समाचारसोमबार, जेठ १०, २०७३
‘उखान टुक्काले चुलो बलेन’ भन्दै बालुवाटारमा प्रदर्शन
सरकारले कालोबजारी र शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी सङ्घ काठमाडौँले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनकारीले ‘उखान टुक्काले चुलो बलेन’, ‘जनतालाई बाँच्न गाह्रो भो’लगायत नारा लगाउँदै एलपी ग्यासको खाली सिलिण्डर, खाली जार र भाँडाकुँडासहित प्रदर्शन गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै नेवि सङ्घका नेता दीपक भट्टराईले कालोबजारी, महँगी र शैक्षिक माफियालाई नियन्त्रण गर्न सरकारले चासो नदिएको भन्दै सरकारको आलोचना गरे ।
अर्का नेता लिलाबल्लभ दाहालले कालाबजारीको संरक्षणमा सरकार लागेको भन्दै विद्यार्थी नै बजारको अनुगमनमा जाने बताए । उनले सरकारले भूकम्पपीडित जनताको नाममा केही गर्न नसकेको आरोप समेत लगाए ।
नेवि सङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यले सरकारले आफ्ना माग नसुने देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
