समाचारमंगलबार, जेठ ११, २०७३
सर्वदलीय बैठक: वार्ताका लागि असन्तुष्ट दललाई उत्प्रेरित गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक वार्ताबाटै आन्दोलनरत दलका माग सम्बोधन गर्ने बारे छलफल गरी सकिएको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आज बसेको बैठकले उदारताका साथ संविधानप्रति असन्तुष्ट दलका माग सम्बोधन गर्ने विषयमा छलफल गरेको हो । बैठकमा आन्दोलनरत मधेशी मोर्चालाई प्रधानमन्त्रीले पत्र पठाइ बोलाएको भए पनि मोर्चाका नेताहरु भने उपस्थित भएनन् ।
बैठकमा आन्दोलनरत दल अनुपस्थित भएकाले वार्ता परिणाममुखी हुन नसके पनि वार्ताबाटै समस्याको समाधान खोज्न आफ्नो पार्टीले सुझाव दिएको बैठकमा सहभागी कांग्रेसका नेता महेश आचार्यले जानकारी दिए ।
“वार्ताको वातावरण बनाउन अनौपचारिक भए पनि वार्ता शुरु गर्नुपर्छ, उनीहरुलाई वार्तामा बोलाउन र सहमतिका लागि उत्प्रेरित गर्न हामीहरु पनि तयार छौं,” आचार्यले भने ।
प्रधानमन्त्री र मन्त्रीहरुले आन्दोलनरत दलका मागका बारेमा सार्वजनिक रुपमा टीका टिप्पणी गर्नुको साटो औपचारिक रुपमा बसेर छलफल गर्नुपर्ने कांग्रेसको सुझाव छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले असन्तुष्ट दलका माग सम्वाद र छलफलबाटै समाधान गरिने र वार्तालाई निरन्तर दिइने बताए । मोर्चामा आवद्ध दल बैठकमा अनुपस्थित भएको सम्बन्धमा उनले केही नबिग्रेको र छिट्टै छलफल गरेर अर्को बैठक बोलाइने बताए ।
मोर्चामा आबद्ध चार दललाई मात्र वार्ताका लागि पत्र पठाइएकाले सङ्घीय गठबन्धनमा आवद्ध दलहरु बैठकमा सहभागी नभएको भन्ने प्रश्नमा मन्त्री खरेलले प्रधानमन्त्री कार्यालयमा मोर्चाको नाममा मागसहितको पत्र दर्ता भएकोले त्यसै अनुसार पत्र पठाइएको स्पष्ट पारे ।
माओवादी केन्द्रका नेता रामबहादुर थापाले मधेश केन्द्रित दलहरु वार्तामा उपस्थित नभए पनि कसरी समस्या हल गर्न सकिन्छ भन्ने सम्बन्धमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच छलफल भएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
