समाचारबिहीबार, जेठ १३, २०७३
अभिमुखीकरण प्रमाणपत्र किनबेचको धन्दामा महासङ्घकै अध्यक्ष
वैदेशिक रोजगारीमा जाने कामदारलाई तालिमबिना नै अभिमुखीकरण तालिमको प्रमाणपत्र दिने धन्दामा महासङ्घकै अध्यक्षलगायत लागेको खुलेको छ ।
श्रम तथा रोजगार मन्त्रालयको नेतृत्वमा वैदेशिक रोजगार विभागले अनुगमन गर्दा महासङ्घका अध्यक्ष पूर्णबहादुर मल्लको बसुन्धरामा रहेको सुनगाभा ओरियन्टेसनले तालिमबिना नै प्रमाणपत्र दिने गरेको भेटिएको हो ।
मन्त्रालय र विभागको टोलीले अनुगमन गर्दा अध्यक्ष मल्लको सुनगाभा ओरियन्टेसन ट्रेनिङ सेन्टरसहित वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका पूर्व सदस्य सीता देवकोटाको रातोपुलस्थित समीक्षा ओरियन्टेसन ट्रेनिङ सेन्टर प्रालि, अनेरास्ववियुका पूर्व उपाध्यक्ष सोभियत ढकालको अनुश्री मल्टिपर्पोज ट्रेनिङ सेन्टर प्रालि र रवीन्द्र आचार्यको सुन्धारामा रहेको आरएम इन्टरनेसनल ट्रेनिङ सेन्टर प्रालिले तालिमबिना नै अभिमुखीकरण तालिमको प्रमाणपत्र दिने गरेको भेटिएको हो ।
मन्त्रालयका सहसचिव आभा श्रेष्ठको रोहबरमा उपसचिव शिवराम पोखरेल, विभागका निर्देशक रमा भट्टराईको नेतृत्वमा गत जेठ ११ गते टोलीले ती चार तालिम सेन्टरमा अनुगमन गरेको थियो ।
तालिम दिने संस्थाले प्रत्येक दिन अपराह्न १ बजेभित्र तालिम लिने कामदारको विवरण विभागमा इमेल गर्नुपर्ने प्रावधान छ । सोही विवरण अनुसार अनुगमनका क्रममा ती कामदारले तालिम लिए/नलिएको आधारमा कारबाही गरिन्छ ।
उपसचिव पोखरेलले अनुगमनका क्रममा तालिममा सहभागी हुने भनी २९ जनाको नामावली पठाएको सुनगाभा सेन्टरमा चारजना मात्रै उपस्थित भएको भेटिएको, २८ जनाको नामावली पठाएको आरएम, २४ जनाको नामावली पठाएको अनुश्री सेन्टर र १८ जनाको नामावली पठाएको समीक्षा सेन्टरमा तालिम लिने सहभागी नै नभेटिएको जानकारी दिए ।
अभिमुखीकरण तालिमका लागि कामदारबाट रु ७०० लिन पाउने व्यवस्था छ । यसअनुसार सुनगाभाले रु १७ हजार पाँच सय, आरएम सेन्टरले रु १९ हजार ६००, अनुश्री सेन्टरले रु १६ हजार ८०० र समीक्षा सेन्टरले रु १२ हजार ६०० एकैदिनमा ठगी गरेको देखिन्छ ।
समाजको जिम्मेवार निकायमा रहेको तथा ओरियन्टेसनलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्छ भन्दै भाषण गर्दै हिँड्ने नेताकै तालिम सेन्टरमा तालिमको नक्कली प्रमाणपत्र किनबेच गर्ने गरेको भेटिनुले यो क्षेत्रमा रहेको विकृतिलाई प्रष्ट पार्छ ।
विभागमा पठाइएको विवरणमा भन्दा अनुगमनका क्रममा ८० प्रतिशतभन्दा कम उपस्थित भएको भेटिए ६ महिना, ५० भन्दा बढी अनुपस्थित भए ४ महिना र २० प्रतिशतभन्दा बढी कामदार अनुपस्थित भए २ महिना ती संस्थाले तालिम दिन नपाउने निर्देशिकामा उल्लेख छ ।
अनुगमनमा ८० प्रतिशतभन्दा बढी अनुपस्थित देखिएका ती चारवटै अभिमुखीकरण संस्थाको ६ महिनाका लागि इजाजत रद्द गरिएको विभागका निर्देशक भट्टराईले जानकारी दिए ।
तालिम निर्देशिकामा तालिम अवधिको सिसी क्यामेरामार्फत फुटेज राख्नुपर्ने प्रावधान रहे पनि त्यसको कार्यान्वयन नहुँदा यस क्षेत्रमा विकृति बढ्दै गएको छ ।
वैदेशिक रोजगारीमा जान लागेका कामदारलाई प्रस्थान पूर्व गन्तव्य देशको भौगोलिक स्थिति, हावापानी, धर्म संस्कृति, भाषा, नियम कानुनसम्बन्धी जानकारीका साथसाथै ती मुलुकमा कामदारले पालना गर्नुपर्ने र गर्न नहुने विषयसम्बन्धी जानकारी दिने उद्देश्यले वैदेशिक रोजगार अभिमुखीकरण तालिम दिइन्छ ।
कामदारका लागि व्यवसायजन्य सुरक्षा, स्वास्थ्य सचेतना, वैदेशिक रोजगार कानुन, ठगिनबाट बच्ने उपाय, कामदारले गर्नुपर्ने व्यवहार, आर्थिक कारोबारजस्ता विषयमा सैद्धान्तिक तथा व्यावहारिक शिक्षासमेत तालिमका क्रममा दिइन्छ ।
तालिम नलिएकै कारण विमान चढेदेखि काममा जाँदासम्म कामदारले अनेकौँ दुःख भोग्दै आउनुपरेको छ ।
वैदेशिक रोजगारीका लागि ११६ वटा अभिमुखीकरण संस्थाले अनुमति लिए पनि अधिकांशले कामदारको उपस्थितिबिना नै तालिम लिएको प्रमाणपत्र दिने गरेको आरोप छ ।
पुरुष कामदारका लागि १० घन्टा र महिला कामदारका लागि ११ घन्टाको अभिमुखीकरण तालिम अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था छ । महिला कामदारलाई तालिम लिएबापतको रकम प्रवर्द्धन बोर्डले प्रदान गर्ने गरी निःशुल्क तालिमको व्यवस्था मिलाइएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
