समाचारशनिबार, जेठ १५, २०७३
गणतन्त्र दिवस मनाइँदै
मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको नौ वर्ष पुगेका उपलक्ष्यमा आज, १५ जेठमा गणतन्त्र दिवस मनाइँदै छ ।
जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
२३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको छ ।
गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उच्चपदस्थ अधिकारीहरु सहभागी भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवसको उपलक्ष्यमा आज राष्ट्रपति भवन शीतल निवासमा स्वागत समारोह एवम् जलपान समारोहको आयोजना समेत गरेकी छन् ।
विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि गणतन्त्र दिवसका विभिन्न कार्यक्रम हुँदै छन् ।
अबको लक्ष्य आर्थिक समृद्धिको: राष्ट्रपति
राष्ट्रपति भण्डारीले गणतन्त्र दिवस २०७३ का अवसरमा राष्ट्रिय एकताका जगमा शान्त, समुन्नत, समृद्ध, सन्तुलित र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकासमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।
पहिलो पटक संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको र यसको कार्यान्वयनका शुरु भइरहेको उल्लेख गर्दै राष्ट्रपतिले सन्देशमा ऐतिहासिक संविधानले लामो समयको राजनीतिक द्वन्द्व र सङ्क्रमणको विधिवत् अन्त्य गरी नेपाली जनतालाई पूर्ण सार्वभौम बनाएको उल्लेख गरेकी छन् ।
राजनीतिक अधिकार सुनिश्चित भएकाले अब सिङ्गो मुलुक आन्तरिक स्रोत र साधनको अत्याधिक सदुपयोग, कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, बृहत्तर विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
