थप समाचारमंगलबार, जेठ ११, २०७३
गौरः कार्यक्रम विथोल्न खोज्नेहरु तीन घण्टापछि छुटे
हुलाकी राजमार्गबारे स्थानीयसँग छलफलका लागि गौर आएको संसदको विकास समितिको टोलीलाई कालो झण्डा देखाउँदै नारबाजी गर्ने मधेशकेन्द्रित दलका स्थानीय नेताहरुलाई प्रहरीले केही बेर नियन्त्रणमा लिएर छोडेको छ ।
तराई विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गबारे स्थानीयसँग अन्तरक्रिया गर्न आएको व्यवस्थापिका संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीसहित सांसदहरुको टोलीलाई कालो झण्डा देखाउने सदभावना पार्टीका सह महासचिव अजय गुप्ता, जिल्ला अध्यक्ष शेख जमशेद, तराई मधेश लोकतान्त्रिक पार्टीका अनिल सिंह, संघीय समाजवादी फोरम नेपालका सचिव धर्मेन्द्र पटेल, प्रकाश भाई, लड्डु रायपटेल, नेतृ किरण ठाकुर, शोभा साहलाई तीन घण्टासम्म नियन्त्रणमा राखि दिउँसो छोडिएको हो ।
हुलाकी राजमार्गको अवलोकन पछि जिल्ला विकास समितिको सभाकक्षमा नागरिक समाज, राजनितिक दल र स्थानीयहरुसँग अन्तरक्रिया गरिरहेका बेला उनीहरुले सभाकक्षमा प्रवेश गरी ‘मधेश विरोधीहरुलाई कुनै कार्यक्रम गर्न नदिने’ भन्दै कालो झण्डा देखाएर नाराबाजी गरेका थिए ।
रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले विकास निर्माणको मुद्दामा पनि विरोध गर्नु गलत भएको भन्दै सभा विथोल्न खोज्नेहरुलाई केही बेर नियन्त्रणमा लिई छोडिएको जानकारी दिए ।
अवरोध गर्नेहरुलाई पक्राउ गरेपछि जिल्ला विकास समितिको हलमा कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो ।
कार्यक्रममा विकास समिति सभापति रवीन्द्र अधिकारीले नेपालको राजनीति अब विकास केन्द्रित हुने दावी गरे ।
उनले यो वर्षदेखि शुरु हुने हुलाकी राजमार्गको कामलाई ३ वर्षभित्र सम्पन्न गरिसक्ने बताए ।
एक दशक अघिदेखि भारत सरकारले निर्माण जिम्मा लिएको तराईको हुलाकी राजमार्ग अलपत्र अवस्थामा छ । राजमार्गको जग्गा अतिक्रमण समेत हुन थालिसकेको छ ।
सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
