समाचारशुक्रबार, जेठ १४, २०७३
उद्योगपति केडियाको अपहरणपछि उद्योगीमाझ सुरक्षा चिन्ता

सुरेश केडियाका गाडी चालक श्याम साहको नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचार हुँदै ।
उद्योगपति सुरेश केडियाको हिजो राति अपहरण भएपछि नेपाल प्रहरीको एक टोली खोजतलासका लागि भारततर्फ गएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विनोद शर्मा नेतृत्वको टोली भारतीय प्रहरीको समन्वयमा भारतमा सक्रिय भएको हो ।
भारतसँग जोडिएका बाराको सीमाक्षेत्रमा चेकजाँच तीब्र पारेको र अन्य सोधपुछ तथा अनुसन्धान जारी राखे पनि अहिलेसम्म केही उपलब्धि हासिल हुन नसकेको प्रहरी स्रोतले जनाएको छ ।
०६२/०६३ आन्दोलनपछि वीरगञ्जमा फिरौति नदिएको भन्दै २ उद्योगीको हत्या भएको थियो । हत्या, धम्की तथा असुलीको धन्दा मौलाएको त्यो बेला सम्झेर यहाँका उद्योगी व्यवसायी अहिले फेरि आन्दोलनको केन्द्र बनेको वीरगञ्जमा त्यस्तै अवस्था आउने हो कि भनेर चिन्तित छन् ।
हुन पनि निष्कर्ष विना टुङ्गिएको मधेश आन्दोलनको केही महीना नवित्दै यसक्षेत्रमा ज्यान मार्ने धम्की, अपहरण र बम प्रहारका घटना बढेका छन् ।
यसबीच प्रहरीले फिरौतिको रकम सहित विभिन्न घटनामा संलग्न सात जनालाई पक्राउ गरिसकेको छ ।
भारतमा लुकेर नेपालमा अपराध गर्नेहरु पुनः सक्रिय भएको हुनसक्ने प्रहरीको अनुमान छ । केडिया अपहरणमा पनि पहिलेकै आपराधिक गिरोह सक्रिय भएको हुनसक्ने जानकारहरु बताउँछन् ।
२०६२/०६३ को आन्दोलनका बेला सुरक्षा व्यवस्था फितलो हुँदा वीरगञ्ज–पथलैया करिडोरको अन्नपूर्ण टेक्सटाईल, पशुपतिनाथ इण्डस्ट्रिज प्रालि, गंगा उद्योग प्रालि, मयुर उलेन मिल्स, जेसन्स इण्डष्ट्रिज नेपाल प्रालि, बासुदेवाय इण्डष्ट्रिज प्रालि, सनराईज कन्टेनर प्रालि, शिवभगवान इण्डष्ट्रिज प्रालि, हिमगंगा इण्डष्ट्रिज, हुलास बिस्कुट इण्डष्ट्रिज, नारायणी कोरुगटेड इण्डष्ट्रिज प्रालि, मारुतीनन्दन रोलिङ्गमिल्स प्रालि लगायतका ठूला उद्योगहरु बन्द भएको वीरगञ्ज उद्योग वाणिज्य संघको अभिलेखमा उल्लेख छ ।
सञ्चालनमा रहेका यि उद्योगहरु बन्द हुँदा झण्डै ७ हजार भन्दा बढी मजदुर बेरोजगार भएका थिए ।
लगातारको आन्दोलन र असुरक्षासँगै पछिल्लो पटक उद्योगी केडियाको समेत अपहरण भएपछि थप उद्योगहरु समेत बन्द गर्नुपर्ने अवस्था आउनसक्ने उद्योगीहरुको चिन्ता छ ।
हिजो १३ जेठ राति आफ्नै गाडीमा बाराको वरियापुरबाट वीरगञ्जतर्फ आइरहेका केडियाको अपहरण भएको हो । अपहरणकारीले गाडीका चालकलाई कञ्चटमा गोली प्रहार गरी केडियाको अपहरण गरेका थिए ।
चालक पर्सा बिन्दवासिनीका श्याम साहको भरतपुर मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
-जियालाल साह, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
