थप समाचारमंगलबार, जेठ ११, २०७३
देहरादुनः पहिरोमा परी मृत्यु भएका १० नेपालीको दाहसंस्कार
भारतको देहरादुनमा पहिरोले च्यापिएर मृत्यु भएका १० नेपालीको दाहसंस्कार गरिएको छ ।
देहरादुनमा मेठ (मजदुर लैजाने ठेकेदार) को काम गर्ने बिरबल बुढाले मृत्यु भएकाको दाहसंस्कार गरिएको टेलिफोनमा बताए ।
मृत्यु भएकाहरु बिरबलकै साथमा मजदुरीका लागि भारत पुगेकाहरु थिए ।
काप्राचौर–५ घुइयाबारी सल्यानका दीपक नेपाली (५०), उनकी श्रीमती कुमारी (४५), छोरा भरत (३०), छोरी तारा (२७) र उनकी नातीनी सिर्जना (१४) को घटनास्थलमै ज्यान गएको थियो ।
यस्तै जाजरकोट ढिमेका विनिता बिक, उनका २२ वर्षीय छोरा जीवन र ८ वर्षीय छोरा बबिन्द्र, रुकुम (मुसिकोट) का धनबहादुर र धनकुमारीको पनि मृत्यु भएको बीरबलले बताए ।
उनीहरुलाई बीरबलले मजदुरीका लागि माघ मसान्तमा देहरादुन लगेका थिए । करिब अढाई महिनादेखि देहरादुनको भित्री पहाडी बस्तीमा उनीहरु सडक निर्माणको काममा थिए ।
ट्युनी चात्रास्थित भित्री बस्तीमा ठूलो वर्षासँगै पहाडबाट खसेको चट्टानको चपेटामा परेर उनीहरुको मृत्यु भएको हो । देहरादूनका जिल्लाअधिकारी रविनाथ रमनले मृतकका परिवारलाई भारु ४/४ लाख दिने घोषणा गरेका छन् ।
मृत्युको खबर सुन्ने वित्तिकै ११ जेठमा मृतक दीपकका आफन्तहरु देहरादुन हिँडेका छन् ।
उनका दाजु मेवालाल नेपाली सहित ५ जना आफन्तहरु देहरादुन गएको बीरबलकी श्रीमती डिलसरी बुढाले बताइन् ।
केशव राना, बाँके