टिप्पणीसोमबार, जेठ १०, २०७३
काठमाडौं आइपुगेको मधेश
नेपाली राजनीतिक–सामाजिक परिवेशमा अत्यधिक प्रयोग भइराखेका काठमाडौं र मधेश शब्द अब दुई स्थानविशेष सूचक मात्र रहेनन् ।
नेपालले वर्तमान भूगोल प्राप्त गरेयता यसको राजधानी काठमाडौं रहे जसरी नै शासन व्यवस्थाहरू फेरिए पनि राज्यको बनोट एकात्मक नै रह्यो । एकात्मक सत्ताको एकीकृत शक्ति सञ्चय र प्रयोग काठमाडौंमै घनीभूत भयो, राज्यमा पहुँच भएका, प्रभाव जमाएका र राज्यसँग जोडिएर पहिचान स्थापित गरेकाहरूको उपस्थिति पनि ।
बसाइँ सरेर आउनेहरूको बहुसंख्या–वर्चस्व भएर पनि काठमाडौं सिंगो नेपाली राज्यको निरन्तरताको थलो हुन पुग्यो । त्यसैले, नेपाल राज्यसँगको माग–दाबी, संघर्ष–संवादको कुरा उठ्दा ‘काठमाडौं’ शब्द उच्चारण हुन पुग्छ । यसरी नेपाली विमर्शमा काठमाडौं नेपाली राज्य, त्यसको केन्द्रीकृत स्वरुप, असमावेशी चरित्र, नाभी केन्द्रित वितरण प्रणाली र सत्तापालित वर्गलाई चिनाउने एउटा बृहत् पहिचान–प्रतिनिधि हुन पुग्छ ।
त्यसैगरी ‘मधेश’ ले नेपालले वर्तमान राजनीतिक भूगोलमा स्थिरता प्राप्त गरेयता जहिल्यै मूलधारबाट बञ्चितिको अवस्थामा रहेको गहिरो अनुभूति गर्ने एउटा विशेष पहिचान बोकेकाहरूको मूल बसोबास क्षेत्रको चिनारी पाउँदै आएको छ ।
मधेशी एउटा बृहत्तर पहिचानको रूपमा देखिएको छ, जसमा विभिन्न भाषा–भाषी, धर्मावलम्बी र हिन्दू वर्णाश्रमभित्रका पनि विविध जातीय समूहकाको राज्यसँग सम्बन्ध निर्धारण गर्ने एउटा सगोलको चिनारी भएको छ । पहिचान, प्रतिनिधित्व र पहुँचका प्रक्रियाहरूमा नेपालीकरण तथा अभारतीयकरणका लागि गरिएको सुविचारित यत्न यो चिनारीको खास विशेषता हो ।
एकोहोरो मधेश
नेपालको संविधान २०७२ निर्माण प्रक्रियामा मधेश संलग्न थिएन । त्यो असन्तुष्टिले लम्बे आन्दोलनको रूप लियो । त्यस क्रममा नेपाल–भारत सीमामा धर्ना र निकै ठूलो जनधनको क्षति भयो । त्यसले नेपाली समाजलाई मानसिक रूपमा विभाजित गरायो । दुई छिमेकी मुलुकसँगको नेपालको सम्बन्धमा स्वतः ध्रुवीकरण आयो ।
त्यसो त, दोस्रो संविधानसभा निर्वाचनमा मधेशबाट विजयीमध्ये अधिकांशले संविधानमा सहमति जनाएका छन् । सँगै अर्को सत्य के हो भने, अन्तरिम संविधान २०६३ लाई लिएर मधेशमा असन्तुष्टि देखिंदा राज्यले दुईपटक अनुबन्ध गरेको थियो ।
आन्दोलनको ऊर्जाबाट त्यस्तो अनुबन्ध हुनु भनेको राज्य र मधेशबीच राजनीतिक मार्गचित्र बन्नु हो । त्यसले काठमाडौं–मधेश सम्बन्धलाई परिभाषित गर्छ । त्यस अर्थमा संघर्षरत मधेशी समुदायको गुरुत्वलाई कम आँक्न सकिंदैन ।
यही कारण, मधेशबाट चुनाव जितेकाहरूले संविधानमा स्वीकार्यताको औंठाछाप लगाए पनि त्यो मधेशमा कार्यान्वयन हुनसकिरहेको छैन । दलीय ह्वीप नलागेको भए मधेशबाट निर्वाचितहरू के गर्थे, त्यो पनि लुकेको छैन ।
