एन–एबिबी एमएसएन ३०२ नामक हवाइजहाज ९ जेठमा बिपी सङ्ग्रहालय सुन्दरीजलमा ल्याइएको संस्थापक अध्यक्ष एवम् संरक्षक पर्शुराम पोखरेलले जानकारी दिए ।

“बिपी कोइरालाको नेतृत्वमा गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, मनोहरि बराल, विनोद अर्याल, मदन अर्याल लगायतको संलग्नतामा वसन्त भट्टराई, दुर्गा सुवेदी र नगेन्द्र ढुङ्गेललगायतले विमान अपहरण गरी भारतको फारविसगञ्जस्थित घाँसे मैदानमा अवतरण गराई भारु ३० लाख कब्जा गरिएको थियो”– उनले भने ।

विमानमा भएको भारु ३० लाख लिएपछि विमानलाई नेपाल फिर्ता पठाइएको थियो । चालीस वर्षसम्म नेपाली आकाशमा उडेको यो विमानमा अपहरणमा संलग्न नेता पनि पटक–पटक यात्रा गरेका थिए ।

पोखराबाट जुम्लाको उडानका क्रममा २०७० फागुन ४ गते अर्घाखाँचीको मसिनेलेकमा दुर्घटना भएदेखि नै विमान सङ्ग्रहालयमा ल्याउने प्रक्रिया शुरु गरिएको अध्यक्ष पोखरेलले बताए ।

२०७२ वैशाख २१ गते नेपाल वायुसेवा निगम, राष्ट्रिय बिमा संस्थान र सङ्ग्रहालयका बीचमा भएको त्रिपक्षीय सम्झौताबमोजिम विमान ल्याइएको हो ।

विमानको स्वामित्व निगमको भएपनि विमाको प्रावधानका कारण विमान उत्पादक म्याकलरेन्स कम्पनीलाई एक डलर तिरेर विमान सङ्ग्रहालयमा ल्याइएको हो ।

एक डलरमा विमान नपाइने भएपनि प्रक्रिया पुर्‍याउन न्यूनतम शुल्क तिरिएको सङ्ग्रहालयले जनाएको छ ।

विमान दुर्घटनापछि निगमको नेपालगञ्जस्थित क्षेत्रीय कार्यालयको इन्जिनियरिङ कम्प्लेक्समा भण्डारण गरी राखिएको थियो ।
शुक्रबार क्षेत्रीय कार्यालय प्रमुख किरण श्रेष्ठले सम्झौता गरी सङ्ग्रहालय समितिलाई विमान हस्तान्तरण गरेका थिए ।

विमानसँगै कांग्रेसका संस्थापक नेता बिपी, गिरिजाबाबु, सुशील कोइरालालगायतका नेता नेपालगञ्ज जाँदा चढ्ने गरेको बा १ च ५०६७ नंको जिप पनि सङ्ग्रहालयमा सार्वजनिक प्रदर्शनका लागि ल्याइएको छ ।

विमान र जिप बिपी पुत्र एवम् कांग्रेस महामन्त्री डा शशांक कोइरालाले अध्यक्ष पोखरेललाई हस्तान्तरण गरेका थिए ।

विमान र जिपलाई दुईवटा ट्रकमा राखेर १८ घन्टामा काठमाडौँ ल्याइएको हो ।

विमान र जिप भावी पुस्तालाई प्रजातन्त्र पुनःस्थापनाका लागि कसरी क्रान्ति गरिएको थियो भन्ने बुझाउन प्रदर्शनका लागि राखिनेछ ।

भागभागमा छुट्टिएको विमानलाई जोडेर प्रदर्शन गर्न रु ८७ लाख लाग्ने अनुमान गरिएको अध्यक्ष पोखरेलले बताए ।
बजेट समयमै पाए छ महिनाभित्र विमान जोडिने उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>