आन्दोलनमार्फत आफ्नो असन्तुष्टि पोख्दै गर्दा मधेश आत्मकेन्द्रित भयो । आन्दोलनको तरीका छनोटमा मधेश आत्मकेन्द्रित हुँदा फरक पहिचानकाले त्यसबाट आफूहरू टाढिएको महसूस गरे । मधेशको सवाललाई लिएर काठमाडौंबाट पनि ऐक्यबद्धता प्रकट भएकै हो, तर त्यो त्यति फराकिलो थिएन, जति हुनुपथ्र्यो ।
काठमाडौं–मधेश दूरी
यतिखेर मधेशको संघर्ष काठमाडौंकेन्द्रित हुन पुगेको छ । अर्थात् मधेश काठमाडौं आइपुगेको छ । यसपटक नेपालका अन्य भूगोलका सीमान्तकृत समूहको स्वर पनि समेटिएर मधेश संघर्ष बहुआयामिक बनेको छ । उसो त मधेश काठमाडौंमा पहिला पनि पुगेकै हो, तर यस पटकको परिस्थिति फरक छ ।
मधेशमा सर्वाधिक ठूलो जनसहभागिताको आन्दोलन सम्पन्न भएको छ । लामो आन्दोलन थेग्ने हा“क–हौसला मधेशले देखाएको छ । थारू, सन्थाल, मुस्लिम, दलित, पिछडावर्ग र महिलाहरूले समेत मधेशी पहिचानको दाबीमा आहुति दिएका छन् ।
त्यस अर्थमा मधेशी पहिचान उन्नत र परिष्कृत देखिएको छ । उनीहरू त्यो दाबीसहित जनताद्वारा निर्मित भनिएको संविधानको प्रक्रिया, प्रारूप, पहल र पूजनमा आफूहरूलाई अलगथलग गरेको भन्दै काठमाडौं उक्लिएका छन् । यस अर्थमा संविधानसँग असन्तुष्ट बृहत् पक्षको सामूहिक स्वर मधेश बन्न पुगेको छ ।
काठमाडौंकेन्द्रित शान्तिपूर्ण आन्दोलनमा सम्मान र सद्भावका अभिव्यक्तिहरू गुञ्जिएका छन् । आत्मसम्मान, स्वतन्त्रता, समृद्धि र सुरक्षाको खोजी गरिएको छ । संविधान–२०७२ को स्वीकार्यतालाई फराकिलो पार्दै त्यसलाई एउटा गतिशील दस्तावेज बनाउने आकांक्षा प्रकट भइराखेको छ । यसअर्थमा काठमाडौंमा मधेश आगमनको विशिष्ट महŒव छ ।
मधेश आन्दोलनमा भारतीय छायाँ र विखण्डनको अभीष्ट नियाल्नेहरूका निमित्त जवाफ लिएर काठमाडौं आइपुगेको छ, मधेश । आन्दोलनको दरमियानमा देखा परेको ध्रुवीकरण र राज्यप्रतिको तिक्तता बिर्सिंदै काठमाडौं छिर्दा मधेशले आफैंलाई ‘करेक्सन’ पनि गरेको छ । सीमानाका धर्नाले समग्र नेपाली समाज बन्धकी बनेको अनुभूति उसले गरेको छ । त्यसैले, शान्तिपूर्ण र सार्थक संघर्षका माध्यमहरूको विकल्पको रूपमा काठमाडौंकेन्द्रित आन्दोलन छनोट गर्न पुगेको छ ।
पछिल्ला महीनाहरूमा राज्यको दमनलाई देखाउँदै मधेशमा पृथकतावादी अभियान चल्छ भन्ने आकलन गरिंदै थियो । त्यसका केही संकेत देखापरेका पनि थिए । लामो आन्दोलन र राज्यको उपेक्षाले गर्दा भुईं सतहमा नैराश्य बढ्दै गइराखेको थियो । यस्तो अवस्था मध्यमार्गी राजनीतिक समूह– जो नेपालभित्र मधेशको उन्नत र सम्मानित भविष्य हेर्न चाहन्छन्, उनीहरू चेपुवामा परेका थिए ।
संघीयतावादी राजनीतिक पहिचान भएका समूहको अस्तित्व चेपुवामा पर्नुको अर्थ मधेश मात्र होइन, नेपाल फेरि अर्को द्वन्द्वको अँध्यारो गुफामा प्रवेश गर्नुथियो । यी विपरीत परिस्थितिहरूका माझ सही निर्णय लिंदै मधेश ठूलो अपेक्षाका साथ काठमाडौं आइपुगेको छ ।
काठमाडौंको आन्दोलनमा कति मधेशी सहभागी छन् र उनीहरूले कति दिन थेग्न सक्छन् भन्दा पनि काठमाडौंले उनीहरूलाई फेरि पनि रित्तोहात नै फर्काउँछ त ? भन्ने अहिलेको महत्वपूर्ण प्रश्न होे । उत्तर नकारात्मक भएको अवस्थामा राजनीतिक मात्र नभई अन्य दृष्टिकोणले पनि मधेश काठमाडौंबाट लामो दूरीमा जान सक्छ ।
आएको अवसर
एउटा समय थियो जतिखेर मधेशमा तनाव घनीभूत भएको बेला उतै वार्ता गर्नुपर्छ भनिन्थ्यो । यस पटक मधेश स्वयम् काठमाडौं पुगेको छ र काठमाडौंले संवाद गर्न खोज्दा मधेशी शक्तिहरूले पहिलाभन्दा पक्कै बढी परिपक्वता देखाउने छन् ।
आन्दोलनको लामो बाटो कसैको सहज रोजाइ हुँदैन । आखिर मधेशको एउटा तहले संविधानलाई स्वीकार गरिराखेकै छ र अर्को शक्तिहरूले त्यसमा अनुकूलको संशोधन खोजिराखेका छन् ।
यस मानेमा काठमाडौंको लागि यो दैलोमै आइपुगेको अवसर हो । काठमाडौंले यसपटक मधेशलाई सम्मानित ग¥यो भने यसले नेपाली राज्यको सामथ्र्य र स्वीकार्यता मजबूत बन्छ । सामाजिक संवाद र ऐक्यबद्धताका सूत्रहरू अझ् कसिएर नेपाली समाजबीचको एकीकरण घनीभूत हुन्छ ।
महाभारतको विनाशकारी युद्ध अघि कृष्ण हस्तिनापुर पुगेका थिए, शान्तिको अन्तिम प्रयत्नका निम्ति । तर, सत्ता–उन्मादमा रहेका दुर्योधनले त्यसलाई अवसरको रूपमा लिएनन् । काठमाडौंले पनि यस पटक मधेशलाई सम्मान दिन सकेन भने नेपालमा अनपेक्षित अध्याय शुरू हुनसक्छ ।
नेपालमा उदार लोकतन्त्र, बहुलता र विविधता, मानवअधिकार जस्ता पक्षमा रहेका जागरुक वर्गले मधेशसँग सार्थक वार्ताको लागि सरकारलाई दबाब दिनुपर्छ । सामाजिक जीवनका विभिन्न हिस्साले जनजीवनलाई असहज नपारिकन दबाब बढाउनुुपर्छ ।
सत्तारुढ घटकभित्र रहेका विवेकशील राजनीतिककर्मीहरूले पनि वर्तमानको संवेदनशीलतालाई बुझदै मधेशसँग जोडिने सूत्रहरू खोज्ने काममा सघाउनुपर्छ । भोलि मधेशलाई यसो नलागोस् कि सिंहदरबार र संसद् मात्र होइन, काठमाडौंको नागरिक तहले पनि हाम्रो संघर्षलाई निषेध गर्न खोज्यो । यसरी यो काठमाडौंको नागरिक समाजको पनि परीक्षाकाल हो ।
अहिले कुनै राजा–महाराजाको युग होइन । जनताकै घरदैलोबाट सिंहदरबारमा पुगेका हुन् । र पनि, काठमाडौंबाट मधेशलाई रित्तोहात फर्काइयो भने हाम्रो लोकतन्त्रको विकासक्रम अवरुद्ध हुनेछ । ध्रुवीकरण बढ्छ र अनपेक्षित संकटहरू आइपुग्नेछन्, जसमा भूराजनीतिक असन्तुष्टिले आगोमा घिउ हाल्न सक्छ ।
सरकार चुक्दै गर्दा र अनुदार–असहिष्णु मानसिकता देखाइराख्दा दक्षिणपन्थी मनसुवाहरू हौसिएको अवस्था छँदैछ । तसर्थ, मधेश र काठमाडौं दुवैका प्रतिनिधिहरूको सुझ्बुझ् वा अहंकारमा नेपाली लोकतन्त्र र राष्ट्रियताको भविष्य सन्निहित हुन पुगेको छ ।